
कैलाली ।नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज लेखराज भट्टले आफ्नो पुख्र्यौली घर आगलागीबाट ध्वस्त पारिएकोप्रति दुखी बनेका छन् । मंगलबार अत्तरियास्थित घरको प्राङ्गणमा पत्रकार सम्मेलन गर्दै उनले आगलागीले ९ देखि १० करोड रुपैयाँको भौतिक क्षति पुगेको भएको र त्यसभन्दा ठूलो चोट आफ्नो भावनामा लागेको बताए ।
‘यो घरमा युद्धका इतिहास, दुर्लभ किताब, बचपनका फोटोहरू थिए । ती सबै नष्ट भए । विश्वमै कहीं नभएका किताब पनि नष्ट भए, जसको मूल्य नै छैन, ’ भट्टले भने ।
आन्दोलनको नाममा घरमा रहेको कुकुरलाई समेत जिउँदै जलाइएको उल्लेख गर्दै उनले गहिरो पीडा पोखे ।
भट्टले आफूमाथि निराधार आरोप लगाउँदै योजनाबद्ध रूपमा आगजनी गरिएको दाबी गरे ।
‘मैले भ्रष्टाचार वा उत्पीडन गरेको प्रमाणित भए सजाय भोग्न तयार छु । तर आगो यसै क्षेत्रका मानिसले लगाएका हुन् । बाहिर वा भारतबाट कोही आएका होइनन्, ’ उनले भने, ‘चिनेको भए पनि अहिले नाम भन्नु उचित ठान्दिनँ ।’
भट्टका अनुसार घर बुवाको पैत्रिक सम्पत्तिबाट जोडिएको थियो र आमा त्यहाँ बस्दै आएकी थिइन् । घर स्व. भाइबुहारीले निर्माण गरेको भन्दै उनले दुई महिनाअघि मात्र दुई कठ्ठा जग्गा बिक्री गरेर ८० लाखभन्दा बढी ऋण तिर्नु परेको जानकारी दिए ।
‘मैले एक पैसा पनि भ्रष्टाचार गरेको छैन,’ उनले भने ।
भट्टले आन्दोलनमा संलग्न भएकामध्ये माग पूरा गर्न सडकमा आएका र तोडफोड–विध्वंस मच्चाउन आएका छुट्याएर कारबाही गर्नुपर्नेमा जोड दिए ।
‘सरकारले सहभागीमाथि कारबाही नै नगर्ने हो भने हामीले न्याय कसरी पाउने रु ’ उनले प्रश्न गरे ।
उनले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि राज्य अस्तित्वमै छ कि छैन भन्ने अवस्था सिर्जना भएको टिप्पणी गरे ।
‘राष्ट्रवादी नेतृत्वमाथि प्रहार भइरहेको छ, अहिले संविधान आइसियुमा पुगेको छ, ’ उनले भने ।
संविधानको रक्षा गर्दै आवश्यक कमी–कमजोरी सच्याउनुपर्ने बताउँदै उनले थपे, ‘हामीभित्र पनि कमजोरी छन् भने माफी मागेर जनतामाझ जान अहिले पनि प्रतिवद्ध छौँ, त्यो प्रतिवद्धता म जाहेर गर्दछु ।’
२४ गते लेखराज भट्टको श्रीमती घरमै थिइन् । काठमाडौंमा झालनाथ खनालको श्रीमतीमाथि आगो लगाइएको भन्ने थाहा पाएका केही युवाहरूले उनलाई त्यहाँबाट जोडिन सुझाव दिए । तर, उनी त्यही हुँदा हुँदै हुल आयो ।
‘म गोठमा लुके । मलाई कसैले चिन्नु भएको थिएन। सिसी क्यामेरा पहिलो फोडे ,अनि जलाउन थालेका थिए। उनले भनिन्, ‘ उहाँ (लेखराज भट्ट) लाई सामन्त भन्दै गाली गरिरहेका थिए । मेरो मरेको सासूलाई पनि गाली गर्ने अधिकार कसले दियो छानबिन गरेर कारबाही गर्नुहोला । ’
आन्दोलनकारीले जलाएको घर आफ्नो पुर्ख्यौली सम्पत्ति रहेको उनले बताइन् ।
‘दुई भाइले केही पनि कमाउनु भएन। यो पुर्ख्यौली सम्पत्ति हो । म आफै किसान हो । गाई पालिरहेकी छु, कृषि गरिरहेको छु’ उनको भनाइ थियो ,‘ससुराको सम्पत्ति जलाउनेहरूलाई कारबाही हुनुपर्छ’

Leave a Reply