
काठमाडौं । सर्वोच्च अदालतले जेनजी आन्दोलनकारीबाट आगजनी भएको कारण रोकिएको न्यायिक कार्य क्रमशः सुरु गर्ने भएको छ । अदालतले आज आइतबार जारी गरेको सूचना अनुसार असोज २८ गतेदेखि रिट निवेदन तथा केही अन्य कानुनी निवेदन दर्ता र सुनुवाइ सुरु हुने जनाएको हो ।
अदालतका प्रवक्ता एवम् सह–रजिस्ट्रार अर्जुनप्रसाद कोइरालाद्वारा जारी सूचनामा भनिएको छ, ‘मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५७ तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ का दफा ७३, १३७ र १५५ अन्तर्गत पर्ने निवेदन मिति २०८२ असोज २८ गतेदेखि दर्ता र सुनुवाइ हुनेछन् ।’
गत भदौ २४ गते सर्वोच्च अदालत परिसरमा भएको आगजनी, ढुंगामुढा, तोडफोड र लुटपाटका कारण न्यायिक कार्य स्थगन गरिएको थियो । सो घटनाबाट अदालतको भवन, कागजात र अभिलेखमा समेत क्षति पुगेको थियो ।
अदालतका अनुसार हालसम्म बन्दी प्रत्यक्षीकरण र अत्यावश्यक निवेदन मात्र दर्ता र सुनुवाइ हुँदै आएका छन् । अन्य सेवा भने अर्को सूचना जारी भएपछि मात्र सञ्चालन गरिने जनाएको छ ।


Leave a Reply