जोगवनीमा दुई समुदाय बीच झडप, किनमेलका लागि पुगेका नेपाली भागदौडमा परे

विराटनगर । विराटनगरसँग सीमा जोडिएको भारतको जोगवनी बजार केही बेरअघिबाट तनावग्रस्त बनेको छ । २ पक्षबीच विवाद बढेर झडप भएपछि जोगवनीमा तनाव बढेको हो ।

जोगवनी नेपालीको किनमेल गर्ने मुख्य बजार हो । चाडपर्व र अरु बेला पनि दैनिक सयौं नेपाली किनमेलका लागि जोगवनी पुग्ने गरेका छन् ।

जोगवनी तनावग्रस्त भएपछि किनमेलका लागि पुगेका नेपालीबीच भागदौड मच्चिएको थियो । किनमेलका लागि गएकाहरु भागेर नेपाल फर्किएका छन्  ।

अवस्था असामान्य बनेपछि जोगवनी प्रवेश गर्ने नेपाल–भारत सीमा नाका बन्द गरिएको छ । किनमेलका लागि जोगवनी जान लागेका नेपालीलाई विराटनगरको रानी नाकामै रोकिएको छ ।

जोगवनीमा तनाव भएपछि सीमा नाका तत्काललाई बन्द गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । उनले भने, ‘नेपालीलाई जोगवनी प्रवेशमा रोक लगाइएको छ ।’

विराटनगरको रानी नाकामा अहिले ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरीसहितका सुरक्षाकर्मी परिचालन गरिएको छ ।

इस्लाम धर्मगुरु पैगम्बर मोहम्मदका बारेमा गलत टिप्पणी गरिएको भन्दै विरोध सुरु भएको जानकारी नेपाली सुरक्षाकर्मीले प्राप्त गरेका छन् । ‘हिन्दु समुदायले पैगम्बरका बारेमा सामाजिक सञ्जालमा गलत टिप्पणी गरेको भन्दै मुस्लिम समुदाय विरोधमा उत्रिएपछि तनाव बढेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *