
समयले कसलाई कहाँ पुर्याउँछ ?
सत्ताको शासनबाट कहिल्यै झर्नु पर्दैन भन्नेजस्तो दम्भ गर्ने केपी ओली गुण्डुतिर शरणागत भएका छन् । र, कहिल्यै नाम नसुनेको, अनुहार नदेखेको सुधन गुरुङ ओलीको दम्भलाई पनि ओझेलमा पार्ने ढंगले सक्रिय छन्।
यतिबेला जेन-जी विद्रोहपछि प्रधानमन्त्री बनाइएकी सुशीला कार्कीभन्दा बढी चर्चामा छन्- सुधन गुरुङ । उनीमाथि जेन जी आन्दोलन हाइज्याक गरेको आरोप मात्र लोगेको छैन, उनको अगुवाइमा रहेको ‘हामी नेपाल’ को सन्दीग्ध गतिविविधिबारे पनि सञ्चार माध्यमले प्रश्न उठाएका छन् ।
आज म यी दुवै विषयमा प्रवेश गर्दिनँ । प्रश्न उठेसँगै ति विषयबारे सुरू भएको बहसले ढिलो-चाँडो तथ्य पनि उधिन्न सहयोग गर्नेछ भन्नेमा चाहिँ विश्वस्त छु ।
उपादेयता सकिएपछि प्रयोगकर्ताकै तर्फबाट केही तथ्य आउन पनि सक्ला ।
मलाई थाहा छैन- सुधनमा ज्ञान, योग्यता र क्षमता कति छ । उनका केही दिनका गतिविधि र बोली सुन्दा यो चाहिँ थाहा भयो कि- उनमा आक्रोश छ । र, त्योभन्दा बढी दम्भ ।
मलाई आशा छैन- ‘संविधान फाल्ने कि राख्ने भन्ने सोच्दै छु’ भन्ने मैमत्तको हदमा पुगेका सुधनले हिजो (शनिबार) का गल्ती/कमजोरीका लागि पहिले क्षमायाचना गर्ने छन् । र, भविष्यमा पनि कानून हातमा लिने कुकृत्य आफूबाट नहुने सार्वजनिक प्रतिवद्धता जनाउने छन् ।
सुधनमा देश बनाउने अभूतपूर्व हुटहुटी पनि होला । मलाई लाग्छ, हरेक नेपालीसँग त्यो हुटहुटी छ । र, ऊ हरेक क्षण सोच्छ- योभन्दा त मै राम्रो गरिदिन्छु ।
सुधनलाई लाग्दो हो- जेन-जी विद्रोहले अगाडि ल्याइहाल्यो, सेनाले पत्याइहाल्यो, सुशीला कार्कीको विश्वास जितिहालियो, अब त मै हुँ हर्ताकर्ता ।
त्यसैले त उनले सगौरव घोषणा गरेका थिए– आन्दोलन सुरूवात गर्ने म होइन, अन्त्य गर्ने चाहिँ हुँ ।
बोलीले मात्र होइन व्यवहार र शैलीले पनि भन्छ- सुधन हामी होइन म प्रधान हुन् । र, उनका पछिल्ला गतिविधिले त्यसलाई प्रमाणित गर्दै लागेको पनि छ ।
जेन-जी आन्दोलन हाइज्याक गरेको आरोप लाग्यो । उनले होइन भन्ने प्रमाणित गर्न निकै मेहनत गर्नुपर्ने छ, गरिरहेका पनि छन् । यो मेहनत निर्देशित र नाटकीय होइन भन्ने थप प्रमाणित गर्न झनै मुस्किल छ उनलाई ।
०००
हिजो (शनिबार) सुधन सहभागी भएका दुईवटा दृश्य (सामाजिक सञ्जालमा हेरेका कारण दृश्य भनेको हुँ) अलि धेरै बिझाएका कारण केही लेख्ने दबाब बढ्यो । नत्र उनले गरिखाएकोमा मलाई के को खसखस ! दुनियाँलाई बेकुफ बनाउन सक्ने क्षमताको प्रशंसक नै हुँ म ।
पहिलो दृश्यः
