
डोटी । डोटी पिठ्यूमा आधारभूत स्वास्थ्य उपकरणको झोला, एक हातमा खोप राख्ने कोल्ड बक्स, अर्को हातले भित्ताको सहारा लिदै भीरमा उक्लिरहेका छन् लालबहादुर बुढा क्षेत्री । उनलाई पछ्याउँदै छन् सहयोगी टिकाराम घर्तिमगर।
लालबहादुर कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–१ चायाभावर आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत सहायक स्वास्थ्य कार्यकर्ता (अहेव) हुन्। उनीसँगै पिठ्यूँमा स्वास्थ्य सामग्रीको झोला, एक हातमा बाल्टी र लौरो बोक्दै अर्को हातले अडेस् खोज्दै सकीनसकी भीरमा उक्लिरहेका टिकारा सोही स्वास्थ्य केन्द्रका कार्यालय सहयोगी हुन् ।
उनीहरु दुवै जना वडाको दुर्गम बस्ती चोक्सेकाँडामा नियमित खोप सेवा दिन जाँदैछन् । यो जोखिमपूर्ण यात्रा उनीहरुका लागि एक दिन, दुई दिनको मात्र कुरा होइन । महिनैपिच्छे यसरी नै दुःख गरेर चोक्सेकाँडा पुग्छन् लालबहादुर र टिकाराम ।

‘एक दिन खोप सेवा सञ्चालन गर्नु पर्छ, एक दिन गाउँघर क्लिनिक’ लालबहादुर भन्छन् ‘त्यसैले महिनाको दुई दिन हामी चोक्सेकाँडा पुग्छौँ ।’ चायाभावरबाट चोक्सेकाँडा पुग्न चार घण्टा लाग्ने लालबहादुर बताउँछन् । उनी भन्छन् ‘पानी परेन भने त हामी बिहान पाँच बजे आएर काम सकेर साँझ चाया भावर फर्किन्छौँ, पानी पर्यो भने एक दुई दिन यतै पनि बस्नु पर्ने हुन सक्छ ।’
२०७४ सालदेखि करार सेवामा कार्यरत लालबहादुर वर्षाकाे समयमा बाटोको समस्या हुने गरेको बताउँछन् ।
‘पानी पर्दा जताततै पहिरो गएको हुन्छ, पानी परेको दिन त कहाँ पहिरो खसेर च्यापिन्छौँ भन्ने चिन्ता हुन्छ’ लालबहादुर सुनाउँछन् ‘जसोतसो हामी नियमित पुगिराखेकैछौं ।’
सेती लोकमार्गमा आएको पहिरो पन्छाएपछि त हिँड्न सहज हुने उनको भनाई छ ।
‘पहिले त यस्तो गार्हो हुन्थेन्, अचेल सेती लोकमार्ग निर्माण हुन थालेपछि बर्खाको बेला पहिरो आएर यस्तो समस्या हुने गरेको छ’ उनी भन्छन् ‘अव पहिरो पन्छाएपछि हिँड्न सहज भईहाल्छ ।’
उनी पहिरो पन्छिने विश्वासमा अहिलेको दुःख बिर्सिँदै छन् । लालबहादुरलाइ जोखिम मोलेर चोक्सेकाँडा पुग्न अचेल सामान्य जस्तै लाग्न थालेको छ ।
उनी आफ्नो जिम्मेवारी सम्झिन्छन्, भन्छन् ‘हामीले यत्तिको दुःख गरेनौँ भने बालबालिकाको खोप छुट्छ, गर्भवती महिलाहरुको चेकजाँच, परामर्श र बालबालिकाको नियमित परीक्षण पनि छुट्छ ।’

त्यसैले आफूहरूले नियमित रुपमा आउनै पर्ने उनी बताउँछन् । जोखिमपूर्ण बाटो हिँडेर चोक्सेकाँडा पुग्दा समेत सेवाग्राहीहरु खोप केन्द्र र गाउँघर क्लिनिकमा नआइदिँदा दुःख लाग्छ लालबहादुर लाइ । ७३ परिवार बसोबास गर्ने यस बस्तीमा कुनै दिन त चार/पाँच जना मात्रै सेवा लिन आउने बताउँछन् उनी ।
‘यतिका दुःख गरेर आइयो, सेवा लिन आउँदैनन्’ उनी भन्छन् ‘बस्तीमा पसेर आफैले खोज्नु पर्ने हुन्छ सेवाग्राहीहरुलाई ।’ पहिले पहिले खोप सेवा सञ्चालन गर्न ११/१२ घण्टा पैदल हिँडेर सोही वडाको राक्सा बस्तीमा पुगेको अनुभव छ लालबहादुर—सँग ।
‘तीन दिन लाग्थ्यो राक्सामा खोप चलाउन’ उनी भन्छन् ‘एक दिन जाने, एक दिन खोप लगाउने तेस्रो दिन फर्किने ।’ पछिल्लो समय राक्सामा सामुदायिक स्वास्थ्य इकाई स्थापना भएपछि आफूले जानु नपर्ने भएको उनी बताउँछन् । दुर्गममा गएर स्वास्थ्य सेवा प्रदान गर्नु आफ्नो सौभाग्य ठान्छन् लालबहादुर ।
उनी भन्छन् ‘स्वास्थ्य सेवा दिनु हरेक स्वास्थ्यकर्मीको जिम्मेवारी हो, जतिसुकै दुर्गम भए पनि सेवा दिनु पर्छ भन्ने भावना राख्नु पर्छ ।’ उनी आफूले गरेको दुःखले कसैको स्वास्थ्य सुरक्षित हुन्छ भने त्यसबाट आफूलाई सन्तुष्टि प्राप्त हुने बताउँछन् । उनी बाटोमा भेटेका व्यक्तिहरुको समेत सामान्य चेकजाँच गर्दै हिँड्छन् ।

‘चोक्सेकाँडा टाढा छ, त्यसैले बाटोमा हिँड्ने क्रममा कोही भेटिए उनको रक्तचाप, नाडीसम्म चेकजाँच गरेर आवश्यक स्वास्थ्य परामर्श पनि दिने गरेको छु’ उनी भन्छन् ‘रत्तचाप जँचाउनकै लागि कसैले यति टाढा हिँड्न नपरोस् भन्ने मेरो उद्देश्य हो ।’

निर्माणाधीन सेती लोकमार्गमा आएको पहिरो छिटो पन्छाई दिन सरोकारवालालाई आग्रह गर्छन् । स्वास्थ्य सेवा प्रदान गर्नु आफ्नो जिम्मेवारी भएकोले जसरी पनि सम्बन्धित ठाउँमा पुग्नै पर्ने मनसाय बनाएका उनी यदि सरोकारवालाहरूले पहिरो पन्छाई दिए आफूहरूलाई आउजाउ गर्नमा अलि सहज हुने बताउँछन् ।


Leave a Reply