
काठमाडौं । गत भदौ २३ र २४ गते देशभरका विभिन्न कारागारबाट भागेका कैदीबन्दीलाई पुनः पक्राउ गर्न कारागार व्यवस्थापन विभागले ‘फरार बन्दी खोजी तथा पक्राउ कार्यदल’ गठन गरेको छ ।
गृह मन्त्रालयको निर्देशन अनुसार फरार कैदीबन्दीलाई तत्काल कारागारमा फर्काउन ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सुरक्षा निकाय र अन्य प्रतिनिधि रहनेगरी कार्यदल गठन गरिएको विभागले जनाएको हो ।
विभागका अनुसार कार्यदलले भागेका कैदीबन्दीहरूलाई खोजी गर्ने, नियन्त्रणमा लिने र कारागारमा फर्काउने काम गर्नेछ भने फर्किन बाँकी कैदीबन्दीको नामावली यही असोज २० गतेसम्म सार्वजनिक गरिनेछ । यस अवधिमा कारागार नफर्किएमा कारागार ऐन, २०७९ अनुसार कारवाही प्रक्रिया अघि बढाइनेछ ।
कैदीबन्दी नफर्किएमा विद्यालय, क्याम्पस, टोल, क्लब, सार्वजनिक सवारी साधन, बसपार्क, मनोरञ्जन स्थल र सीमा नाका लगायतका विभिन्न स्थानमा कैदीबन्दीको नामावली पठाई सघन खोजतलास गरिने छ ।
विभागले भागेका कैदीबन्दीबारे सूचना वा जानकारी भएमा कार्यदल वा सुरक्षा निकायलाई टेलिफोन वा ईमेलमार्फत जानकारी गराउन सर्वसाधारणलाई आह्वान समेत गरेको छ ।
फरार कैदीबन्दीलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिलाई समेत प्रचलित कानूनबमोजिम कारवाही गरिने जनाइएको छ ।
त्यसका लागि गृह मन्त्रालय, कारागार व्यवस्थापन विभाग, सुरक्षा निकाय, अध्यागमन विभाग, प्रमुख जिल्ला अधिकारी र अन्य सरोकारवाला निकायबीच समन्वय भइरहेको विभागले जनाएको छ ।
जसमा प्रमुख जिल्ला अधिकारीले कार्यदलको रेखदेख, समन्वय र परिचालन गर्ने, गृह मन्त्रालय, सुरक्षा तथा समन्वय महाशाखालाई नियमित रूपमा जानकारी गराउने कार्य गर्नुपर्नेछ ।
कारागार व्यवस्थापन विभागले प्रमुख जिल्ला अधिकारी, पक्राउ तथा खोजी कार्यदल र सम्बन्धित निकायसँग समन्वय गर्ने, फरार कैदीबन्दीको अध्यावधिक विवरण केन्द्रीय तहमा गृह मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, राहदानी विभाग, अध्यागमन विभाग, वैदेशिक रोजगार विभाग, सञ्चार माध्यम लगायतका निकायमा पठाउनुपर्नेछ भने प्राप्त विवरणलाई विभागको प्रणालीमा अध्यावधिक गर्नुपर्नेछ ।
विभागले यस कार्यलाई नेपाल सरकारको कारागार व्यवस्थापन सुदृढीकरण गर्ने प्रयासको एक महत्वपूर्ण हिस्सा भएको जनाएको छ ।

Leave a Reply