
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेले युवालाई दुरुपयोग हुनबाट जोगाउने अनेक प्रयत्न गर्दा पनि भदौ २३ र २४ का दुःखद घटना भएको बताएका छन्।
बुधवार नेकपा एमाले केन्द्रीय कमिटी बैठकमा बोल्दै मुलुकलाई प्रतिगमनमा लैजानेहरूले युवालाई दुरुपयोग गरेको कुरा थाहा पाएर विभिन्न कार्यक्रम सञ्चालन गरिएका भए पनि ती पर्याप्त प्रभावकारी हुन नसकेको बताए।
उनले भने, ‘हाम्रा प्रयत्नको तुलनामा षडयन्त्रकारीका षडयन्त्र मुखर रूपमा अघि बढे र भदौ २३ र २४ को घटना भयो।’
उनले सहरिया नवधनाढ्य र युवाहरू एमालेबाट टाढिँदै गएको बताए। भूमिहीन, सुकुम्वासी र गरिब जनता पनि विभिन्न आश्वासन र प्रलोभन देखाएर पार्टी विरुद्ध पारिएको उनको भनाइ छ।
कतिपय वैदेशिक घटनाक्रमले पनि नेपालको जनमत प्रभावित हुने गरेको बताए।
उनले थपे, ‘मिसन ग्रास रुटको समयमा प्रत्येक वडामा १० जना युवालाई पहिचान गरी नेतृत्व विकासको योजना बनाइएको भए पनि सो योजना अपेक्षाअनुसार कार्यान्वयन हुन सकेको छैन।’
महासचिव पोखरेलले प्रदेशदेखि वडासम्म पार्टीलाई व्यवस्थित गरी युवाबिचको कामलाई अघि बढाउने निर्देशन भए पनि अपेक्षित परिणाम नआएको बताए।
केन्द्रीय सचिवालय बैठकले पार्टी एकताको एजेन्डालाई प्रमुखता दिएको र केन्द्रीय कमिटी बैठकले पनि त्यसैलाई प्राथमिकतामा राख्ने विश्वास व्यक्त गरे।

Leave a Reply