नख्खु प्रकरणः जनतालाई यो कुरा बुझाउन सकिएन

कुनै पनि परिघटनाका सन्दर्भमा दुई वटा महत्त्वपूर्ण पक्षहरू हुन्छन्- नियत र नियति । नख्खु कारागारबाट सभापति रवि लामिछानेलाई सुरक्षाको कारण बाहिर निकालिएको घटनामा समेत पार्टीले आलोचना भोग्नुपर्ने नियतिमा हामी पुगेका छौँ । इतिहासले सदैव सिकाएको एउटा पाठ के हो भने नियतिको लडाइँमा नियत सही राख्नुपर्छ जतिसुकै प्रहार आए पनि ।

निहत्था युवा तथा विद्यार्थीहरूमाथि भाद्र २३ गतेको बर्बर दमनको आक्रोश स्वरूप विभिन्न सरकारी संयन्त्रहरू जल्न थालेपछि सुरक्षामा चुनौती भएको आँकलन गरेर नख्खु कारागार प्रशासनले कारागारभित्रको सुरक्षाको घेराहरूबाट बाहिर निकालेर जिम्मा लगाउने निर्णय र यसलाई स्वीकार गरी ठुलो जोखिमबीच सभापतिलाई लिन जाने विषय नख्खु प्रकरण बन्नु आफैमा दुःखद घटना हो।

यस घटनाको सन्दर्भमा पार्टीले केही महत्त्वपूर्ण पक्षहरूलाई ध्यान दिन आवश्यक छ:

१. भाद्र २४ गतेको प्रदर्शन फैलँदै जाँदा सरकारी संरचना र कतिपय व्यापारिक तथा निजी सम्पत्ति समेतको तोडफोड तथा आगजनीको घटना बढ्यो । मध्यान्ह नहुँदै मिडियाहरूले देशको तीनवटै अंग प्रदर्शनकारीको कब्जामा पुगेको खबर प्रेषित गर्न थालिसकेका थिए । हालको राजनीतिक प्रणालीमा सैनिक व्यवस्थापन गर्ने रक्षा मन्त्री हुन् वा प्रहरी व्यवस्थापन गर्ने गृहमन्त्री वा सेनाको मानार्थ प्रमुख राष्ट्रपति, कुनै पनि मन्त्री वा संस्थाहरूको सुरक्षा सुनिश्चित थिएन, यस्तो परिस्थितिमा कारागार प्रशासनले पार्टी सभापति रवि लामिछानेलाई हामी सुरक्षा दिन सक्दैनौँ तपाईँहरू लिएर जानुहोस् भनेको तथ्यलाई हामीले जनतामा बुझाउन सकेनौँ ।

२. महिनौँ भैरहवाको एउटा अँध्यारो कोठामा राखेर अड्डासार गरी नख्खु कारागारको एउटा कुनामा राखिएको र सूचनाको स्वाभाविक स्रोतबाट टाढा रहेका पार्टी सभापति रवि लामिछानेसँग कारागारको गेट नजिक नआउँदासम्म वस्तुस्थितिको प्रत्यक्ष मूल्याङ्कन गर्न सक्ने सुविधा हुने कुरै थिएन । यसै पनि आन्दोलनको पहिलो दिनमै सभापति रवि लामिछानेलाई भेटघाटमा कारागार प्रशासनले कडाइ गरेको समाचारहरू थुप्रै मिडियामा सम्प्रेषित र सार्वजनिक भएका छन्। पार्टीकै जिम्मेवार पदाधिकारी र केन्द्रीय तहका नेताहरूको पूर्वनिर्धारित भेटघाट रद्द गरिएको थियो। यस्तो परिस्थितिमा २४ गते बिहानदेखि नै नेताहरू लखेटिँदै गरेको, नेताहरूलाई हेलिकप्टरबाट रेस्क्यु गरिँदै गरेको, जनधनको क्षति भइरहेको जस्ता सूचनाहरूबाट घेरिएको विषम परिस्थितिमा सुरक्षाको जिम्मेवारी पाएको कारागार प्रशासनले तपाईँ यहाँबाट जानुस् तपाईँको सुरक्षा हामी गर्न सक्दैनौँ भन्दाको सभापतिको मनोदशा कस्तो थियो होला। त्यो विषयमा न कसैले सोच्यो न त्यसमा छलफल नै भयो। उल्टै सभापति नै यसमा संलग्न छन् कि भनेर लाञ्छनाहरू लागे।

३. विकसित राजनीतिक घटनाक्रम र नजिकैको मन्त्री क्वाटर र अन्य सरकारी संरचनामा क्षति हुँदै गर्दा कारागार प्रशासनले पार्टी सभापतिलाई आफन्तको जिम्मा लगाउने निर्णय गरेको हो । अरू पार्टीका तेस्रो वा चौथो तहका नेताहरू लुक्दै गर्दा देशको चौथो ठूलो पार्टीको सभापतिलाई कारागार प्रशासनले भीड अगाडि छोडिदिएर बिना सुरक्षा तपाईँ अब जानुहोस् भनेको हो। कारागार गेटको आसपासमा रहेको आक्रोशित भीड छिचोलेर निस्किने कुरा आज हेर्दा सामान्य लाग्छ । तर त्यो दिनको परिस्थितिमा त्यो सामान्य थिएन र त्यसलाई वस्तुपरक रूपमा हेरिएन भने त्यो सभापति र सभापतिलाई शान्तिपूर्वक लिन जाने सबैप्रति अन्याय हुन जान्छ।

४. गत एक वर्ष देशका विभिन्न जेलमा अड्डासार गर्दै चरम प्रतिशोधको सिकार बनाइएको सभापतिलाई सम्भवतः नख्खुको विषयमा थप कमजोर बनाउन सकिन्छ की भन्ने योजनाबद्ध प्रयास भएको देखिन्छ । कारागारको एउटा कुनामा बसेका पार्टी सभापति लामिछानेलाई कारागार प्रशासनले दिएको पत्र, अनुमति प्रक्रिया , कारागार बाहिरको प्रदर्शनका बहुआयामिक पक्षहरू आदिबारे त्यो समयमा थाहा नहुनु एकदमै स्वाभाविक थियो। त्यति हुँदाहुँदै पनि औपचारिक प्रक्रिया पुरा भएको जानकारी प्राप्त भएपश्चात् कारागारभित्र रहेका सबैको जीवन जोगाउन र आफ्ना कारण प्रदर्शनमा थप कुनै झिल्को नथपियोस् भन्ने सोचका साथ आवश्यकताको सिद्धान्तको आधारमा लिइएको परिस्थितिजन्य निर्णय हो भनेर सभापति रवि लामिछानेले सार्वजनिक रूपमै पटक पटक जानकारी गराइसक्नुभएको छ ।

५. यति हुँदै गर्दा हामीले भुल्न नहुने अर्को तथ्य के हो भने कारागार प्रशासनले प्रत्यक्ष वा परोक्ष रूपमा जिम्मेवारी लिन बोलाइएका व्यक्तिहरू पार्टीभित्रका जुनसुकै तहतप्काका नेता तथा कार्यकर्ता भएपनि यदि उनीहरू भीड उक्साउने वा भीडलाई उत्तेजित पार्ने, आगजनी र तोडफोड गर्ने वा अन्य कुनै पनि गलत कार्यमा प्रत्यक्ष या परोक्षरुपमा संलग्न छन् भने पार्टीको अनुशासनको कारबाहीको दायरामा ल्याइनुपर्छ । यस सन्दर्भमा अनुशासन आयोग वा कुनै छानबिन समितिले स्वतन्त्र र निष्पक्ष छानबिन गरी कारबाही सिफारिस आवश्यक देखिएमा सोहीअनुसार गर्नुपर्छ । अनुशासनको मानक पार्टीका जुनसुकै तह र तप्काका नेता तथा सदस्यहरूलाई समान हुनुपर्छ । केन्द्र र स्थानीय तहबीच अनुशासनको फरक मापन र मान्यता बनाइनुहुन्न ।

६. व्यक्तिबाट परिस्थितिजन्य गल्ती हुनसक्छ । यदि अन्जाममा कुनै पनि नेता वा पार्टी सदस्यहरूबाट यस्तो गतिविधि भएको भएमा विना शर्त सोको स्वीकारोक्ति र अनुसन्धान प्रक्रियामा सहयोग गर्नुको विकल्प छैन ।

जेनजी प्रदर्शन र रास्वपा

२०८२ भदौ २३ र २४ गते देशमा जे भयो ( त्यो ‘प्रदर्शन’ थियो कि ‘क्रान्ति’रु यसबारे बहस चलिरहला। तर असोजको आठौँ दिनसम्म आइपुग्दा जेनजी प्रदर्शनको क्रममा सडकबाट युवाहरूले जुनखालको सन्देश र संकेत दिए, त्यसको अपनत्व कसैले लिन नखोज्ने र पानीलाई धमिलो बनाएर माछा मार्न खोज्ने जोखिम देखिएको छ। कतिपयले यसलाई ‘नेतृत्वहीन आन्दोलन’ भन्दै आन्दोलनको मूल मुद्दालाई अवमूल्यन गर्ने संकेत पनि देखाएका छन्।

चाहे जुनसुकै पृष्ठभूमिबाट आएका हुन्, सुधारको राजनीतिका माग राख्नेहरूको पृष्ठभूमि होइन, उनीहरूको भावना, ऊर्जा र परिवर्तनप्रतिको संकल्प र उनीहरूले समाज परिवर्तनका खातिर दिएको बलिदान महत्त्वपूर्ण हुन्छ। हामी सबैले भुल्न नहुने सत्य के हो भने जेनजी प्रदर्शनले उठाएका मुद्दाहरू रास्वपाका मुद्दासँग सबैभन्दा नजिक छन्। यो देशमा भ्रष्टाचार र कुशासन कति मौलाएको छ, र त्यसलाई जोगाइराख्न पुरानो राज्यसत्ता कति उद्दण्ड छ यसबारे युवाहरूको आक्रोश र शान्तिपूर्ण प्रस्तुति गर्न खोज्दा छाती र टाउको ताकी–ताकी बर्सिएका गोलीहरूले पुष्टि गर्छन्।कसरी सुरु भयो, माग के थियो, उद्देश्य के थियो र कति दिन लाग्यो, आन्दोलनमा को छिर्‍यो , कसको ग्रान्ड डिजाइनमा आन्दोलन भयो जस्ता प्रश्न उठाएर जीवन उत्सर्ग गरेका सबैको प्राण आहुतिको अवमूल्यन गर्ने कोसिस पनि देखिन्छ। ‘घुसपैठ भयो’र ‘विध्वंस भयो’ भनेर युवाहरूको प्राण आहुतिको अवमूल्यन गर्ने छुट कसैलाई पनि छैन।

पुरातन पार्टीहरूले जेनजीहरूको प्रदर्शनको पूर्वसन्ध्यामा यसको अस्तित्व नै अस्वीकार गरिरहेका बेला, हामीले उनीहरू सडकमा आउनुलाई उल्लेखनीय राजनीतिक परिघटना मानी उनीहरूको शान्तिपूर्ण प्रदर्शनमा ऐक्यबद्धता व्यक्त गर्‍यौँ यो अर्को भुल्न नहुने तथ्य हो। राष्ट्रिय स्वतन्त्र पार्टी यो परिवर्तनको सारथी बन्यो कि साक्षी, वा अन्य केही, यसको मूल्याङ्कन इतिहासले नै गर्ला। लामो राजनीतिक यात्रा तय गर्न खोजेको पार्टी‌ र त्यसको नेतृत्वसँग कहिले लाखौं हुन्छन् त कहिले केही‌ र त्यस्तो पार्टीले तत्कालीन लाभ र हानी नहेरी देशलाई सर्वोपरि राखी निर्णयहरू गर्छ भन्ने कुरा समय क्रममै पुष्टि पनि होला। पार्टीभन्दा माथि सदैव देशलाई राख्ने भएका कारणले नै राष्ट्रिय स्वतन्त्र पार्टीलाई देशको कुशासनको दुष्चक्रका कारण आत्मदाह गर्न बाध्य प्रेम आचार्यदेखि कुशासनविरुद्ध लड्दा शहादत प्राप्त गर्ने नवयुवा पुस्ताको बलिदानको सबैभन्दा ठूलो पहरेदार हुनुपर्छ भन्ने कुराको बोध छ।

स्थापनाकालदेखि नै वाचापत्र, प्रस्तावना वा अन्य दस्ताबेजमार्फत लिपिबद्ध गरेका एजेन्डाहरूलाई जेनजी समूहले उठाएर त्यसको प्राप्तिका लागि जीवनसम्म अर्पण गरेका छन्। अब रास्वपाको यात्रामा ती सबैको ‘बलिदानको ऋण’ थपिएको छ- यो सानो जिम्मेवारी होइन। यो जिम्मेवारी हामी कत्तिको इमानदार भएर निर्वाह गर्छौँ भन्ने कुराले नै हामी ‘इतिहास बन्ने’ कि ‘इतिहास लेख्ने’ यात्रा निर्धारण गर्नेछ।

६२–६३ को आन्दोलनमा व्यक्त जनादेश तथा जेन जी आन्दोलनको म्यान्डेटलाई समेत सम्बोधन गर्न सक्ने गरी लोकतान्त्रिक, उदार मूल्य–मान्यता, पारदर्शिता एवं जबाफदेहिताको बलियो जगमा राष्ट्रिय स्वतन्त्र पार्टी विस्तारित हुनुपर्छ। राष्ट्रिय स्वतन्त्र पार्टीले नागरिकसँग प्रत्यक्ष रूपमा जोडिने विधिहरू तय गर्नुपर्छ। जसले गर्दा पार्टी र नागरिकबीच कहिल्यै दूरी नहोस् र आर्थिक विकास र समृद्धिसहितको युगान्तकारी परिवर्तनको नेतृत्व पार्टीले गरोस् भन्ने नागरिकको चाहना, आकांक्षा र हुटहुटी पार्टीले ग्रहण गर्नुपर्छ। नेपाली नागरिकहरू हामीलाई त्यो म्यान्डेट दिन खोजिरहेका छन्। म्यान्डेट ग्रहण गर्न दूरदर्शिता, जानेर वा नजानेरै भएका गल्तीहरूको बोध गर्ने इमान्दारी र सबैलाई अटाउन सक्ने विशाल हृदय प्रस्तुत गर्न आवश्यक छ।

(रास्वपा सहमहामन्त्री विपिन आचार्यले पार्टीको केन्द्रीय समिति बैठकमा पेश गरेको प्रतिवेदन)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *