
काठमाडौं । अहिले सामाजिक संजालमा एउटा भिडियो फुटेज सार्वजनिक भएको छ, जसमा मंगोल अनुहारका एक युवक प्रहरीको गाडीमा खुकुरी हानिरहेको देखिन्छन् ।
यी युवक सुधन गुरुङको जेनजी समूहका कोशी इन्चार्ज उपार्जुन चाम्लिङ भएको भन्दै समाचारहरु प्रकाशित भएपछि निकै टिकाटिप्पणीहरु भइरहेका छन् ।
यो भिडिओ जेनजी आन्दोलनकै बेलाका हो भन्नेमा शंका छैन । तर, भिडिओमा देखिएका व्यक्ति भने आफू नभएको उपार्जुनले बताएका छन् । आफू यस्तो कार्यमा कतै पिन संलग्न नरहेको उनको भनाइ छ ।
नेपाल प्रेससँग उनले भने, ‘बदनियतपूर्ण तरीकाले मलाई बदनाम गराउन खोजिएको छ । गाडीमा खुकुरी प्रहार गर्ने व्यक्ति म होइन । यदि प्रमाणित भएमा कानुन बमोजिम सजाय भोग्न तयार छु ।’
फोटोमा देखिएको आफू हो वा होइन भन्नेबारे अनुसन्धानबाट पुष्टि हुने भन्दै उनले थपे, ‘समाचार लेख्दा कम्तीमा मलाई फोन गरेर मेरो धारणा बुझिदिएको भए पनि हुन्थ्यो । केही संचारमाध्यमले हचुवाको भरमा समाचार लेखे । न्यायका लागि प्रेस काउन्सिलमा उजुरी दिँदैछु ।’
उपार्जुनलाई केही दिनअघि सुधन गुरुङले प्रदेश संयोजक तोकेका थिए । भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनका क्रममा आगजनी र तोडफोड गर्नेहरुलाई कानूनी दायरामा ल्याउन प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Leave a Reply