
काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको बैठकको दोस्रो दिन अहिले बिहान ८ बजेबाट सुरु हुदैछ ।
आजको बैठकमा पनि केन्द्रीय सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीको विशेष प्रस्तावमा आफ्ना धारणा र सुझाव राख्ने क्रम जारी रहनेछ ।
पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार हिजोको बैठकमा ५० जना केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राखेका छन् ।
आज करिब १०० जनाले धारणा राख्ने अनुमान गरिएको छ । यही क्रममा सबै केन्द्रीय सदस्यहरूले समय लिने हो बैठक लम्बिने संकेत देखिएको छ । बैठकमा हरेक केन्द्रीय सदस्यलाई तीन मिनेट बोल्ने समय दिइएको छ ।
तीन मिनेटमा आफ्ना धारणा नटुङ्ग्याए स्वतः माइक काटिने प्रबन्ध गरिएको छ । बैठकमा केन्द्रीय सदस्यहरूलाई बोल्नका लागि वर्णानुक्रम अनुसार अन्तिम (ज्ञ बाट) पालो मिलाइएको छ ।
हिजोको बैठकमा अध्यक्ष ओलीले मंसिर २७ देखि २९ गतेसम्म पोखरामा पार्टीको ११ औँ महाधिवेशन गर्ने प्रस्ताव गर्नुभएको छ ।
बैठकमा केन्द्रीय सदस्यहरूका धारणा सुनेपछि पदाधिकारीहरूले पनि आफ्ना धारणा राख्नेछन् । अन्त्यमा अध्यक्ष ओलीले बैठकमा आएका सुझाव र जिज्ञासाहरूको एकमुष्ट जवाफ दिने तयारी छ ।

Leave a Reply