बाढीपहिरो र चट्याङबाट देशभर ४३ को मृत्यु, इलाममा मात्र ३७ जना

काठमाडौं । असोज १७ गतेदेखिको अविरल वर्षाका कारण देशभर ४३ जनाको ज्यान गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अद्यावधिक विवरणअनुसार मृत्यु हुनेमध्ये इलाममा मात्र ३७ जना रहेका छन् ।

प्राधिकरणका अनुसार रौतहटमा ३ जना, पाँचथरमा १ जना, खोटाङमा १ जना र उदयपुरमा १ जनाको मृत्यु भएको छ ।

यसैगरी पाँचजना हराइरहेका छन् । बेपत्तामध्ये स्याङ्जामा ४ जना खोलाले बगाएको र इलाममा १ जना पहिरोमा पुरिएको प्राधिकरणले जनाएको छ ।

घाइतेको संख्या १२ पुगेको छ । जसमा इलाममा ४ जना, भोजपुरमा ३ जना, खोटाङमा ३ जना, पाँचथरमा १ जना र मकवानपुरमा १ जना घाइते भएका छन् ।

अत्यधिक वर्षाका कारण इलामको माङसेबुङमा अलपत्र परेका २ जनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

सरकारले असोज १८ देखि २० गतेसम्म लामो दूरीका सवारी साधन सञ्चालन रोक्दै उच्च सतर्कता अपनाउन निर्देशन दिइसकेको छ । स्थानीय प्रशासनले जोखिमयुक्त क्षेत्रका परिवारलाई सुरक्षित स्थानमा सार्ने र उद्धार-राहतका लागि सुरक्षा निकायलाई परिचालन गरेका छन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *