माओवादीभित्र ‘जेनजी रेड टास्क फोर्स’ गठन, प्रचण्डलाई थप एक कार्यकाल अध्यक्ष बन्न दिने

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट जेनजीहरुले ‘जेन जेड रेड टास्क फोर्स’ गठन गरेका छन् । यो टास्क फोर्सको नेतृत्व लिएकी छन्, अखिल क्रान्तिकारीकी केन्द्रीय सदस्य स्मृति निमल्सिनाले ।

तिमल्सिनाका अनुसार अहिलेसम्म ४० जिल्लामा टास्क फोर्सको संयोजक तोकिसकिएको छ भने बाँकी जिल्लामा तोक्ने काम तीव्र रूपमा अगाडि बढाइएको छ । माआ‍ेवादी केन्द्रभित्र व्यक्तिवादी प्रवृत्ति चरम रूपमा हाबी भएको तिमल्सिनाको भनाइ छ । चाकरी गर्नेहरूलाई मात्रै अवसर दिएर पार्टी नै कब्जा गर्न खोज्नेहरूबाट जोगाउन आफूहरूले अभियान चलाएको उनले बताइन् ।

‘बरु पार्टी सकियोस्, तर पद छोड्न कोही पनि तयार भएनन् । बीसौं वर्षदेखि हाँके पनि अन्तिममा उनीहरू एमाले र कांग्रेसजस्ता बने,’ तिमल्सिनाले भनिन्, ‘यो बीचमा हामीले केही न केही गर्नै पर्ने थियो । पार्टीमा नेताको विरुद्ध कसैले केही बोलेमा राजनीति नै सकाइदेलान् कि भन्ने भय थियो । यही कारण हामीले रेड टास्क फोर्स गठन गरेका हौं ।’

टास्क फोर्सले दुई-चारवटा काम गर्ने तिमल्सिनाले बताइन् । एउटा, माओवादीले १७ हजार मारेको भन्ने ‘गलत भाष्य’ जनतामाझ पुगेर चिर्ने । उनले भनिन्, ‘हजारौं निहत्था जनता त राज्यपक्षले दमन गर्दा मारिएका हुन् ।’

यो भाष्य चिर्न आइटी सेलले समेत काम गर्ने उनले बताइन् । दोस्रो, गाउँ गाउँमा रेड टास्क पोस्ट बनाएर जनताका कुरा सुन्ने । तेस्रो, पार्टीलाई पुनःसंरचनामा लैजाने । अब एक कार्यकाल अझैँ प्रचण्डलाई पार्टी चलाउन दिने र त्यसपछि शीर्ष नेतृत्वलाई बिदा गर्ने उनको भनाइ छ । चौथो, फागुन २१ को चुनावमा नभए त्यसपछिको चुनावमा बहुमत ल्याउनेगरी काम गर्ने । र पाँचौँ, चिनियाँ कम्युनिष्ट पार्टी जस्तै देशमा एक मात्रै कम्युनिस्ट पार्टी बनाउने ।

तिमल्सिनाले थप भनिन्, ‘पार्टी छाडेर जानुभएका नेता, कार्यकर्ताहरू जति पनि छन्, उहाँहरूलाई पुन घर फर्काउने अभियान पनि चलाउनेछौँ । पार्टी छाडेका पूर्व जनमुक्ति सेनासहित पूर्वशहीद परिवारलाई पुनः पार्टीभित्रै समेट्नेछौँ ।’

तर, अझैँ एक कार्यकाल प्रचण्डको विकल्प नरहेको तिमल्सिनाको दाबी छ । आफू रुकुम पश्चिमतिर पुग्दा त्यहाँका कार्यकर्ताले समेत प्रचण्ड बाहेक अरुलाई अध्यक्ष स्वीकार्न नचाहेको बताएको उनले बताइन् ।

तिमल्सिनाले भनिन्, ‘सुरुवातमा हामीले सरल सहयात्री, सुदन किराती जस्ता नेतालाई अध्यक्ष बनाउनेबारे सोचेका थियौं । तर, ९५ प्रतिशत कार्यकर्ताले प्रचण्डलाई एक कार्यकाल दिनुस्, अनि तपाईंहरु आउनस् भनिरहेका छन् । लाखौं कार्यकर्ताको माग यस्तो भएपछि हामीले केही गर्न सकेनौं ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *