प्रदेश र जिल्ला अध्यक्षसँग ओलीले भने- एमालेको शिर झुक्न दिन्नँ, नसकेपछि छोड्दिन्छु (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका प्रदेश तथा जिल्ला अध्यक्षसँग भर्चुअल छलफल गरेका छन् ।

जेन-जी आन्दोलनपश्चात जेनजी आन्दोलनपछि नेकपा एमालेको नेतृत्व छाड्न केही नेताले दबाब दिइरहेका बेला ओलीले यो छलफल गरेका हुन् । सोमबार भएको भर्चुअल बैठक झण्डै साढे २ घण्टा चलेको थियो । ओलीले त्यो दिन अधिकांश समय भर्चुअल बैठकमा सहभागीका कुरा सुनेका थिए ।

सोक्रममा उनले आफूले सक्रियता, इमान र विचारले कहिल्य पनि पार्टीको शिर निहुरिन नदिने प्रष्ट पारेका छन् ।

एक जिल्ला अध्यक्षका अनुसार ओलीले अहिलेको परिस्थितिमा आफूले नेतृत्व नछाड्ने बताएका छन् । ओलीले भने, ‘जबसम्म म सक्छु, नसक्ने भएपछि छोड्दिन्छु म ।’

आसन्न सचिवालय र केन्द्रीय कमिटी बैठकमा छलफल गरी पार्टीको योजना ठोस रूपमा अघि बढाउने उनको भनाइ थियो । नेतृत्व परिवर्तनको कुरा वैधानिक फोरमबाटै हुने भन्दै उनले महाधिवेशनतर्फ ईंगित गरेको ती अध्यक्षले सुनाए ।

ओलीले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार असंवैधानिक भएको बताएका छन् । ‘संविधानबाहिरबाट बनेको सरकारले चुनाव गराउँछ भन्ने विश्वसनीय आधार छैन’, उनको भनाइ थियो ।

जिल्ला अध्यक्षहरूले महाधिवेशन छिटो गर्न सक्ने अवस्था नरहे राष्ट्रिय कार्यकर्ता भेला तत्काल गर्नुपर्ने सुझाव पनि दिएका छन् । विधान महाधिवेशन भइसकेकाले राष्ट्रिय महाधिवेशनमै जानुपर्ने धेरैले सुझाव दिएका छन् । केहीले नेतृत्व हस्तान्तरण, पुस्तान्तरण तथा पुनर्गठनका साथ पार्टी जनतामाझ जानुपर्ने पनि सुझाव दिएका छन् ।

छलफलमा सहभागी एक अध्यक्षले भने, ‘केहीले संसद पुन:स्थापना हुने विश्वसनीय आधार नहुँदा चुनावको तयारीमा लाग्नुपर्ने सुझाव दिएका छन् ।’

पार्टीलाई एक ढिक्कासाथ अघि बढाउँदै कार्यकर्तालाई उच्च मनोबलकासाथ लैजानुपर्ने पनि सुझाव आएको थियो । जेन-जी आन्दोलनमा विदेशी शक्ति र आपराधिक समूहको घुसपैठ भएको प्रष्ट देखिएको भन्दै तलतल कार्यकर्तामाझ यो कुरा पुर्‍याउनुपर्ने पनि छलफलमा कुरा उठ्यो ।

कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले पार्टीमा एकता भए अरुले केही गर्न नसक्ने सुझाव दिएको बताए ।

‘अहिले पार्टीभित्रै केही न केही समास्या छ । यसले पनि तलसम्म कार्यक्रमहरू लैजान समस्या परेको छ । तत्काल तल्लसम्म जोड्ने किसिमको कार्यक्रम तय गरिनुपर्ने सुझाव दिएको छु । मिसन ग्रासरुट जस्ता अभियान लिएर जनतामाझ जाने हो भने फेरि एमालेलाई चलायमान बनाउन सकिन्छ’, उनले भने ।

आफूले संसद पुन:स्थापनाका लागि लाग्न सुझाव दिएको खतिवडाले बताए ।

एमाले मोरङका अध्यक्ष अजम्बर राई पनि आफूले एक ढिक्कासाथ पार्टीलाई लैजानुपर्ने सुझाव दिएको बताए ।

उनले भने, ‘पार्टी बलियो बनाउनका लागि एकता आवश्यक छ । त्यसका लागि अध्यक्षले नै भूमिका खेल्नुपर्छ आन्तरिक एकता नभएसम्म चुनावमा जानुको अर्थ छैन । त्यता ध्यान दिऊँ, सबै लागौं भनेर सुझाव दिएँ । अरुले पनि यस्तै कुरा दोहोर्‍याउनुभयो ।’

एमालेमा ओलीकै नेतृत्व कि हस्तान्तरण वा पुस्तान्तरण भन्ने तीनखाले बहस भइरहेका छन् ।

विधान महाधिवेशन सम्पन्न भइसकेकाले अब जतिसक्दो चाँडो ११ औं महाधिवेशन आयोजना हुने केन्द्रीय सदस्य तथा संगठन विभाग सचिव माधव ढुंगेल बताउँछन् । विधान महाधिवेशनले नीति बनाउने काम गरिसकेकाले अब नेतृत्वको लागि एघारौं महाधिवेशन हुने उनको भनाइ छ ।

एमाले स्रोतका अनुसार चाँडोमा मंसिरदेखि ढिलोमा फागुनभित्र महाधिवेशन आयोजना हुनेछ । फागुन २१ मा चुनाव हुने भनिएकाले मंसिर वा पुसभित्र महाधिवेशन आयोजना गर्न सकिने नेताहरूको भनाइ छ । पार्टी केन्द्रीय कमिटीमा महाधिवेशनको मिति प्रस्ताव गर्नेबाहेक अन्य ठूलो निर्णय ओलीबाट नहुनेमा नेताहरु पनि मानसिकरूपमा तयार नै देखिन्छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *