
काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा स्मार्ट कार्ड (सवारी चालक अनुमति पत्र) छाप्ने मेसिन मर्मत गर्न २ करोडभन्दा धेरै लाग्ने भएको छ ।
२४ गते भएको आन्दोलनमा यातायात व्यवस्था विभाग भएको कार्यालय जलाए पनि लाइसेन्स प्रिन्ट गर्ने मेसिन भएको भवनमा छिरेर मेसिन तोडफोड गरेका थिए ।
मेसिन तोडफोड मात्रै भएकाले यातायात व्यवस्था विभागले विदेशबाट मेसिन आयात गरेको कम्पनीको मान्छे ल्याएर मर्मतको लागि छलफल गरेको थियो । विभागले कम्पनीसँग मर्मतको लागि कति खर्च लाग्छ भनेर छलफल गरेको थियो । कम्पनीका प्रतिनिधिले मेसिन मर्मत गर्न २ करोडभन्दा धेरै लाग्ने बताएका थिए ।
यातायात व्यवस्था विभागका आइटी डाइरेक्टर केशव खतिवडाले लाइसेन्स प्रिन्ट गर्ने मेसिनको वारेन्टी सकिएको र मर्मतका लागि ठूलो खर्च लाग्ने भएकाले मेसिन मर्मत गर्नुभन्दा अन्य विकल्पमा जानु नै राम्रो हुने बताए ।
उनले नेपाल प्रेससँग भने, ‘भदौ २४ गते भएको आन्दोलनका क्रममा यातायात व्यवस्था विभागसँग रहेको स्मार्ट लाइसेन्स छाप्ने मेसिनमा तोडफोडका कारण क्षति भएको थियो । त्यो मेसिन मर्मतका लागि कम्पनीको प्रतिनिधि बोलाएर कति खर्च लाग्छ भनेर छलफल गरेका थियौँ । कम्पनीले २ करोडभन्दा धेरै खर्च लाग्ने बताएपछि हामीले मेसिन मर्मत नगर्ने निर्णयमा पुगेका हौँ । मेसिनको वारेन्टी पनि सकिएको छ । यो मेसिनले १ करोड स्मार्ट लाइसेन्स छाप्ने हो । ८५ लाखभन्दा धेरै कार्ड प्रिन्ट भइसकेको छ । भने, मेसिन मर्मत गर्दा पनि अब १५ लाख कार्ड छाप्ने हो । मेसिन मर्मत गर्नुभन्दा नयाँ मेसिन किन्नु वा सरकारी निकायसँग जिटुजी माध्येबाट लाइसेन्स छाप्दा सस्तो पर्ने छ । मेसिन मर्मत गर्ने पैसामा केही पैसा थप्ने हो भने नयाँ मेसिन किन्न सकिने अवस्था आएको छ ।’
सुरक्षण मुद्रण केन्द्रले पनि नयाँ स्मार्ट कार्ड छाप्ने भनेर सम्झौता भएको थियो । अबको विकल्प भनेको विभागले प्रदेशहरूलाई नै लाइसेन्स छाप्न दिने वा नयाँ मेसिन किन्ने तथा अन्य कुनै सरकारी निकायसँग जिटुजीमा लाइसेन्स छाप्न दिने खतिवडाले बताए ।
स्मार्ट लाइसेन्स प्रिन्ट गर्ने मेसिन इटलीबाट आयात गरिएको ‘माटीका’ कम्पनीको हो । यो मेसिनको ३ वर्षे वारेन्टी थियो । वारेन्टी सकिएको करिब १ वर्षभन्दा धेरै भइसेको छ ।
नेपालभरका ट्रायल सेन्टरबाट ट्रायल पास गरेका र नवीकरण गर्न दिएको लाइसेन्स माटीकाबाट छापिँदै आएको थियो । एउटा मात्रै मेसिन भएकाले माग अनुसारको लाइसेन्स छापेर वितरण भने हुन सकेको थिएन । यो मेसिनको दैनिक ४ हजार ५ सय लाइसेन्स छाप्ने क्षमता रहेको थियो ।
अहिले विभागले ३० लाखभन्दा धेरै लाइसेन्स छापेर दिन बाँकी रहेको छ । जेनजी आन्दोलनपछि नयाँ लाइसेन्स छपाइ र ट्रायल रोकिएको छ । लाइसेन्स छाप्ने मेसिन सन् २०१९ मा ६ करोडमा खरिद गरिएको थियो ।

Leave a Reply