नेपालबाट मनसुन बाहिरिन सुरू, पानी पर्ने सम्भावनाबारे के भन्छन् मौसमविद् ?

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आजदेखि मनसुन बाहिरिन सुरू गरेको बताएको छ ।

हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारण बादल लागेको र ती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

विभागका अनुसार यस वर्षको मनसुन सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भू-भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू-भागको थोरै स्थानहरूबाट बाहिरिसकेको छ ।

मनसुनी वायु कमजोर हुँदै गइरहेको हुनाले नेपालको बाँकी भू-भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको विभागका सूचना अधिकारी दिनकर कायस्थले बताए ।

तर, पश्चिमी वायुको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली, पहाडी र तराईका भू-भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।

कृषि र पर्यटन क्षेत्रमा आंशिक प्रभाव हुन सक्ने भएकोले सतर्कता अपनाउन साथै मौसमसम्बन्धी सूचना तथा पूर्वानुमानको अध्यावधिक जानकारी लिन पनि मौसमविद्ले आग्रह गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *