
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पार्टी अध्यक्ष प्रचण्डले आफ्नो भूमिका बदल्न तयार रहेको कुरा स्पष्टसँग राखिसकेको बताएका छन्।
केन्द्रीय कमिटी बैठकस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अब महाधिवेशनबाट विधि र प्रक्रियाबाट पार्टीको नेतृत्व नयाँ पुस्ताले गरोस् भन्ने अध्यक्षकै प्रस्ताव रहेको दाबी गरे।
उनले भने, ‘अध्यक्षले पनि गएको साउनमा प्रस्ताव नै राख्नुभएको थियो म मेरो भूमिका बदल्छु भनेर। सङ्गठनात्मक रूपमा नयाँ पुस्तालाई अघि सार्छु भनेर। अहिले जेनजी आन्दोलनपछि यो बहस अघि बढेको छ। अब महाधिवेशनबाट विधि बनाएर पार्टीको नेतृत्व नयाँ पुस्ताले गरोस्। विधि र प्रक्रियामा जाऔँ भनेर उहाँले नै प्रस्ताव राख्नुभएको छ। त्यसलाई पार्टीले स्वीकारेर ओपन छलफल गर्छ।’
जेनजी आन्दोलनले ल्याएको तरङ्गलाई आत्मसाथ गरेर जानुपर्ने बताए। पुनले थपे, ‘आन्दोलनको भावनालाई आत्मसाथ गरेर नेतृत्व हस्तान्तरण र नेतृत्वको भूमिकाले परिवर्तन गर्नुपर्छ भन्ने सोचेका हौँ। हामी पुस्तान्तरणको एजेन्डा स्वीर्काछौंँ तर अरू नेताहरूले पनि अध्यक्षमाथि मात्रै प्रश्न गरेर हुँदैन।’
उनले आफ्नो पार्टीले जेनजी पुस्ताको एजेन्डालाई समर्थन गरेको भएपनि पार्टी कार्यालयदेखि नेताहरूको घर जलाएको विषयमा छानबिन गर्न माग गरे।

Leave a Reply