सिद्धान्तको बहसभन्दा व्यक्तिगत अहङ्कारले ठाउँ पाउँदा कांग्रेस कमजोर भयो: नेता काफ्ले 

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले पार्टीमा सिद्धान्तको बहस भन्दा पनि व्यक्तिगत अहङ्कारले ठाउँ पाउँदा कमजोर भएको टिप्पणी गरेका छन्।

नेतृत्व परिवर्तनको बहस चलिरहेको बेलामा अपिल जारी गर्दै प्रजातान्त्रिक समाजवादी कार्यक्रम र सिद्धान्तको व्यावहारिक प्रयोगका बारेमा पार्टीभित्र अहिले बहस र छलफल हुन नसकेको बताए।

उनले भनेका छन्, ‘केवल पदमा मात्र पुग्ने महत्वाकाङ्क्षी प्रयास मात्र भइरहेका छन् । कुनैपनि राजनीतिक पार्टीले आफ्ना घोषित सिद्धान्त र कार्यक्रमका बारेमा विचार, पुनर्विचार र समीक्षा गरिरहन्छ र जनताको आस्था र विश्वासको अवस्थाको परीक्षण गर्दछ ।’

नेपाली कांग्रेसको नेतृत्वमा भएका आजसम्मका यावत् परिवर्तन पछाडि व्यक्तिको सम्मानित जीवन बिताउने शाश्वत आकांक्षा राखेको पाइएको उनको भनाइ छ।

काफ्लेले थपेका छन्, ‘यसकै कारण कांग्रेसले लोकतान्त्रिक गणतन्त्रसम्मको यात्रा तय गरेको हो । यो व्यवस्थामा उदाहरणीय र कठोर नैतिक चरित्र प्रदर्शन गर्नुपर्दछ । के हामीले त्यो गर्न सकेका छौँ ? अहिले मेरो चासो र चिन्ता भनेको शिक्षा, स्वास्थ्य जस्ता संविधानमा ग्यारेन्टी गरिएका एकतीस मौलिक हक कार्यान्वयनको  बारेमा कुनै कुरो नउठाउनु हो ।’

बिपी कोइराला जस्तो सिद्धान्तवादी समाजवादी नेताको मार्गदर्शनमा अघि बढेको पार्टीको नैतिक हिम्मत सगरमाथा जत्तिकै अटल रहेको उल्लेख छ।

उनले भनेका छन्, ‘हामीबाट जनताको पक्षमा काम गर्दा कुनै कमजोरी गरेका छैनौँ भनेर ढुक्क साथ भन्न सक्ने नेतृत्व निर्माणको मेरो आवाज र अभियान हो । ढाकछोप र लिपपोतबाट अघि बढ्न मिल्दैन र जनताको आँखामा छारो हालेर पानी माथिको ओभानो बन्न खोज्ने पदासीन र पदासीन माथि खुल्ला विद्रोह गर्न साथीहरूमा आह्वान गर्दछु ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *