
काठमाडौं । उदयपुरमा गुडिरहेको कारमा अचानक आगलागी भएको छ । सोमबार बिहान मदन भण्डारी राजमार्ग अन्तर्गतको अधेरी सडकखण्डमा गुडिरहेको बा ९ च ४६६८ नम्बरको कारमा आगलागी भएको हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङका अनुसार उक्त कार इलामबाट काठमाडौं तर्फ आइरहेको थियो । उदयपुरगढी गाउँपालिका वडा नं. ७ मा अचानक कारमा आगलागी भएको हो । कारमा एकै परिवारका चार जना सवार थिए ।
‘आज बिहान ९ः५० को समयमा गुडिरहेको कारमा आगलागी भएको हो । कारमा चार जना थिए । आगलागीबाट मानवीय क्षति भएको छैन । कारमा सवार ७ वर्षको बच्चाको बायाँ खुट्टामा सामान्य चोट लागेको छ’, डिएसपी दोङले नेपाल प्रेससँग भने ।
तेल लिक भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको उनले बताए । घाइते बालकको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको डिएसपी दोङले जानकारी दिएका छन् ।
आगलागी भएको कार फोर्ड कम्पनीको रहेको डिएसपी दोङले जानकारी दिए ।

Leave a Reply