
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी भएका कैलालीका स्थानीय तहको निरीक्षण गरेका छन् । जिल्लाको गोदावरी, गौरीगङ्गा र घोडाघोडी नगरपालिकामा पुगेर तोडफोड र आगजनीबाट भएको क्षतिबारे जानकारी लिएका हुन् ।

आन्दोलनबाट गोदावरी नगरपालिकामा ९ करोड ५४ लाख २६ हजार ५ रुपैयाँ, गौरीगङ्गा नगरपालिकामा ७ करोड १२ लाख २३ हजार ५ सय रुपैयाँ र घोडाघोडी नगरपालिकामा ८ करोड ५० लाख २५ हजार ७ सय २९ रुपैयाँ क्षति भएको नगरप्रमुखहरूले मुख्यमन्त्री शाहलाई जानकारी गराएका थिए । उनीहरूले संरचनामा क्षति पुगे पनि आफूहरूले सेवा दिइरहेको बताए ।

अनुगमन तथा निरीक्षणका क्रममा मुख्यमन्त्री शाहले आन्दोलनबाट भौतिक संरचनामा भएको क्षतिबाट नआत्तिएर सबै एकजुट भई अगाडि बढ्नु पर्ने बताएका थिए । “विषम परिस्थितिमा पनि जनतालाई हामीले सेवा प्रवाह गर्नै पर्दछ,” मुख्यमन्त्री शाहले भने, “पालिकाहरूले सेवा प्रवाह गरिरहनुभएको छ, धन्यवाद ।”

भौतिक संरचना निर्माण तथा प्रदेशलाई मितव्ययी बनाउन सुदूरपश्चिम प्रदेश सरकारले दश लाखभन्दा साना आयोजना कटौती तथा बैठक भत्ता, विभिन्न किसिमका छपाइ र सेमिनार–गोष्ठीमा खर्च कटौती गरेको उनले मेयरहरूलाई बताएका थिए ।
यसैगरी सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लम्कीचुहा–७ हरैयापुरमा अण्डा उत्पादन गरिरहेको एक पोल्ट्री फर्ममा अनुगमन तथा निरीक्षण गरेका छन् । विद्युत आपूर्ति कम हुँदा गत राति उक्त पोल्ट्री फर्मका १२ हजार कुखुरा मरेका र जसबाट करोडौँको क्षति भएको पीडित दुर्गा बोहराले बताएका छन् । मुख्यमन्त्री शाहका साथमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा पनि अनुगमन तथा निरीक्षणमा सहभागी थिए ।

उनीहरूले किसानको समस्या सम्बोधन गर्ने समेत बताएका थिए ।

Leave a Reply