सुधन आफैँले सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती रहेको भिडिओ हेर्दा लाग्छ, त्यो राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक/छलफल हो । जहाँ सुधनले प्राधिकरणका कर्मचारीसहित सुरक्षा अधिकारीलाई निरन्तर निर्देशन दिइरहेका छन् । र, प्रमुख कार्यकारी अधिकृत दिनेशप्रसाद भट्टसहित प्राधिकरणका कर्मचारी असल स्रोताको भूमिकाका छन् ।
सुधनले कर्मचारीहरूलाई निर्देशन दिँदै भनेका छन्- ‘जहाँ-जहाँ मान्छे अड्केका छन्, त्यसको पहिचान हुन सकेका छैन, त्यो पहिले पहिचान हुनुपर्यो नि ! तब तपाईँहरूले यो-यो ठाउँमा मान्छे अड्किएको छ, सेल्टर बनाएर राख्दिनुपर्यो भनेर भन्न सकिन्छ, बरु राज्यले के गर्नुपर्छ त्यसमा हामी पछि हेर्दिउँला, रासनपानी के-के हुन्छ, यसो मिलाइदिनु पर्ला । किनभने, त्यहाँ खाना छैन ।’
सुधनले अगाडि भनेका छन्- ‘कम्तीमा त्यहाँ एम्बुलेन्स छ कि छैन भन्ने निर्क्यौल गर्नुपर्यो । त्यसपछि उद्धार गर्नुपर्यो ।’
उनी विपद् उद्धारका लागि प्राधिकरणसँग कति टेन्ट छ ? भनेर सोध्छन् । सशस्त्र प्रहरीलाई ‘रिलोकेसन सेन्टर’ मा पनि रासनलगायत तयारी अवस्थामा छ/छैन भनेर पनि सोध्छन् ।
उनी भन्छन्- ‘हेलिकप्टर कम्पनीहरूसँग म पनि कुरा गर्छु ।’
०००
दोस्रो दृश्यः
हिजो (शनिबार) नै सुधनले ‘अर्जेन्ट म्यासेज टू पब्लिक’ भनेर राति ९ बजेतिर सामाजिक सञ्जालमा करिब ६ मिनेटको अर्को भिडिओ सार्वजनिक गरेका छन् । जहाँ उनले बताएमध्ये दुई/तीन वटा विषय संवेदनशील छन्।
पहिलोः अहिले जनताको सरकार भएकाले कतिपय वडा र नगरपालिकाका मेयरहरूले कोअपरेशन नगरेको अवस्था छ ।
सुधनले दोस्रो भिडिओमा विपद् व्यवस्थापनमा स्थानीय सरकारले संघीय सरकारलाई सहयोग नगरेको आरोप लगाएका छन् । यो चानचुने आरोप होइन । यो आरोप पुष्टि गर्न सुधनले त के प्रधानमन्त्री सुशीला कार्की स्वयंले सक्दिनन् ।
दोस्रोः हामी बिहानैदेखि यहाँ एनडीआरआरएमए (राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा जोखिम प्राधिकरण) छौं । र, आज रातभरि नै यहाँ रहेर काम गर्छौँ ।
गृह मन्त्रालयअन्तरगत रहेको प्राधिकरणमा सुधनजस्ता नागरिकले बिहानदेखि रातिसम्म बसेर गर्ने काम के हुन्छ ? उनी न निर्देशन दिने अधिकारी हुन् वा समन्वयकर्ता । राज्यको अति संवेदनशील निकाय र त्यहाँको सूचनामा सामान्य नागरिकको सीधा पहुँच अझ त्यहाँबाट निर्देशन समेत, यो हदको लापरबाही किन भयो । र, कसले सम्भव गरायो ?
तेस्रोः नेपाल आर्मी पनि सबैजना स्ट्याण्डवाई हुनुहुन्छ । हामीले प्राइभेट हेलिकप्टरसँग पनि कुराकानी गरिसक्यौं ।
नेपाल आर्मी नै स्ट्याण्डवाई छ भन्ने सूचना एउटा मान्छेले आफ्नो फेसबुकबाट दिन्छ । अनि, आर्मी बोल्दैन । जसले जे बोले वा गरे पनि हुने हो ?
०००
हो, विपद्का बेला सरकारलाई सबैले सक्दो सहयोग गर्नुपर्छ । आफैँले बनाएको (उनकै दाबीअनुसार) ‘नागरिक सरकार’ लाई सुधनले झनै सहयोग गर्नैपर्थ्यो । तर, न प्राधिकरणको बैठक/छलफलमा गएर ठाडो निर्देशन दिने वैधानिक अधिकार उनीसँग छ, न विपद् प्राधिकरणजस्तो संवेदनशील निकायमा गएर हस्तक्षेप गर्ने वा सूचना चुहाउने नै ।
जे को जतिसुकै जस लिन खोजे पनि, प्रचार गराए पनि, अहिलेसम्म सुधनको वैधानिक हैसियत आम नागरिकको मात्र हो । एउटा नागरिकले सरकारलाई सुझाव दिन, झकझक्याउन र खबरदारी गर्न सक्छ । तर, अख्तियार प्राप्त अधिकारी जसरी सरकारी कर्मचारीलाई निर्देशन दिन वा सरकारी निकायको काममा जबरजस्त पहुँच राख्न र हस्तक्षेप गर्न सक्दैन ।
के आँटले, कसको भरथेगले सुधनले यो हिम्मत गरे, कानूनलाई हातमा लिने हिम्मत ?
हामीले विधि-पद्दति बसाउन खोजेको कि भएको पनि भाँड्न, सिध्याउन ?
एउटा लहडीले यसरी कर्मचारीको हुर्मत लिने प्रवृत्तिले हामीलाई कहाँ लैजान्छ ?
यी प्रश्नको जवाफ प्राधिकरणको विभागीय मन्त्री ओमप्रकाश अर्यालले दिने कि प्रधानमन्त्री सुशीला काकीले नै ? कि ‘नागरिक सरकार’ले हामीजस्ता नागरिकको चासो, चिन्ता र प्रश्न सम्बोधन गर्नुपर्दैन ?
सुधन आफैँले भिडिओ सार्वजनिक गरेका कारण हिजो (शनिबार) को हर्कत बाहिरिएको हो । जुन पहिलो होइन ।
मलाई थाहा छैन- सुधनमा ज्ञान, योग्यता र क्षमता कति छ । उनका केही दिनका गतिविधि र बोली सुन्दा यो चाहिँ थाहा भयो कि- उनमा आक्रोश छ । र, त्योभन्दा बढी दम्भ ।
यसअघि त्रिभुवन विमानस्थलमा गएर अध्यागमन, भन्सार र एयरलाइन्सका कर्मचारीलाई ‘निर्देशन’ दिएका थिए । वीर अस्पताल पुगेर चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकूलपति भूपेन्द्र बस्नेतलाई सुधारको योजना ल्याउन ‘निर्देशन’ दिए । र, लगत्तै बस्नेतले आफ्नो तर्फबाट लिखित निर्देशन नै जारी गरे । महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय पुगेर सचिव लक्ष्मी बस्नेतलाई ‘जुम्रा मारेर बस्ने होइन नि !’ भनेर धम्क्याएका थिए ।
खै, कुन शक्तिले हो सुधनलाई मैमत्त बनाइरहेको छ ।
मलाई आशा छैन- ‘संविधान फाल्ने कि राख्ने भन्ने सोच्दै छु’ भन्ने मैमत्तको हदमा पुगेका सुधनले हिजो (शनिबार) का गल्ती/कमजोरीका लागि पहिले क्षमायाचना गर्ने छन् । र, भविष्यमा पनि कानून हातमा लिने कुकृत्य आफूबाट नहुने सार्वजनिक प्रतिवद्धता जनाउने छन् ।
त्यसैले, यो हदको हर्कतका लागि प्रोत्साहित गर्ने सुशीला सरकारले नै सुधनलाई कानूनी राज र विधिको शासनका पक्षमा सकारात्मक सुरुआत गर्नेछ । सुशीलाले बेलैमा सुधनलाई लगाम लगाउन सकिनन् भने उनको पतनको खाडल क्रमशः सुधनले नै खन्ने छन् ।
आफू नेतृत्वको सरकार ओली सरकारको ‘महिला संस्करण’ को निरन्तरता होइन भनेर प्रमाणित गर्ने अवसर सुधनले सुशीलालाई दिएका छन् ।
सुधनले सुशीलालाई यो भन्दा ठूलो अर्को अवसर दिन सक्दैनन् । बरु सुधनलाई देश बनाउने हुटहुटी पूरा गर्ने हो भने सुशीलाले उनलाई रोजेको मन्त्री बनाइदिए हुन्छ । मन्त्री बनाउन आज संविधान कानून, राजनीति, भूराजनीति केही पनि बाधक छैन, त्यसैले कि त सुधनलाई मन्त्री बनाऊ, कि चाहिँ कानूनले नचिन्ने व्यक्तिका गैरकानूनी काममा लगाम लगाऊ ।

Leave a Reply