माओवादीको जोड- पार्टी एकताबद्ध बनाउने, महाधिवेशनको मिति कार्यविधि बनेपछि मात्रै तोक्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले कार्यविधि बनेपछि महाधिवेशन मिति तोक्ने बताएका छन् ।

सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता अग्नि सापकोटाले महाधिवेशनको कार्यविधि बनाउने र आयोजक समिति निश्चित गर्ने काम भइसकेपछि महाधिवेशनको मिति तोक्ने उनले बताए ।

हालै बसेको केन्द्रीय समिति बैठकले माओवादीले मंसिरको अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

प्रवक्ता सापकोटाले भने, ‘महाधिवेशन आवश्यक वैचारिक राजनीतिक र सैद्धान्तिक छलफल भइरहेको छ। क्रान्तिकारी कम्युनिस्टहरूमाथि चुनौती खडा भएको छ। विचार, सङ्गठन र कार्यदिशालाई पनि नयाँ शिराबाट उठाउनुपर्नेछ। चुनौतीमात्रै होइन हामीलाई रूपान्तरणको लागि यो अवसर पनि हो ।’

समग्र छलफल, बहस र रूपान्तरण गर्नको लागि अहिले राम्रो वातावरण बनेको जिकिर गरे । उनले थपे, ‘पार्टीलाई एकताबद्ध गर्दै समाजवादी मोर्चालाई विस्तार र विचार मिल्नेहरूसँग एकता गर्ने गरी अघि बढेको छौँ । यो चुनौती मात्रै होइन, अवसर पनि हो।’

उनले पार्टी एकताबद्ध भएर अघि बढ्ने बताए ।

यी हुन् हालै बसेको केन्द्रीय कमिटी बैठकमा महाधिवेशन प्रतिनिधि छान्न अध्यक्ष प्रचण्डले राखेको प्रस्ताव-

१. प्रत्येक पालिका र शाखाहरूबाट एक-एक जना ।

२. जिल्ला र महाशाखाहरूबाट पार्टी सदस्य संख्याको आधारमा प्रतिनिधित्वको व्यवस्था गर्ने । जसमा १००० सदस्य बराबर एक जना प्रतिनिधित्व हुनेछ। सदस्य संख्याका आधारमा प्रतिनिधि चयन गर्दा प्रति तीन जनामा एकजना महिला प्रतिनिधि हुनुपर्ने । हरेक जिल्लाबाट एकजना दलित र एकजना युवाको प्रतिनिधित्व अनिवार्य गराउने । जिल्ला र महाशाखाहरूबाट थप एक एक जना जेनजी समूहको प्रतिनिधित्व रहने ।

३. सात वटा भौगोलिक प्रदेशहरूबाट २५ जनाका दरले प्रतिनिधित्व गराउने । हरेक प्रदेशबाट सात जना महिला, दुई जना दलित र एक जना युवाको अनिवार्य प्रतिनिधित्व हुनुपर्ने । गैर भौगोलिक दश जनामध्ये तीनजना महिला एकजना दलित एक जना युवा अनिवार्य हुनुपर्ने । प्रवासका तीनवटा प्रदेशहरूबाट सात जनाका दरले प्रतिनिधित्व हुनुपर्ने । यसमा दुई जना महिला र एकजना युवाको अनिवार्य प्रतिनिधित्व हुनुपर्ने ।

४. हरेक विभागबाट दुई दुईजना प्रतिनिधि रहनेछ ।

५. सबै आयोगहरूबाट १०/१० जना प्रतिनिधि रहनेछ ।

६. ज्येष्ठ कम्युनिस्ट मञ्च र केन्द्रीय सल्लाहकार परिषद्को तर्फबाट १०र१० जना प्रतिनिधित्व रहने ।

७. केन्द्रीय कार्यालयबाट १० जना प्रतिनिधित्व रहने ।

८. केन्द्रीय तहका जन वर्गीय संगठनबाट एक महिला अनिवार्यसहित दुई दुई जना, जातीय तथा क्षेत्रीय मोर्चाहरूबाट १र१ जना, केन्द्रीयस्तरका प्रतिष्ठान, फाउन्डेसन, समाज, सामाजिक संगठनबाट १, १ जना र पार्टीको सहायक सङ्गठन (वाइसिएल)बाट ५ जना प्रतिनिधित्व रहने ।

९. केन्द्रीय सचिवालयले ५ प्रतिशतमा नबढ्ने गरी मनोनयन गर्न सक्ने ।

१०. संयोजक लगायत आयोजक समितिका सम्पूर्ण सदस्यहरू माथि निर्धारित प्रतिनिधि क्षेत्रबाट निर्वाचित हुनुपर्नेछ । आयोजक समितिको कुनै सदस्य चुनिन नसकेको अवस्थामा आयोजक समिति सदस्यका रूपमा चुन्न र चुनिनेबाहेक महाधिवेशनका सम्पूर्ण गतिविधिमा सहभागी हुनेछन्।

११. सबै प्रदेश समितिहरू प्रदेश अधिवेशन आयोजक समितिमा रूपान्तरित हुनेछन्, प्रदेश अध्यक्षले संयोजकको भूमिका र पदाधिकारीहरू अधिवेशन आयोजक समिति सचिवालयको भूमिकामा रहने ।

यी प्रस्तावमाथि पार्टीमा छलफल भइरहेकाले दुई दिनपछि बस्ने सचिवालय बैठकले महाधिवेशनबारे आवश्यक धेरै निर्णय लिने प्रवक्ता सापकोटाले बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *