देउखुरीको बधिया भालेलाई व्यावसायिक बनाएका उद्यमी कमल

रुपन्देही । दाङको देउखुरी क्षेत्रमा पुग्दा मासांहारीले मुखमा झुण्ड्याउने विषय हो बधिया भालेको मासुको स्वाद । एकपटक यसको प्रयोग गरेकाले खोजीखोजी खाने गर्दछन् । पहिले थारु समुदायमा मात्रै बढी प्रचालनमा रहेको यो अहिले अधिकांश मासांहारीको रोजाईमा पर्न थालेको छ ।

पहिले सीमित व्यक्तिले मात्रै पाल्ने बधिया भाले अब भने व्यावसायिकरुपमा नै सुरु हुन थालेको छ । तर धेरैलाई यो कसरी बनाइन्छ ? भन्ने विषयमा नै जानकार भने नहुनसक्छ ।

कुखुरालाई परिवार नियोजन गरेर बनाइने हो बधिया । कुखुराको भालेमा बन्ध्याकरण गरेर यसलाई पालेर राखिन्छ । यसैकोव्यावसायिक थालनी गरेका हुन् दाङको लमही नगरपालिका वडा नम्बर ५ लमही निवासी कमलजंग सिंह ठकुरी । त्यसो त ठकुरी यहाँको नयाँ उद्यमी भने होइनन् । लामो समयदेखि देउखुरी उद्योग वाणिज्य संघमा रहेका अहिले अध्यक्षको जिम्मेवारीमा छन् । उनको धेरै व्यावसायिकव्यावसायिक प्रतिष्ठानसँग सहकार्य हुन्छ त्यो कारणले पनि यसको प्रचार बढी हुन थालेको धेरैको आंकलन छ । कुखुराको भालेको अण्डकोष निकालेर बन्ध्याकरण गर्ने अभ्यासलाई अहिले उनले व्यावसायिक रूपमै अगाडि बढाएपछि चर्चासँगै कमाई पनि राम्रै हुन थालेको बताउँछन् ।

भाले कुखुरालाई दुई महिना अर्थात् आठ हप्ताको हाराहारी पुग्दा बधिया बनाइन्छ र १० महिना पुग्दा बिक्रीको लागि योग्य हुन्छ । सामान्यतया भाले बास्न थालेको दुई हप्तामै बधिया बनाउने गरिन्छ । व्यवसायी ठकुरीका अनुसार बधिया कुखुरामा बोसो बढी लाग्ने भएकाले यसको मासु स्वादिलो, नरम र रसिलो हुन्छ । उनका अनुसार देउखुरीमा लोकल भालेको मूल्य ७–८ सय रुपैयाँ मात्र भए पनि प्रतिबधिया भाले ४ हजार रुपैयाँमा बिक्री हुने गरेको छ । उनले भने, ‘बधिया भालेको मासु बाक्लो, नरम र रसिलो हुन्छ । खानेकुरामा फरक स्वाद चाहने मानिसका लागि यो विशेष आकर्षण हो ।’

यसरी हेर्दा कुखुराको बन्ध्याकरणको अभ्यास सामान्य परम्परागत सीपभन्दा धेरै अघि बढेर अहिले व्यावसायिक बजार विस्तारमा बदलिएको छ । ग्रामीण क्षेत्रमा चल्दै आएको बधिया बनाउने अभ्यास अहिले शहरी बजारको स्वाद र विशेष उपहार संस्कृतिसँग जोडिएको छ ।

कुखुराको परिवार नियोजन भन्ने विषय सुन्दा अनौठो लागे पनि यसको व्यावसायिक महत्व ठूलो छ । मासुको उत्पादन बढाउनुका साथै बजारमा विशेष मूल्य पाउने भएकाले व्यवसायीहरू यसतर्फ आकर्षित भएका छन् ।

भालेको पछाडिको करङमा शल्यक्रिया गरी अण्डकोष निकाल्दा भालेको शिर पोथीको जस्तो हुने र बास्ने भालेको अण्डकोष निकाल्दा बास्न छाड्ने गरेको ठकुरीको भनाइ छ । भालेको बन्ध्याकरण गर्दा मासुको उत्पादन बढी हुने गर्दछ । बधिया भाले पालन गर्ने ठकुरीले कुखुराको परिवार नियोजन गर्दा मासु एक इन्चसम्म बाक्लो हुने र तौल पाँचदेखि सात किलोसम्म बढ्ने अनुभव सुनाए ।

पहिले कुखुराको अण्डकोष निकाल्न निकै समस्या भए पनि अहिले सजिलै बन्ध्याकरण गर्न सकिने अवस्था आएको उनको भनाइ छ । सुरुवाती दिनमा केही कुखुरा मरे पनि अहिले शल्यक्रिया सफल हुने गरेको उनी बताउँछन् ।

कुखुराको शल्यक्रियापछि चिल्लो हुँदै जाने, यौन क्षमता कमजोर हुँदै जाने र बास्ने क्षमता हराउने ठकुरीको तर्क छ । उनका अनुसार स्थानीय प्रजातिका कुखुरामा मात्र अण्डकोष निकाल्न सम्भव हुन्छ । पहिले रहरका लागि गरिएको यो अभ्यास अहिले अनुसन्धानमूलक र व्यावसायिक रूपमा फैलिएको छ । ‘पहिले यसलाई पाहुना र सुत्केरीलाई खुवाउने भनेर पाल्ने गरिन्थ्यो तर अहिले सबैतिर माग बढ्यो, त्यसैले मैले यसलाई व्यावसायिक रुपमै अघि बढाएको हो’ उनले भने ।

बधिया भालेकै पकेट क्षेत्रका रूपमा देउखुरी चिनिन्छ । जिउँदो कुखुराको शरीर चिरेर बधिया बनाउने परम्परा स्थानीय समुदायले लामो समयदेखि चलाउँदै आएका हुन् । यही कारण देउखुरीलाई बधिया भालेको शहर पनि भनिन्छ । बजार विस्तारलाई प्राथमिकता दिइँदै आएको छ । मासुका पारखीले चाहेमा देउखुरीबाहिर पनि बधिया भाले सहजै पाउन सकिने र अहिले पोखरा, काठमाण्डौबाट धेरै माग आउन थालेको ठकुरी बताउँछन् ।

‘अहिले यहाँ आउने त खोज्ने कुरा भयो तर पोखरा, काठमाण्डौ सबैतिरबाट थोकमा अर्डर हुन थाल्यो’ उनले भने –‘अब यसलाई व्यवसायकै रुपमा अघि बढाउन थालेँ, अहिले किसानले पनि राम्रो मूल्य पाएका छन्, पहिले २ हजार मूल्य थियो अब ४ हजार पुगेको छ । बजारको समस्या छैन ।’

बोकालाई खसी बनाए जस्तै लोकल कुखुराको खसी रूप हो, बधिया भाले । देउखुरीमा उत्पादन भएको बधिया भाले काठमाडाै‌ं, चितवन, पोखरा लगायत ठूला शहरका रेस्टुरेन्टहरूले ‘यहाँ बधिया भाले पाइन्छ’ भनेर प्रचार गरेका देखिन्छन् ।

कतिपय वितरक र रेस्टुरेन्टहरूले सामाजिक सञ्जाललाई प्रचारको माध्यम बनाएपछि पछिल्ला वर्षहरूमा बधिया भालेको माग झनै बढेको व्यवसायी ठकुरीको भनाइ छ । उनका अनुसार बधिया भालेको माग काठमाडाैं, पोखरा, चितवन लगायत स्थानबाट अर्डर अनुसार पुर्‍याइँदै आएको छ ।

‘मैले लमहीमा होटल नै चलाएको छु, हाम्रोमा पहिल्यैदेखि नै बधिया भालेको माग थियो । तर आज सामाजिक सञ्जाल र विशेषगरी मेला महोत्सवले बजार अझै विस्तार गरिदिएको छ, सबैतिर चासोसँगै माग बढेको छ’ ठकुरी भन्छन् ‘विभिन्न जिल्लाबाट बधिया भालेको अर्डर आउँछ । धेरैलाई त किसानले घरमै पुर्‍याइदिन्छन् । लोकल कुखुरा जहाँ पनि पाइन्छ, तर बधिया भाले विशेष भएकाले यसको आकर्षण बढी छ ।’

ठकुरीले बुह्रान बहुउद्देश्यीय कृषि फर्म दर्ता गरेर लमही नगरपालिका वडा नम्बर ६ लंगडीमा आफ्नै ३० कठ्ठा जग्गामा विगत ६ वर्षदेखि निरन्तर व्यावसायिक रूपमा बधिया भाले पालन गर्दै आएका छन् ।

उनले भने ‘देशका विभिन्न भाग डुलेका र बुझेका कैयौँ ग्राहक बधिया भाले खोज्दै आउनुहुन्छ । नेपालमा बधिया भालेको पहिचान देउखुरी, बाँके र बर्दियासँग अलि बढी नै जोडिन्छ । एकपटक स्वाद लिएकाले यसलाई धेरै खोजेको पाइएको छ ।’ ‘यहाँ आउने ठूला मान्छेलाई पछिल्लो समयमा बधिया उपहार दिने चलन बढ्दो छ । सामाजिक सञ्जालको चलनले यसको बजार विस्तारमा ठूलो सहयोग पुगेको छ । धेरैजसो उच्च ओहदाका अधिकारीहरूले किन्ने गरेको पाइन्छ । सार्वजनिक समारोहमा समेत बधिया भाले उपहार दिने चलन बढेको छ । मेरो पनि यसरी नै बजार बिस्तार भएको हो’ उनले भने ।

पछिल्ला वर्षहरूमा देउखुरीको बधिया भालेको चर्चा चुलिए पनि पारखीहरूमाझ यसको छाप पुरानै छ । फर्म दर्ता गरेरै ६ सय जति कुखुरा पालेको उनले जानकारी दिए । ’खोरमा बधिया भाले भरिभराउ छन् । अहिले ५ वटा लोकल भाले छन् भने पनि लोकल बेचिँदैन । बधिया बनाएरै बेच्ने गरिएको छ’ उनी भन्छन् । उनका अनुसार दाङका ठूला होटेलहरूमा पनि बधिया भालेको माग बढ्दो छ । जिल्ला बाहिरबाट त अत्यधिक माग आउँछ ।

ठकुरीले भने, ‘आफ्नो किताब बेच्दै दाङ पुगेका बेला राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनलाई बधिया भाले उपहार दिइएका थियौँ ।’ नेपालमा कुखुरालाई बधिया बनाउने चलन थारु समुदायबाट सुरु भएर बिस्तारै अरू समुदायले सिकेको पाइन्छ । आज यो चलन थारु समुदायमा मात्र सीमित छैन ।उनले भने, ‘यो वर्ष मात्र मैले ६ सयवटा बधिया भाले बनाइसकेको छु । यसलाई व्यावसायिक रूपमै अघि सारेको छु ।’

ठकुरीजस्ता व्यवसायीहरूको प्रयासले परम्परागत सीपलाई आधुनिक व्यावसायिक कृषि क्षेत्रमा बदलिएको छ । यसले ग्रामीण सीपलाई पहिचान दिनुका साथै स्थानीय उत्पादनलाई राष्ट्रिय बजारसम्म पुर्‍याएको छ । उद्योग वाणिज्य संघ लमहीका अध्यक्षसमेत रहेका ठकुरी स्वयम् ६ वर्षदेखि निरन्तर बधिया भाले पालिरहेको देखेपछि अहिले स्थानीयले पनि यसको संख्य बढाउन थालेका छन् ।

बजारमा ५ हजारभन्दा धेरैको संख्यामा माग आएपछि उत्पादन हुन नसकेको टकुरीको भनाइ छ । बजारको ग्यारेन्टी भएको र मूल्य पनि राम्रो भएकाले अब किसानले यसमा ध्यान दिनुपर्ने उनको सुझाव छ ।

त्यसैले देउखुरीमा बधिया भाले बनाउने चलन निकै बढेको छ । परम्परागत रूपमा थारु समुदायमा बधिया भाले बनाउने चलन छ । तर कहिलेदेखि सुरु भएको भन्ने तथ्य भने प्रष्ट छैन । परापूर्व कालदेखि नै बनाउने गरेको त्यहाँस्थित पत्रकार शिवु खनाल बताउँछन् । बधिया भालेको बढ्दो मागसँगै यसको बजार विस्तार अझै फराकिलो बन्दै जाने निश्चित देखिएको र यसले स्थानीय अर्थतन्त्रमा समेत ठूलो योगदान पुर्‍याउने सम्भावना बोकेको उनको बुझाई छ ।

बधिया भालेको परम्परा थारु समुदायसँग सुरु भए पनि अहिले विभिन्न समुदायका किसानहरूले यसलाई आत्मसात् गरेका छन् । यसको लोकप्रियताले मात्र नभई मूल्यले पनि किसानलाई आकर्षित गरेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *