
रुपन्देही । बुटवलका अनुपमान सैजू असहाय वृद्ध वृद्धाको सहारा बनेका छन् । उनी अहिले बुटवल २ स्थित सिद्ध बाबा दुर्गा भवानी शिवकुमारी सैजु वृद्धाश्रमको मुख्य सञ्चालक बनेर यहाँ राखिएका यस्ता अभिभावकको संरक्षक बनेका छन् ।
नेपाल जेसीजको पूर्वराष्ट्रिय अध्यक्ष बनेर काम गरेका उनी वृद्धाश्रमका संरक्षक बनेर काम गरिरहेका छन् । बुटवलमा उनका बुवाले सुरुवात गरेको वृद्धाश्रम छ । अहिले यही आश्रमको मुख्य संरक्षक बनेर काम गरेका छन् ।
उनका बुवा स्व. गणेशमान सैजुले २०६० सालमा स्थापना गरेको सिद्ध बाबा वृद्धाश्रममा रहेका ७ जना ज्येष्ठ नागरिक छन् उनीहरू परिवार नभएकाहरु स्थानीय सरकारको सिफारिसमा यहाँ राखिएको छ । २४ जनालाई राख् नसक्ने क्षमता रहेको यो आश्रममा ७५ वर्ष नाघेका सहाराविहीनलाई मात्र राखिने गरिएको छ । आश्रम सुरुवात भए पनि यसको नियमित सञ्चालन ठूलो खर्च आउने गर्दछ । यसको समन्वय अहिले बुवाको निधनपछि अनुपमानले गरिरहेका छन् ।

अनुपमानका अनुसार उनका बुवा स्व. गणेशमान सैंजुको पहिलो सपना सिद्ध बाबा क्षेत्रमै आश्रम खोल्ने थियो। तर त्यहाँ भूगोलको जोखिमपूर्ण वातावरणले गर्दा त्यो योजना छाड्नु पर्यो। त्यसपछि मोतीपुरमा ल्याउने सोच भयो, तर त्यो स्थान पनि वृद्ध बुवाआमाका लागि अस्पताल नजिक नपर्ने, अलिक टाढा र असहज लाग्ने ठहर भयो।
अन्ततः हालको स्थानमा आश्रम बनाउने निर्णय गरियो—जहाँ पहिला दुर्गा भवानीको मन्दिर थियो। कानुनी र कागजी प्रक्रिया निकै जटिल भए पनि, तत्कालीन नगर प्रमुख पुनाराम पोखरेलको कार्यकालमा जग्गा व्यवस्था गर्न सहयोग मिलेपछि सहज भएको थियो । यसको व्यवस्थापनमा स्व। लालकुमार अमात्यले यसमा मुख्य भूमिका खेले। गणेशमान सैंजुकी दिदी शिवकुमारी सैंजुको नाममा पहिले नै एक सानो ट्रस्ट थियो, जुन यस संस्थासँग मिसिएर आजको सशक्त वृद्धाश्रमको रूप लिएको छ।
अनुपमानले आफ्नो पिताजीको सपना र सेवा भावनालाई निरन्तरता दिइरहेको बताउँछन् । ‘मेरो बुवाको सपना यही थियो, धेरै साहित्यकार, धर्मगुरुहरूले उनलाई ‘कलियुगका श्रवण कुमार’ पनि भन्न थालेका छन्।उनलाई श्रीमती रारा सैंजुले पनि उस्तै साथ दिएकी छन् । रारा ‘मिलिजुली परिवार’ अभियानबाट निकै चर्चित छन्, जसको सुरुवात सामाजिक सञ्जाल (टिकटक) बाट भएको थियो।
हरेक दिनजसो उनीहरू आश्रममा पुगेर बुवाआमाकाे सालिकमा पूजा गर्दछन् र यहाँ रहेका वृद्ध वृद्धालाई सबै सेवाको अनुगमन गर्दछन् । घरमा मिठो चोखो जे तयार भए पनि बोकेर जान्छन् र मुख्य पर्वहरूमा यहाँ पुगेर उनीहरुलाई खुवाएर मात्रै आफ्नो काम अघि बढाउँछन् । वरिपरि बगैँचा रहेको यो आश्रम बुटवलको व्यस्त बजारको बीच भागमा रहे पनि यहाँ पाका पुस्तालाई चाहिने सबै विषयलाई समेटिएको छ ।
साँझ बिहान भजन गाउने मन्दिर बनाइएको छ भने वरिपरि घुम्नलाई खुला स्थान बनाइएको छ । त्यसै गरी आश्रममा नियमित स्वास्थ्य परीक्षणका लागि नेपाली सेना र गौतम बुद्ध सामुदायिक मुटु अस्पतालसँग समन्वय गरिएको छ । नियमित औषधि सेवन गर्ने बिरामीको फलो अप तथा उपचारलाई विशेष ध्यान दिइएको छ ।

आश्रम परिसर मा विभिन्न फलफूलका बिरुवासहित हरियाली बनाएर वरिपरि तारबार गरिएको छ भने उनीहरुका लागि दैनिक पूजा गर्न र दूधको प्रयोग गर्न गाईसमेत भित्रै पालिको छ । राजमार्गको नजिकै रहे पनि अत्यन्त शान्त वातावरणमा रहेको यो आश्रममा बुटवल क्षेत्रका धेरै स्थानीयले आफ्नो जन्मदिन, विवाह उत्सवमा केही सहयोग गर्ने बानीको विकास हुँदै गएको छ यसले पनि यहाँको व्यवस्थापनमा सहयोग पुगेको छ ।
आश्रमभित्र रहेका वृद्ध बुवा आमाहरू खुसी अनुहारमा देखिन्छन् । लामो समयदेखि परिवारमा हेरचाह गर्ने कोही नभएका कारण आफूहरू यहाँ आएको भन्दै भगवानले यस्तो ठाउँ भेटाइदिएको बताउँछन् । आश्रमको नियमित काम गर्नका लागि दुईजना कर्मचारी राखिएको छ ।
उनीहरूले आफ्नै बुवा आमाको जस्तै सेवा प्रदान गरेका छन् । अमृत रेग्मी र अनुपा रानाले आश्रममा बसेर सबै सेवा प्रदान गरेका छन् । ‘यो हाम्रो नियमित दैनिकी हो, सकेसम्म यहाँ रहेका बुवा आमाले कुनै कमीको महसुस नहोस् भन्ने उद्देश्य राखेका छौँ, आश्रमका संरक्षक अनुप सर म्याडम दैनिक जसो यहाँ आएर बस्नुहुन्छ, उहाँको योजनाअनुसार हामीले सेवा दिइरहेका छौ’ अमृतले भने ।

दशैंको दिन पनि अनुपमान बिहान घरमा टीका नलगाउँदै यहाँ आएर सबै बुवा आमालाई टीका लगाएर सम्मान गरेर मात्रै घरमा गएर टीका लगाएका हुन् । ‘मैले जुनसुकै पर्व, जन्मदिन, विवाह उत्सव यहाँ आएर उहाँहरूको सेवा गरेर सुरुवात गरेको छु, यसलाई नै मेरो मुख्य कर्म बनाएको छु यसमा मेरो श्रीमतीको पनि पूर्ण साथ छ, बुवामुवाको सपना यसैलाई पूरा गर्नु थियो, सन्ततिको मुख्य काम बुवा आमाको सपना पूरा गर्नु हो भन्ने मेरो सोच हो’ उनले भने ।
आश्रममा रहेका ८२ वर्षीय चुरामणि श्रेष्ठ गुल्मीको जोहाङबाट यहाँ आएका हुन् । उनी १४ वर्षदेखि यहाँ बसेका छन् । ‘म निकै खुसी छु, उहाँहरू दैनिक यहाँ आउनुहुन्छ, पूजा गर्नुहुन्छ, भोजन गराउनुहुन्छ र सबैसँग आत्मीयता बाँड्नुहुन्छ। हामी पनि खुसी छौँ, मनमा चाहेको गर्न पाएका छौँ, उपचार पनि बेलाबेलामा हुन्छ’ उनले भने ।

अनुपमानलाई साथ दिएकी रारा सम्पन्न परिवारकी बुहारी हुँदाहुँदै पनि, आश्रमका हरेक कुरामा सक्रिय देखिन्छन् । वृद्ध बुवाआमाको लागि भान्साको व्यवस्थादेखि लिएर, सानो सानो चिजमा पनि उनको स्नेह र माया झल्किरहेको देखिन्छ। हरेक मुख्य पर्वमा श्रीमानसँगै उनी यहाँ पुगेर सेवा गर्दछिन् ।
“हामी यहाँ आउने हरेक आमाबुबाको कागजात हेर्छौँ। यदि घरायसी विवादका कारण आउनुभएको हो भने, प्रशासनसँग समन्वय गरेर समाधानको प्रयास गर्छौँ।” अनुपले भने । संरक्षक र कर्मचारीको सेवाका कारण आफूहरू स्वस्थ र खुसी रहेको पाल्पाबाट आएर बसेका ९० वर्षीय तिलककुमार श्रेष्ठ बताउँछन् ।
उनीहरूले जस्तै अर्घाखाँचीबाट आएर बसेका ८४ वर्षीय ताराबहादुर श्रेष्ठ, रामेछापबाट आएका ८१ वर्षीय रामबहादुर राई, अर्घाखाँचीबाट आएकी ७४ वर्षीय यमकुमारी, रुपन्देहीको शङ्कर नगरबाट आएकी ७० वर्षीय बेलकुमारी आफूहरू सहाराविहीन भएर यहाँ आएको तर यहाँ आएपछि सबै सेवाबाट निकै खुसी भएको बताउँछन् ।


Leave a Reply