
काठमाडौं । राप्रपा महामन्त्री डा. धवलशम्शेर राणाले आज काठमाडौंमा उपलब्ध आफ्नो पक्षका केन्द्रीय सदस्यहरुको बैठक राखे । चाबहिलको एउटा पार्टी प्यालेसमा आयोजित बैठकले पार्टीको नियमित महाधिवेशन समयमै गराउन दवाव दिने निर्णय गरेको छ ।
तिहारपछि देशभरका संस्थापनइतर केन्द्रीय सदस्यहरुलाई काठमाडौं डाकेर भेला आयोजना गर्ने निर्णयसमेत भएको एक नेताले जानकारी दिए । बैठकमा महामन्त्री राणाले नेतृत्वप्रति तीव्र असन्तुष्टि पोखेका थिए । राजसंस्था र हिन्दू राष्ट्रको एजेन्डामा राप्रपा पछि परेको मात्र नभएर पार्टीबाटै अवरोध भएको आरोपसमेत उनले लगाएका छन् ।
राणाले बैठकमा व्यक्त गरेको धारणाको सम्पादित अंश यस्तो छः
राजनीतिमा सबै कुरालाई सहेर हिँड्नुपर्छ । सबै प्रकारका मान्छेहरु यहाँ हुन्छन् । यो देश, जनता र एजेन्डाको लागि लडिरहनु पर्छ, भिडिरहनु पर्छ । दिक्क मानेर भाग्ने कुरा हुन्न ।
भिड्नु पर्छ भन्ने मनस्थितिमा म रहिरहेँ र अहिले पनि छु । भ्रष्टाचारकै कुरा गर्दाखेरि २०–२५ वर्षबाट मैले पाउने तलब–भत्ता त आफ्नो क्षेत्रमा जनतालाई बाँड्दिने गरेको छु । त्यो पनि रेकर्ड राखेर । सरकारी तलब, सरकारी सुविधै चाहिँदैन, म लिन्न भनेर अहिले होइन, १०/२० वर्षबाट गर्दै आएको मान्छेलाई निराधार आरोपहरु पनि लगाए । खैर, राजनीतिमा सबै कुरालाई सहनु पर्छ, त्यो सहँदै आएको छु ।
अब आज हामीले यहाँ ब्यानर किन नलगाएको भन्ने कुराबाट गर्छु । हामीले एक्सन किन नगरेको भन्ने कुरा गर्छु । मज्जाले एक्सन गर्न आउँछ । एक्सन गर्दै आएको, लड्दै आएको, भिड्दै आएको हो । तर यो पार्टीको समस्या भनेको जन्मबाटै टुट्दै–फुट्दै आएको छ । फेरि हामीले त्यतातिर लाग्नु नपरोस् । सकेसम्म सबैलाई मिलाएर अगाडि बढौँ र पार्टीमा बिस्फोट नगरिदियौँ भनेकै कारण हामीले संयम अपनाएर सकेसम्म मिलाएर जाउँ भन्दै–भन्दै आएको हो ।
म ६ चोटी अध्यक्ष राजेन्द्र लिङ्देनको घरमा गएर मिलेर जाउँ भनेँ । मलाई उहाँको घर जान कुनै रहर होइन । मेरो पनि इज्जत छ । तर यो पार्टीको हितको लागि र यो एजेन्डाको हितको लागि मैले आफ्नो इगोभन्दा माथि उठेर काम गर्नुपर्छ भन्ने दृष्टिकोणले गएको हो । उहाँसँग धेरैचोटी बसेँ । उहाँको बानी के पाएँ भने, हँहँ भन्ने, हुन्छ भन्ने, अर्को दिन ठ्याक्कै उल्टो गर्दिने । यो कुरा मैले उहाँको मुखैमा गर्या छु । आज गरेको कुरा भोलि नै उल्ट्याइदिनुहुन्छ ।
खैर, अहिले यो परिस्थिति धेरै अगाडि बढेको छ । गर्दागर्दै जब साथीहरुलाई कारबाही गरेर निकाल्न थालेपछि यो भित्र–भित्र भएको संघर्ष बिग्रियो । बाहिर आउन थाल्यो । ३०–३० वर्ष पार्टीमा योगदान गरेका मित्रहरुलाई फेसबुकमार्फत निकाल्दिने, पदमुक्त गर्दिने । अब मलाई क्यान्सर भएर गएको मान्छे, फर्केर आउँछ कि आउँदैन भन्ने थाहा हुन्न । संगठन विभागमा मैले काम राम्रै सुरु गरेको थिएँ । ठ्याक्कै चेन्ज गर्नुभयो । एक शब्द सोधिएन । थाहा छैन किन ? हौसला दिने सट्टामा यस्तो काम गर्नुभयो ।
खैर, त्यो पनि इतिहास भयो । तर त्यहाँपछि राम्रो गरेको भए त ठिकै हुन्थ्यो नि । मलाई हटाएपछि स्थानीय निकायको एउटा बैठक पनि गर्न सक्नुभएको छैन । यो के हो ? के गर्न खोजेको हो यो ? यो स्थितिको एउटा दोषी म पनि हुँ । या प्रमुखै दोषी म हुँ ।
कमल थापाज्युले प्रजातान्त्रिक प्रणालीमा पार्टी चलाउन सक्नु भएन र यो पार्टी समाप्त हुनलाग्यो भनेर राजेन्द्र लिङ्देनलाई ल्याउन धेरै मेहनत गरेको हो । त्यसको लागि म पटक–पटक क्षमायाचना माग्दैछु । त्यो आफ्नो ठाउँमा छ ।
हामीले किन बोलायौं भेला ? किन ब्यानर लगाएनौँ ? किनकि यो पार्टीको एकता कायम गर्नको लागि र पार्टीलाई एकजुट बनाएर अगाडि लैजान सकिन्छ कि भनेर आज यो भेला बोलाएको हो । त्यो ब्यानरमा के लेख्ने ? पार्टीका समस्याहरुलाई समाधान गर्न निचोड ल्याउने भन्ने हो कि ? कसरी संघर्ष गरेर जाने भन्ने हो कि ?
एउटा त समयमा महाधिवेशन गराउनुपर्छ भन्ने निष्कर्ष आयो । १८ गते मंसिरमा यो कार्यसमितिको कार्यकाल सिद्धिन्छ । १८ गतेभन्दा पहिले हामीले महाधिवेशनको डेट तोकेनौँ अथवा महाधिवेशनलाई पछाडि सार्ने निर्णय गर्न सकेनौँ भने यो केन्द्रीय कार्यसमिति अवैध हुनेछ । त्यसकारण हामीले समयमा महाधिवेशनको डेट तोकाउनु पर्ने, प्रेसर गर्नुपर्ने आवश्यकता देखियो ।
साथीहरुलाई भएको कारबाही खुकुलो गर्ने कुरा छ । महाधिवेशनभन्दा पहिले सबैको मान–मर्यादा हुन्छ । यत्रो सानो पार्टीमा एउटा पद हटाइदिएर केही हुने वाला छैन । त्यो कुरालाई फिर्ता गर्दै सबै कमिटीहरुलाई महाधिवेशन कमिटी बनाइदिने ।
राजा र हिन्दु राष्ट्रको विषयलाई लिएर हामी पछाडि परेकै छौं । यसो सर्फेसमा हेर्दाखेरि राजा चाहियो, हिन्दु राष्ट्र चाहियो भन्ने तर त्यो विषयमा पार्टीले ठोस काम केही पनि गरेको छैन । बरु राप्रपाले अवरोधै पुर्याएको छ है । यो कुरा भन्न अप्ठ्यारो छैन । आफुले पनि गर्या छैन, कसैले गर्न खोज्या छ भने त्यसलाई ठेस पुर्याइदिने काम गरिएको छ । न सदनमा गर्र्यौँ हामीले । मौका आएको थियो सदनमा । सदनको भूमिका पनि जिरो । चाहे किसानको कुरा थियो, चाहे शरणार्थीको कुरा थियो, चाहे भ्रष्टाचारको कुरा थियो, चाहे राजा र हिन्दु राष्ट्रको कुरा ।
धरानमा गाई काटेर खाइरहेको बेलामा सदन अवरोध गरौं भनेर मैले भनेँ । अध्यक्षज्यु बाहिर हुनुहुन्थ्यो । मेरो योजनाअनुसार अर्को दिन सदन अवरोध गर्ने बेला थियो, तर अध्यक्षज्यु आउँदा–आउँदै त्यसलाई रोकिदनु भयो । म झगडा गर्न गएँ । किन रोकेको भन्दाखेरि सबै सँग मिलेर जानुपर्ने आवश्यकता हुन्छ, सभामुखले अनुरोध गरे रे । हामी चुनाव जितेर सदनमा सबैसित मिल्न आएको हो कि हाम्रो एजेन्डालाई स्थापित गर्न आएको हो ?
धरानमा आगो लाग्दा राप्रपाले त्यो वेललाई घेर्दिन सक्या भए त्यसको सन्देश हिन्दु समाजमा के जान्थ्यो, तपाईहरुले सोच्नुस् । राजनीतिमा सबै कुराको समय हुन्छ । टाइमिङ हुन्छ । तपाईंले त्यो टाइमिङलाई मिलाउन सक्नुभएन । अघि–पछि गरेर त्यसको केही अर्थै हुँदैन । यस्ता कुराहरु तनाम छन् । तर यो गरेरै साध्य छैन ।
हामीले राजा र हिन्दु राष्ट्रको विषयलाई अगाडि बढाउनैपर्ने हुन्छ । हाम्रो मूल एजेन्डै त्यो हो । हामी यो पार्टीमा आबद्ध भएको कारण नै त्यो हो । दुई–चारवटा मन्त्री खान आएको होइन हामी । त्यसकारणले यो विषयमा हामी सचेत हुने भन्ने तपाईंहरुबाट कुरा आयो । र अहिले पनि वार्ता चल्दैछ । हामी निरन्तर रुपमा मिलाएर जाउँ भन्ने प्रयासमा छौँ । हामीले पार्टीको हितको लागि वार्ताको ढोका बन्द गर्या छैनौँ । अब वार्ता गर्ने कुरा तीनवटा मात्रै छ । एउटा समयमा महाधिवेशन हुनुप¥यो । दोस्रो, साथीहरुलाई भएको कारबाही र अनुशासनको कारबाहीहरु सबै फिर्ता हुनुपर्यो । त्यो भन्दा अब के वार्ता राख्ने ? के छ र अब गर्ने ? कार्यकाल सिद्धिसक्यो ।
हामी कुरा गरेर पनि मिलाउने प्रयास गर्छौँ । कुरा मिलेन भने र यही ढिपीले अगाडि बढ्न खोजियो भने अब एक्सनमा जाने भन्ने यो हाउसले म्यान्डेट दियो । त्यो अनुसार एक्सन गर्न नसक्ने होइन । जिन्दगीभरि गरेर आएकै हो । तर सकेसम्म पार्टी नखल्बलियोस् । जुन हामीमाथि आरोप लाग्दै आएको छ राप्रपा एक ठाउँमा बस्न सक्दैनन् भन्ने । यसले गर्दा राम्रो एजेन्डा बोकेको पार्टी पनि बिग्रिरह्यो । नेताहरुको झगडा भित्रभित्रै रहोस्, बाहिर नदेखोस् भन्ने प्रयासै गर्दै आएको कारणले तपाईंहरुलाई लागेको होला यिनीहरुले एक्सन नै गर्या छैनन् भनेर । एक्सन गर्दै आएको थियौं तर भित्रभित्र थियो । केही कुराहरुले बाहिर निस्कियो ।
खैर अब चाहिँ हामी अगाडि जान्छौं । नोट अफ डिसेन्टको कुरा पनि आयो । राप्रपा नेपाल र राप्रपा मिल्दाखेरि दुईवटा महाधिवेशनमा नोट अफ डिसेन्टको व्यवस्था ल्याउनुपर्छ भन्ने एजेन्डा हालेकै मैले हो । हलाएकै मैले हो । त्यो मात्रै होइन, अरु पनि ५–७ वटा एजेन्डाहरु मैले हलाएको हो ।
धेरै मित्रहरु त्यो महाधिवेशनमा हुनुहुन्थ्यो । मैले महाधिवेशनको हल नै रोक्दिएको हो । कमल थापाले ‘ल, उहाँले भनेको पाँच वटामा चारवटा गर्ने, एउटा नगर्ने’ भन्नुभयो । मैले ७० वर्षभन्दा माथि उमेर भएका व्यक्तिहरुलाई कार्यकारी पदमा ल्याउनु हुँदैन भन्ने एजेन्डा राखेको थिएँ । तर नेताहरु त धेरैजसो ७० वर्षभन्दा माथि पुग्न लागिसके । यो त मञ्चै खाली गर्नुपर्ने काम नगरौँ भनेपछि म चुप लागेँ । बाँकी चारवटा एजेन्डा हामीले पास गरेकै हो । त्यसमा नोट अफ डिसेन्टको कुरा पनि थियो । यो सुझाव पनि आउने कार्यसम्पादनले सदर गरेन भने, कार्यसम्पादनमा पाँच–सात जना मित्रहरु हुनुहुन्छ, अहिले म तपाईंहरुलाई बाचा गर्छु, म आफ्नोतिरबाट नोट अफ डिसेन्ट लेखाइदिन्छु, अरुले नलेखाए पनि । नोट अफ डिसेन्ट लेखेर नराम्रो भइन्न । त्यो कालान्तरको लागि हुन्छ ।
यो देशले राजा खोजेकै छ । संवैधानिक राजा है । राजनीति गर्ने राजा होइन । राजनीति नेपालीका छोरा र छोरीले गर्ने हो । यो कुरा राजाकै अगाडि स्पष्ट हामीले गरेको छौँ । र अब केही गम्भीर कुराहरु छन् । प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको विषयलाई पनि आउने महाधिवेशनमा, आउने केन्द्रीय समितिमा विज्ञहरुको सल्लाह लिएर गरौंला । यसको धेरै पक्ष र विपक्षका कुरा, प्रोज र कन्सका कुराहरु छन् । त्यसमा राम्रैसित छलफल गरेर हाम्रो सिस्टमलाई, राजसंस्थालाई, यो देशलाई सुहाउँछ कि सुहाउँदैन ? गर्ने हो कि होइन ? भन्ने कुराहरुमा अहिले नजाउँ । केही विज्ञहरुबाट त्यसको एउटा रिपोर्ट आइसकेपछि राप्रपाले निर्णय गर्दा राम्रो होला ।
घरमा बाउले जाँड खादै बच्चालाई पिटे भने त्यो घर कहिल्यै पनि सुखी र शान्त हुँदैन। त्यस्तै राष्ट्रको नेताले घुस खाएर पैसा लुकाउँदै गएर आफ्नो परिवारलाई मात्रै हेर्न थाल्यो भने के नतिजा भयो अस्ति हामीले देखिहाल्यौँ । त्यसकारण यो देशको भविष्य, यो पार्टीको भविष्य अत्यन्तै सम्भावना बोकेको भविष्य हो । त्यो सम्भावनातिर हामी लागिरहनु पर्छ । यो समस्या, अवरोध, पिडाहरु त यो जिन्दगीको पाटै हो । त्यसकारण हरेस खानु हुँदैन । धैर्यता पनि गर्नुपर्छ ।

Leave a Reply