
काठमाडौं । गत फुलपातिबाट प्रदर्शनमा आएको ‘माइतीघर’ चलचित्र प्रदर्शन भएको आज १४ औं दिन हो । चलचित्रले उत्साहजनक रुपमा दर्शकको साथ पाइरहेको छ। चलचित्रका मुख्य कलाकार केदारप्रसाद घिमिरे ‘माग्ने बूढा’, धिरज मगर, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पाहरु दर्शकको प्रतिक्रिया लिन हलहरुमा पुगिरहेका छन् । उनीहरुले अभूतपूर्व रुपमा दर्शकको माया पाइरहेका छन् । दर्शकको माया पाउनेमा अग्रपंक्तीमा छन्, अभिनेता धिरज मगर ।
हिजो सिटी स्क्वायर, सामाखुसीमा पुगेका धिरजलाई भेटेर एक फ्यान भावुक भइन् । आफ्नो प्रिय सेलिब्रेटीलाई भेटेको खुसीमा भावुक बनेकी ती युवतीले धिरजसँग फोटो खिचिन् । यही हलको बाहिर धिरजका फ्यान रहेका अन्य युवतीहरुले आफ्नो ढाडमा धिरजको अटोग्राफ लिए । धिरजले पनि युवतीहरुको ढाडमा लेखेर अटोग्राफ दिए ।
‘चलचित्र कस्तो लाग्यो ?’ भन्ने प्रश्नमा एक युवतीले उत्तर दिइन्, ‘त्यो त टिस्यु पेपर हेरेरै थाहा हुन्छ ।’ आफू चलचित्र हेरेर निकै नै रोएको उनको प्रतिक्रिया थियो । धिरज मगर स्वयंले पनि दर्शकहरुलाई भेटेर, दर्शकहरुको राम्रो प्रतिक्रिया पाएर खुसी भएको प्रतिक्रिया दिए ।
हलहरुमा पुगेका धिरजसँग फोटो खिच्नलाई दर्शकहरुको भिड लाग्ने गरेको छ । धिरज मात्रै होइन, माग्ने बूढा पनि हलहरुमा प्रशंसकको घेराभित्र पर्ने गरेका छन् ।
चलचित्र विकास बोर्डको तथ्यांक अनुसार प्रदर्शनको आठौं दिनसम्ममा ‘माइतीघर’ले दु्ई करोड १३ लाखभन्दा बढी ग्रस कलेक्सन गरेको थियो। अहिले १४ औं दिनसम्म आइपुग्दा चलचित्रले चार करोड हाराहारी ग्रस कलेक्सन गरिसकेको वितरक करण श्रेष्ठ क्रेजीले बताए । तथापि बोर्डले सार्वजनिक गरेपछि नै चलचित्रको वास्तविक ग्रस कलेक्सन थाहा हुनेछ । चलचित्रको निर्देशक मिलन तामाङ हुन् ।

Leave a Reply