तामझामसाथ गोन्जाओ उडान गर्ने नेवानीको तयारीमा प्रधानमन्त्री कार्यालयको चासो- हिजोको रद्द, आज अनुमति कुर्दै

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले चीनको गोन्जाओमा ‘प्रमोसनल उडान’ प्रति प्रधानमन्त्री कार्यालयले चासो राखेको छ ।

गएराति उडान सुरूको खुशीयालीमा सांस्कृतिक टीमसहितको जम्बो टोली चीन जान लागेको तयारी नेपाल प्रेसले उजागर गरेको थियो । मितव्ययिता र खर्च कटौतीलाई सरकारले प्राथमिकता दिएको बेला फजुल खर्च गर्न लागिएको भन्दै यस विषयमा प्रधानमन्त्रीको सचिवालयले चासो राखेको स्रोतले बतायो ।

अर्बौं रूपैयाँ ऋण र घाटामा डुबेको संस्थाले ढुकुटी झन् रित्याउन खोजिएको भन्दै आन्तरिक रूपमा पनि असन्तुष्टि बढेको थियो ।

निगमका अध्यक्ष युवराज अधिकारी केही सञ्चालक, मार्केटिङसहित नाचगानको लागि सांस्कृतिक टोली लिएर फ्लाइट नम्बर आरए ४१७ को एयर बस ३२० राति १० बजे गोन्जाओ उड्ने तयारी थियो । तर, उक्त फ्लाइट रद्द भयो ।

नेवानीका अधिकारीले भने गोन्जाओ एयरपोर्टबाट ल्याण्ड टाइमको अनुमति नपाएकाले उडान रोकिएको जिकिर गरिएको छ । पुन: उडानका लागि तयारी भइरहेको नेवानीका प्रवक्ता एवं ग्राउण्ड सपोर्ट डिपार्टका डेप्युटी डाइरेक्टर सुवास डाँगीले जानकारी दिए ।

नेवानीको गोन्जाओ उडान तामझामसाथ उद्घाटनको तयारी, ‘नर्तकी’ सहितको जम्बो टोली चीन जाँदै

‘आज सम्भव हुन्छ कि भनेर प्रयास भइरहेको छ । उताबाट फ्लाइट प्रमिसन आउने कुरामा लाष्ट आवरमा ढिला भएकाले अड्किएको हो । अर्को डेटको अप्लाइ भइरहेको छ’, डाँगीले भने ।

अनुमति नै नलिई उडाउन खोजिएको थियो त ? भन्ने नेपाल प्रेसको जिज्ञासामा उनले भने, ‘पहिलै त्यहाँको नागरिक उड्डयन प्राधिकरण, एयरपोर्टको परमिट, रुटलगायतका परमिट नलिई त उडान राखिन्न । धेरै चरण हुने भएकाले लास्टको फ्लाइट प्लान अपडेट एप्रुभल गर्नुपर्छ । त्यो हिजो भएन । आज बेलुकालाई हुन्छ कि !’

उनले बाहिर आएजस्तो धेरैजनाको टीम नभई सानो छरितो टीम भएको दाबी गरे । यात्रुसहित ४०/४२ जना भएको भन्दै डाँगीले ट्राभल एजेन्सीलगायत केही आफ्नै खर्चमा जान लागेको बताए । आलोचना बढेपछि केहीको नाम काट्ने पनि तयारी भएको निगम स्रोतले बतायो ।

जहाज होल्ड गरिँदा दुबई, जापान, कतारलगायतको उडानहरू रद्ध हुने र टिकट अन्य एयरलाइन्सको टिकट तुलनात्मकरूपमा महँगोमा किन्न बाध्य हुनुपर्ने साथै यसमा कमिसनको समेत खेल भएको आशंका पनि जानकारहरूले गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *