
बझाङ । पछिल्ला केही वर्षयता बझाङ जिल्लामा खेलकुदको वातावरण तीव्र गतिमा फैलिँदै गएको छ ।
गाउँ–गाउँमा युवाहरूको ऊर्जा अब केवल सांस्कृतिक नाच–गानमा सीमित छैन, खेल मैदानमा जोस, प्रतिस्पर्धा र उत्साहको रूपमा प्रकट भइरहेको छ । स्थानीय मेलादेखि चाडपर्वसम्म अब खेलकुद स्थायी अंशजस्तै बनेको छ । सबैले खेललाई आफ्नै तरिकाले आयोजना गर्न थालेका छन् ।
बझाङका विभिन्न गाउँ–गाउँमा लाग्ने परम्परागत मेलामा अहिले खेलकुद अनिवार्य बनेका छन् । सुर्मा गाउँपालिका–४ मा साउन २० गते लाग्ने सुर्मा देवी बिरिजात मेलामा महिला र पुरुष दुवै समूहका लागि भलिबल प्रतियोगिता सम्पन्न भयो । भदौ १४ गते मष्टा गाउँपालिका–५ मा लाग्ने सिउरो मेलामा पनि महिला तथा पुरुष भलिबल प्रतियोगिता आकर्षक बनेको थियो ।
त्यसैगरी भदौ १८ गतेदेखि दुर्गाथली र छविसपाथिभेरा गाउँपालिकाको सिमानास्थल विसौनाचौरमा लाग्ने ऐतिहासिक विर्सती मेलामा पनि धार्मिक आस्थासँगै खेलकुदको रङ्ग मिसिएको थियो । महिला र पुरुष दुवै समूहबीच भएको भलिबल प्रतिस्पर्धाले दर्शकहरूमा एकता र उत्साहको वातावरण सिर्जना ग¥यो ।
अहिले त झन् दशैंको अवसरले त बझाङलाई खेलमय बनाइदिएको छ । जयपृथ्वी नगरपालिका–६ नौरामा पुरुष खुल्ला क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । थलारा गाउँपालिकाको खोलीमा असोज १२ गतेदेखि महिला र पुरुष दुवै समुहबीच भलिबल प्रतियोगिता सम्पन्न भयो ।

यसैगरी, वित्थडचिर गाउँपालिकाको माथिल्लो वित्थडमा राष्ट्रिय युवा सङ्घ नेपाल वित्थडचिर गाउँ कमिटीको आयोजनामा असोज १९ गतेदेखि वडास्तरीय पुरुष क्रिकेट प्रतियोगिता धमाधम भइरहेको छ । तलकोट गाउँपालिकामा पनि असोज १६ गतेदेखि महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ, जसले स्थानीय खेलप्रेमी युवाहरूलाई उत्साहित बनाएको छ ।
खप्तडछान्ना गाउँपालिका–७ गोरखालीमा त दशैं र तिहार दुवै पर्वलाई जोडेर असोज २९ गतेदेखि खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु हुने तयारी छ । यसले गाउँका युवाहरूलाई खेलमा आकर्षित गर्दै सामाजिक एकताको सन्देश फैलाउने अपेक्षा गरिएको छ ।
बझाङ जिल्ला बुद्धिचाल संघको आयोजनामा पहिलोपटक जिल्ला व्यापी खुला बुद्धिचाल प्रतियोगिता असोज २१ गते आजदेखि सदरमुकाम चैनपुरमा सुरू भएको छ । सङ्घका अध्यक्ष राकेश सिंहका अनुसार यो प्रतियोगिता सदरमुकाम चैनपुरमा देवीथान मेलाको अवसरमा आयोजना गरिएको बताए ।
उनले भने, ‘बुद्धिचाल मानसिक खेल हो, यसले जिल्लाका युवामा बौद्धिक चेतना र एकाग्रता विकास गर्न ठुलो योगदान पु¥याउने अपेक्षा गरेका छौ ।’

यस्ता गतिविधिहरूले बझाङमा खेलकुदको उत्साह बढाइरहे पनि खेल संरचना भने अझै पनि थला परेको छ । जिल्लामा व्यवस्थित खेलमैदानको अभाव यथावत् छ । कतै खेत भाडामा लिएर त कतै विद्यालयका मैदान प्रयोग गर्नुपर्ने बाध्यता अझै कायम छ ।
जिल्ला क्रिकेट सङ्घका अध्यक्ष प्रविन्द्र धामीले भने, ‘जिल्लामा खेलाडी र खेलप्रेमी युवाको कमी छैन, तर खेलमैदान र पूर्वाधारको समस्या समाधान नभएसम्म हामीले ठुलो स्तरको प्रतियोगिता आयोजना गर्न सक्दैनौ ।’
धार्मिक, सांस्कृतिक र भौगोलिक विविधताका बीचमा पनि बझाङका युवाले खेललाई आफ्नो पहिचानको माध्यम बनाउन थालेका छन् । मेलाका रौनकमा खेल जोडिँदा परम्परा नयाँ रूपमा जीवित रहने र युवामा उत्साह जाग्ने पत्रकार रमेश केसीले बताए ।
खेलकुदका लागि पूर्वाधार नभए पनि पछिल्लो समय बझाङमा खेलकुदका साना ठुला कार्यक्रम आयोजना हुँदै आएका छन् ।

Leave a Reply