पालिका नजाने प्रमुख प्रशासकीय अधिकृतलाई ७ दिनभित्र पठाउन रमाना दिन ताकेता

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा खटाइएका तर हालसम्म हाजिर हुन नआएका प्रमुख प्रशासकीय अधिकृतलाई सात दिनभित्र पठाउन सम्बन्धित मन्त्रालय, आयोग, सचिवालय र निकायलाई ताकेता गरेको छ ।

मन्त्रालयले सोमबार सार्वजनिक गरेको ताकेता पत्रमा स्थानीय तहका कामकाज प्रभावित भएको भन्दै तत्काल व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

पत्रमा भनिएको छ, ‘स्थानीय तहमा कामकाज गर्न खटाइएका प्रमुख प्रशासकीय अधिकृतमध्ये केही अझै पनि हाजिर हुन नआएपछि स्थानीय तहको नियमित कामकारवाहीमा असर परेको छ।’

मन्त्रालयले यसअघि भदौ ३१ गते पनि हाजिर नभएका अधिकारीलाई निजामती सेवा ऐन, २०४९ र नियमावली, २०५० अनुसार रमाना दिई पठाउन निर्देशन दिएको थियो । तर निर्देशन कार्यान्वयन नभएपछि मन्त्रालयले पुनः आज मंगलबारको निर्णयमार्फत सात दिनको समयसीमा तोकी ताकेता गरेको हो ।

पत्रमा थप भनिएको छ, ‘स्थानीय तहको नियमित प्रशासनिक कामसँगै प्राकृतिक विपत्तिका कारण सृजित अवस्थाको व्यवस्थापनमा समेत कठिनाइ भएको भनी विभिन्न स्थानीय तहबाट गुनासो प्राप्त भएको छ।’ मन्त्रालयका शाखा अधिकृत भविन्द्र कार्कीले हस्ताक्षर गरेको उक्त पत्र सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मन्त्रालय, आयोग, सचिवालय र सम्बन्धित निकायमा पठाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *