
काठमाडौं । पछिल्लो पटक आएको बाढी पहिरोको कारण देशभरका २९ जलविद्युत आयोजनाहरूमा क्षति भएको छ । सञ्चालनमा रहेका र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत आयोजनामा बाढी पहिरोले क्षति पुर्याएको हो ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अनुसार निर्माणाधीन अवस्थामा रहेका १५ वटा जलविद्युत आयोजनाहरूको निर्माण सामाग्री बगाउनुका साथै हेडबक्स, एक्सेस रोड, पावर हाउसमा क्षति पुगेको छ ।
क्षतिग्रस्त निर्माणाधीन जलविद्युत आयोजना इलाम, पाँचथर, सिन्धुपाल्चोक, रसुवा, भोजपुर, म्याग्दी, लमजुङ, रामेछाप, धादिङ र मनाङका रहेका छन् । बाढीले क्षति पुर्याएका निर्माणाधीन आयोजनाहरूको उत्पादन डिले हुने इप्पानले जनाएको छ ।
हिमाल दोलखा हाइड्रोपावरको पावर हाउस, इन्टेक र सवस्टेशनमा क्षति भएको छ । जसले गर्दा यस आयोजनाको उत्पादन बन्द भएको छ । इलामकै अन्य एक दर्जन भन्दा बढी जलविद्युत आयोजनाहरूमा क्षति पुगेको छ । ती आयोजनाहरूको पनि उत्पादन बन्द रहेको छ ।
पाँचथर पावर कम्पनीको टेलरेस सुरुङ पहिरोले अवरुद्ध गरेको छ । सोलु हाइड्रोपावरको पावर हाउसको दायाँ बायाँ पहिरो गई बाटो अवरुद्ध भएको छ । ८२ मेगावाटको यस आयोजनको उत्पादन भने बन्द भएको छैन । यसबाहेक अन्य बाढीले क्षति पुर्याएका सबैजसो आयोजनाहरूको उत्पादन बन्द रहेको इप्पानले जनाएको छ ।

अविरल वर्षाका कारण ५ सय मेगावाट भन्दा बढी जलविद्युत आयोजना प्रभावित भएको छ । अपरेसनमा रहेका आयोजनाहरूमा क्षति हुँदा १८०.६६ मेगावाट विद्युत् उत्पादन ठप्प छ । यसबाहेक निर्माणाधीन आयोजनाहरूको ३३८.१३ मेगावाट विद्युत् प्रभावित बनेको इप्पानका अध्यक्ष गणेश कार्कीले जानकारी दिए ।
वर्षेणि बाढी पहिरोको चपेटामा जलविद्युत आयोजनाहरू पर्ने गरेको उनले गुनासो गरे । उनले भने, ‘हाम्रा आयोजनाहरूमा वर्षेणी क्षति हुने गरेको छ । बाढी पहिरोको मारमा जलविद्युत कम्पनीहरू नपरेको कुनै वर्ष नै छैन होला । हाम्रो लक्ष्यको वाधक नै वर्षा बन्ने गरेको छ ।’
उनले बाढी पहिरोका कारण सञ्चालनमै रहेका आयोजनाहरूको उत्पादन ठप्प भएको जानकारी दिए । निर्माणाधीन आयोजनाहरू अब बन्न वर्षौँ लाग्ने समेत उनले दुखेसो पोखे ।
उनका अनुसार गएको असोजको बाढीले पनि तीन दर्जन भन्दा बढी जलविद्युत आयोजनाहरूमा क्षति पुर्याएको थियो । क्षतिग्रस्त ती कतिपय आयोजनाहरूले पुनर्निर्माण गरेर अझै पनि विद्युत् उत्पादन गर्न सकेका छैनन् ।

अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोले क्षतिग्रस्त बनेका अधिकांश जलविद्युत कम्पनीहरूको शेयरमूल्यमा पनि ‘पहिरो’ गएको छ । नेप्सेमा सूचीकृत अधिकांश जलविद्युत कम्पनीको शेयरमूल्यमा घटेको छ ।
बुधवारको कारोबारमा हिमाल दोलखा हाइड्रोपावरको शेयरमूल्य करिब ३ प्रतिशतले घटेको छ । यस दिन सानिमामाइ हाइड्रोपावरको शेयरमूल्य ३.२७ प्रतिशतले घट्दा सगरमाथा जलविद्युत कम्पनीको शेयरमूल्य ३.५३ प्रतिशतले घटेको छ ।
त्यस्तै, माइखोला हाइड्रोपावरको २.०१ प्रतिशत, सानभी इनर्जीको १.८० प्रतिशत, सामलिङ पावर कम्पनीको १.६९ प्रतिशत, पञ्चकन्यामाइ हाइड्रोपावरको ३.५३ प्रतिशत, पिपुल्स पावर लिमिटेडको २.७ प्रतिशत, जोशी हाइड्रोपावरको २.१६ प्रतिशत र ग्रिन भेञ्चर्सको २.८१ प्रतिशतले घटेको छ ।

Leave a Reply