
काठमाडौं । घर जलेको आज ठ्याक्कै ३५ दिन भयो । जेनजी आन्दोलने उत्कर्षमा पुगेको दिन (२०८२ भदौ २४ गते)को त्यो भीडले घरमा तोडफोड, लुटपाट तथा आगजनी गर्यो । त्यसयता निकै कष्टकर दिनहरू बिताउनु परेको छ– त्रियुगा नगरपालिकाकी उपमेयर महेश्वरी राईले ।
जेनजी आन्दोलनको क्रममा सबै सम्पत्ति गुमाएकी उपमेयर राई अहिले पनि त्यही जलेको घरमै बस्न बाध्य छिन् । प्रदर्शनकारीको भीडले आगो लगाएको उनको घरका कालो भित्ताहरू, पोलिएका लहराहरू र डढेको गन्ध अझै बाँकी छ । तर विकल्प नहुँदा उनी त्यही जलेको घरका दुई कोठामा बस्दै आएकी छिन् ।
‘घर पूरै जलेको छ, जाने ठाउँ छैन । सुरुमा आफन्तको सहारामा बसेपनि सधैँ बस्न अप्ठ्यारो भइहाल्छ । अहिले यही घरका दुई कोठामा जसोतसो बसेकी छु’, उनले भनिन्, ‘नयाँ घर बनाउने सम्भव छैन । यसैलाई पुनर्निर्माण गर्न जुटेकी छु ।’
जेनजी आन्दोलनकाक्रममा घरमा आगजनी गरिएपछि उनी आफन्तको सहारमा बसिन् । करिब एक साताभन्दा बढी आफन्तकोमा बसेकी उनलाई बल्ल घर पुग्ने आँट आयो । त्यसपछि उनी जलेको ‘कालो घर’ पुगिन् र पछाडीका दुई कोठा मर्मत गरेर बस्ने निश्कर्ष निकालिन् ।
‘दुइटा कोठा सफाइ गरे । कलर लगाए । फुटेका झ्याल ढोका बनाए र त्यहीँबाट दैनिकी शुरु गरे’, उनले भनिन् ।
जलेको घरका दुई कोठाबाट उनले आफ्नो दैनिकी चलाइरहेकी छिन् । बिहान कार्यालयको काम, बैठक र कार्यक्रम सकेर साँझ पुनः त्यही जलेको घरमा फर्किन्छिन् ।

घर आगजनी गर्दा उनी काठमाडौंबाट गाइघाटतर्फ गइरहेकी थिइन् । बाटोमै उनले आफ्नो घर जलेको खबर पाइन् । उक्त खबरपछि उनलाई घर पुग्ने आँट आएन र उनी बाटैबाट पुनः काठमाडौं फर्किन् ।
‘काठमाडौंबाट गाईघाट आउँदै थिए । साँझको पाँच बजेतिर बाटोमै घर जलेको खबर पाएँ । जलेको घर हेर्ने आँट आएन । फेरि काठमाडौं नै फर्किए’, उनले सुनाइन् ।
एक महिना अगाडी दुर्घटनामा परेकी राई थप उपचारका लागि काठमाडौं आएकी थिइन् । उपचार पश्चात् घर फर्किदा उनले बाटोमै घर जलेको खबर पाएकी हुन् ।
घर ध्वस्त भएको खबरपछि फर्किएकी उनी काठमाडौंमा पाँच दिन बसेर गाईघाट फर्किन र आफन्तको सहारामा बसिन् ।
प्रदर्शनकारीले उनको घरमा आगजनी मात्रै गरेका थिएनन् कि तोडफोड, लुटपाट पनि गरेका थिए । उनले सर्वश्व गुमाएकी छिन् ।

डेढ दशक अगाडी नै बुवाअमा गुमाएकी राई गाईघाट बजारमा एउटा घर बनाएर बस्दै आएकी थिइन् । त्यो घर पनि उनले २०५३ सालमै बनाएकी हुन् । ओखलढुङ्गाबाट बसाइ सरेर गाईघाट बजारमा आएकी राईले पुर्ख्यौली सम्पत्ति, व्यापार र जागिरबाट कमाएको पैसाले घर बनाएकी थिइन् ।
राईका अनुसार उनको सम्पत्तिको नाममा त्यही एउटा घर थियो । त्यो पनि जेनजी आन्दोलनको नाममा ध्वस्त पारियो ।
‘सिसिटिभी हेर्दा मेरो घरमा सुरुमा तोडफोड र लुटपाट गरिएको छ । लुटिसकेपछि फर्निचर र लत्ताकपडाहरू बाहिर ल्याएर जलाइएको छ र पछि घरमा आगो लगाइएको छ’, उनले भनिन् ।
उपमेयर राईका अनुसार उक्त समयमा उनको घरमा कोही थिएनन् । उनको घरमा सर्वश्व लुटेर जलाइएको थियो । उनले लगाएका एकसरो लुगा बाहेक अन्य केही पनि उनीसँग बाँकी छैन ।
डढेको घरको दुई कोठामा बस्दै आएकी उनी अहिले घरको पुनर्निर्माणमा जुटेकी छिन् । जनप्रतिनिधि भएर पनि आफ्नै व्यक्तिगत समस्याले पिरोलिएकी राईको अनुहारमा चिन्ता स्पष्ट झल्किन्थ्यो ।
नगरपालिकाको दैनिकी, सेवा र बैठकमा भने उनी नियमित सहभागी भइरहेकी छन् । ‘घर गुमाएँ, तर जिम्मेवारी भुलेकी छैन’, उनले भनिन् ।
प्रदर्शनकारीहरुले उनको घर आगजनी मात्रै गरेका थिएनन् । उनको घरमा रहेका गरगहनादेखि कुखुरा समेत चोरेका थिए ।
‘मेरो अहिले केही पनि छैन । परिवारको इतिहास, सुनचाँदी, गरगहना, सर्टिफिकेट लत्ताकपडा, भाँडाकुँडा केहिपनि छैन । छतमा पालेका ११ वटा कुखुरा समेत चोरिएको छ’, उनले भनिन्, ‘मेरो घर लुट्ने उद्देश्यले नै यस्तो गरिएको हो । केही व्यक्तिगत रिसिवी साधेर पनि यस्तो गरिएको हो ।’

३५ दिनपछि पनि जलेको घरको छेउमा कालो खरानी र पोलिएका लहराहरू उस्तै छन् । जसले उनलाई प्रत्येक दिन सम्झाउँछ– त्यो आगो केवल घरमा लागेको थिएन, मन र एउटा जनप्रतिनिधिको भरोसामा पनि लागेको थियो । दुई दशकदेखि समाजसेवा गर्दै आएको सेवाको कदरमा लागेको थियो ।
लामो समयदेखि उनी समाजसेवामा सक्रिय छिन् । २०७९ सालमा भएको स्थानीय चुनावबाट उनी त्रियुगा नगरपालिकाको उपमेयरमा निर्वाचित भएकी हुन् ।
राई अझै पनि नगरपालिकाका कामसहित सामाजिक सेवामा सक्रिय छिन् । ‘जीवनभरको लगानी गुमाएको छु । घर जलेको छ, तर हिम्मत जलेको छैन’, उनले सुनाइन् ।

जेनजी आन्दोलनकाक्रममा देशभर धेरै सार्वजनिक र निजी सम्पत्तिमा तोडफोड र आगजनी भएका थिए । त्यसक्रममा भएको तोडफोड र आगजनीले धेरैको जनजीवन प्रभावित बनाएको थियो । उपमेयर राई पनि त्यसको सिकार बन्न पुगेकी छिन् ।
‘आन्दोलनले यस्तो क्षति पुर्याउला भन्ने सोचेकै थिइनँ । आगजनीबाट घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । मैले मानसिक र आर्थिक भार खेप्नुपरेको छ’, उनले गुनासो गरिन् ।
गाईघाट बजारमा रहेको उपमेयरको चार तलाको घरमा तोडफोड, लुटपाट र आगजनी गरिएको छ । जसबाट उपमेयर राईले करिब साढे करोडौँको क्षति व्यहोरेकी छिन् । क्षतिको विवरण उनले जिल्ला प्रशासन कार्यालय उदयपुरमा दिइसकेकी छिन् । जिल्ला प्रहरी कार्यालयमा पनि उजुरी दिन उनले सिसिटिभी फुटेज संकलन गरेर निवेदनको तयारीमा छिन् ।

Leave a Reply