जेनजी आन्दोलनमा संसद भवनभित्र देखिएकी तोसिमाको बयान- हाम्रो मुद्दा हो भनेर सँगसँगै हिँड्यौं

काठमाडौं । जेनजी आन्दोलनका बेला बानेश्वरस्थिति संसद भवनमा तोडफोड र आगजनी भयो । त्यसक्रममा सार्वजनिक भएका थुप्रै भिडिओ फुटेजहरूमध्ये एउटामा रास्वपा नेतृ तथा पूर्वसांसद डा. तोसिमा कार्की देखिएकी छन् ।

पेशाले चिकित्सक तोसिमा सेतो एप्रोन लगाएरै संसद भवन पुगेकी थिइन् । भाइरल भएको एउटा भिडिओ फुटेजमा उनले आन्दोलनकारी युवाहरूलाई ‘लेट्स गो टु पार्लियामेन्ट पिसफुल्ली’ (शान्तिपूर्ण तरिकाले संसद भवनभित्र जाउँ) भन्दै गरेको सुनिन्छ । यसलाई लिएर कतिपयले तोसिमाले आन्दोलनकारीलाई उकासेका टिकाटिप्पणी गरेका छन् ।

यस विषयमा हिजो तोसिमालाई रास्वपाको एक पत्रकार सम्मेलनमा प्रश्न गरियो । पार्टीको केन्द्रीय समिति बैठकपछि आयोजित प्रेसमिटमा तोसिमा पत्रकारमाझ पेश भएकी थिइन् । त्यसक्रममा उनले जेनजी आन्दोलनले पार्टीकै मुद्दा बोकेको हुँदा आफूहरू सहभागी बनेको प्रतिक्रिया दिइन् ।

उनले भनिन्, ‘हामी निलो क्रान्तिको पक्षमा छौं । त्यो भनेको शान्तिपूर्ण परिवर्तनको बाटो हो । हामी शान्तिका पक्षधर हौं । तर, हाम्रो उपस्थिति हुँदाहुँदै पनि ७६ जनाको किन ज्यान जाने स्थिति सिर्जना भयो त ? यसको समीक्षा गर्दैछौं ।’

उनले भदौ २३ मा आन्दोलनकारीहरुको ठूलो हताहति भइसकेपछि २४ गते हुनसक्ने विद्रोहको पूर्वानुमान सरकारले गर्न नसकेको भन्दै आलोचना गरिन् । सो घटनापश्चात रास्वपाका सबै सांसदहरूले सामूहिक राजीनामा दिएको र आफू पनि आन्दोलनमा सहभागी भएको उनको भनाइ छ ।

संसद भवनभित्र आफू पुगेको बारे उनले यसरी प्रष्टीकरण दिएकी थिइन्ः

भदौ २३ गते हामी सिंहदबारमा संसदीय समितिको बैठकमा थियौं । आन्दोलनमा गोली चलेको खबर आएपछि वैठक रोकियो । म सिभिल हस्पिटल गएँ । जानसक्ने वातावरण थिएन, तर यस्तो समयमा राजनीति भनेको दोस्रो हो, जनताको सेवा पहिलो कर्तव्य हो भनेर जोखिम मोलेरै गएको थिएँ । अस्पतालमा जे सकिन्छ समन्वय गरेँ ।

दोस्रो दिन पनि हामी टुलुटुलु हेरेर बस्ने अवस्था थिएन । यो आन्दोलन हाम्रो हो, मुद्दा हाम्रो हो भनेर सँगसँगै हिँडेकै हो । म चाहिँ मुलतः घाइतेहरुको उपचार र उनीहरुलाई अस्पताल लैजाने काममा खटिएको थिएँ । संसद भवनमा पनि मेरो उपस्थिति त्यही प्रयोजनका लागि हो । त्यहाँ पनि केही व्यक्ति घाइते हुनुभएको थियो । एक-दुई जना बेहोस हुनुभयो । उहाँहरूलाई अस्पताल पुर्‍याउने काम गर्‍यौं ।

आन्दोलन शान्तिपूर्ण बनाउन मैले सकेको प्रयास गरेँ । तर, म एक्लैले गरेर के हुन्थ्यो र आर्मी पछि हटिसकेको थियो । विध्वंस कसैले रोक्न सक्ने स्थिति थिएन । मैले आन्दोलनकारीलाई ढुंगा नहान्न भनेर बारम्बार अनुरोध गरेँ । अन्यथा हामीलाई पनि गोली लाग्छ भनेर सम्झाएँ । शान्तिपूर्ण गरौं भनेर मेरो तर्फबाट सकेको प्रयास गरेँ ।

प्रधानमन्त्रीको राजीनामा आउँदासम्म ठूलो मास संसद भवनभित्रै थियो । खबर सुनेपछि केही साथीहरू खुशी हुनुभयो । त्यो हात समाएको चाहिँ मैले एकजना आन्दोलनकारीको हातमा चोट लागेर रुमालले बाँधिदिएको थिएँ । उहाँले धन्यवाद दिनुभएको थियो । त्यही बेलाको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *