
काठमाडौं । जेनजी आन्दोलनको भदौ २४ गते जलेको यातायात व्यवस्था विभागले सर्भर मर्मतको काम सुरु गरेको छ ।
आज एक सूचना निकालेर आन्दोलनको क्रममा विभागबाट सञ्चालन भएका सूचना प्रविधि प्रणाली सञ्चालन गर्ने डाटा सेन्टरमा आगजनी भएकोले सर्भरको मर्मत सम्भार गर्ने कार्य भइरहेको बताएको छ ।
सवारी चालक अनुमत पत्र र सवारी दर्ता सम्बन्धी सम्पूर्ण कार्य रोकिएको छ । सूचना प्रविधि प्रणाली बन्द रहने रहेको बताएको छ ।
‘भदौ २३ र २४ गते भएको आन्दोलनको क्रममा विभागबाट सञ्चालन भएका सूचना प्रविधि प्रणाली सञ्चालन गर्ने डाटा सेन्टरमा आगजनी भएकोले सर्भरको मर्मत सम्भार गर्ने कार्य भई रहेको छ । सवारी चालक अनुमत पत्र र सवारी दर्ता सम्बन्धी सम्पूर्ण कार्य अर्को सूचना प्रकाशित नहुँदासम्म बन्द रहने छ,’ विभागले निकालेको सूचनामा उल्लेख छ ।
यातायात व्यवस्था विभागका आइटी डाइरेक्टर केशव खतिवडाले लाइसेन्स सम्बन्धी काम र इभीआरएस बन्द रहेको बताए ।
अब नयाँ लाइसेन्सको काम कहिलेबाट हुन्छ भन्ने प्रश्नमा खतिवडाले भने, ‘विभागमा लाइसेन्सको डाटा सुरक्षित छ । सर्भरमा समस्या हो । त्यसको मर्मत भइरहेको छ । यो मर्मतका लागि १५ दिन जति लाग्ला ।’ उनका अनुसार मर्मतपछि लाइसेन्स प्रिन्टभन्दा बाहेकको लाइसेन्स सम्बन्धी काम र इभिआरएसको काम सुरु हुने छ ।
उनले थपे,’अहिले गाडी दर्ता नै रोकिएको होइन । (इभिआरएर) एडभान्स प्रविधिमा हुने गाडी अब भिआरएसमा काम हुने हो । सर्भर मर्मतको काम सकिएपछि पुनः इभिआरएसमा नै दर्ता हुने छन् ।’

Leave a Reply