महराको बयानः सुन ल्याउने चिनिया नागरिक म सञ्चारमन्त्री हुँदा फलफूल लिएर भेट्न आएका थिए

काठमाडौं । पूर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरामाथि सुन तस्करी प्रकरणमा आफू निर्दोष रहेको दावी गरेका छन् । जिल्ला अदालत काठमाडौंमा दायर भएको अभियोग पत्रमा उनको इन्कारी बयान उल्लेखित छ ।

महराले चिनियाँ नागरिक दाओजिन वाङसँगको सम्बन्ध, भन्सारका अधिकारीसँगको कुराकानी र सुन तस्करीमा आफ्नो संलग्नताबारे दिएको बयान अभियोग पत्रमा समेटिएको हो । आफ्नो बयानमा उनले चिनियाँ नागरिक दाओजिन वाङलाई आफू सञ्चारमन्त्री हुँदा फलफूल लिएर बधाई दिन घरमा आएको बेला चिनेको बताएका छन् ।

वाङलाई ‘फलफूल व्यापारी’को रूपमा मात्रै चिनेको र उनको गलैँचा, जडिबुटी, खाद्यान्न वा विद्युतीय सामग्रीको व्यापारबारे आफूलाई कुनै जानकारी नभएको महराले दावी गरेका छन् ।

‘निजको व्यवसायमा मेरो कुनै पनि प्रकारको साझेदारी छैन,’ उनको भनाइ छ। उनले चिनियाँ नागरिकले भेपभित्र सुन लुकाएर ल्याएको र त्यसको अवैध कारोबारबारे आफूलाई कुनै जानकारी नभएको जिकिर गरेका छन् ।

२०७९ साल पुष १० गते दुबईबाट आएका चिनियाँ यात्रु लि हान्सोङले ल्याएको ७३० थान इलेक्ट्रोनिक सिगरेट (भेप) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जफत भएको थियो । त्यसपछि दाओजिन वाङले आफूलाई फोन गरेर जानकारी दिएको महराले स्वीकारेका छन् । यस विषयमा आफूले प्रमुख भन्सार प्रशासक अरुण पोखरेलसँग आफ्नै मोबाइलबाट एक पटक कुरा गरेको र ‘सामान वैध हो कि अवैध हो, यदि वैध हो भने कानून बमोजिम के गर्न मिल्छ गरी दिनुहोला मात्र भनेको’ उनको भनाइ छ । दाओजिन वाङलाई पनि ‘कानून बमोजिम के गर्न मिल्छ गरी दिनु’ भनेर मात्रै जवाफ दिएको उनी बताउँछन् ।

महराले आफू राजनीतिक व्यक्ति भएकाले धेरै जनासँग भेटघाट तथा फोनमा कुराकानी हुने गरेको र सबै कुरा याद नहुने बताएका छन् । उनले भेपभित्र लुकाइएको सुनको अवैध पैठारी (तस्करी) मा आफ्नो कुनै पनि संलग्नता नभएको र आफ्नो परिवारका सदस्यलाई कुनै राजनीतिक संरक्षण नदिएको दाबी गरेका छन् ।

‘अवैध सुन कारोबारमा मेरो लगानी छैन,’ महराको बयानमा भनिएको छ ।

महराले दिएको बयान जस्ताको त्यस्तै :

-म नेपाल सरकारको सञ्चारमन्त्री हुँदा चिनियाँ नागरिक दाओजीन वाङ फलफूल लिएर मलाई बधाई दिनका लागि म बस्ने गरेको घरमा आएकोले सोही बेला मैंले निजलाई चिनेको हुँ । निजले मलाई आफू फलफूल व्यापारी हुँ भनी बताएको हुँदा मैंले फलफूल व्यापारीको रुपमा मात्र निजलाई चिनेको हुँ । निज चिनियाँ नागरिकले गलैंचा, जडिबुटी, खाद्यान्न, विद्युतीय सामग्री आदिको व्यापार गर्ने गरेको बारेमा मलाई थाहा छैन । निजको व्यवसायमा मेरो कुनै पनि प्रकारको साझेदारी छैन ।

प्रमुख भन्सार प्रशासक अरुण पोखरेलसँग मैंले प्रयोग गर्ने मोबाईलमा एकपटक कुराकानी हुँदा सामान वैध हो कि अवैध हो, यदि वैध हो भने कानून बमोजिम के गर्न मिल्छ गरी दिनु होला मात्र भनेको हो । मेरो छोरा आउँछ, हेरिदिनु भनेको होईन । म राजनैतिक व्यक्ति भएकोले धेरै जनासँग भेटघाट तथा फोनमा कुराकानी हुने गरेको हुँदा सबै कुरा याद छैन ।

मितिः २०७९।९।१० गते विदेश (दुबई) बाट ल्याएको ईलेक्ट्रिक सिगरेट (भेप) ७३० थान त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलका कर्मचारीले नियन्त्रणमा लिएकोले चिनियाँ नागरिक दावाजिन वाङले मलाई फोन गरी बिदेशबाट ल्याएको ईलेक्ट्रिक सिगरेट भन्सारमा रोकिएको छ, भनिदिनुपर्यो भनी बताएपछि थाहा भएको हो । निजले मलाई के कुन मितिमा फोन गरे भन्ने कुरा यकिन छैन ।

मेरो भन्सार प्रमुख प्रशासक अरुण पोखरेलसँग कुरा हुँदा सामान वैध, अवैध के हो ? वैध हो भने कानून बमोजिम के गर्न मिल्छ गरी दिनु मात्र भनेको हो । निजले कति कारणले मेरो छोरा आउँछ हेरी सहयोग गरी दिनु भनेको भनी खुलाए मलाई थाहा भएन । उक्त सुनको अवैध पैठारी (तस्करी) मा मेरो कुनै पनि संलग्नता छैन । मैंले मेरो परिवारका सदस्यलाई कुनै राजनैतिक संरक्षण गरेको छैन । चिनियाँ नागरिकले इलेक्ट्रिक सिगरेटभित्र लुकाई छिपाई लिई आएको सुन अवैध रुपमा नेपाल भित्र्याउनको लागि मेरो कुनै लगानी छैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *