
काठमाडौं । नेकपा माओवादी केन्द्रभित्र जारी शक्ति संघर्षमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्मा एकैठाउँमा उभिने संकेत देखिएको छ। आज बसेको स्थायी कमिटीको बैठकमा अध्यक्ष प्रचण्डले हतारमा बैठक बोलाएको र आफूहरूलाई कुरा राख्न दिएको भन्दै एकजुट भएर असन्तुष्टि जनाएका हुन्।
आइतबार बसेको पदाधिकारी बैठकमा श्रेष्ठले पनि प्रचण्डसँग कार्यवाहक दिन माग गरेका थिए। श्रेष्ठले कार्यवाहक मागेपछि दुई महिनामा महाधिवेशन गर्ने भएपछि दिँदा हुन्छ भन्दै शर्माले समर्थन जनाएका थिए।
तर, माओवादीले केन्द्रीय कमिटी भङ्ग गरेर प्रचण्डको संयोजकत्वमा आयोजक कमिटी गठन गरेर मंसिरमा विशेष महाधिवेशन गर्ने तयारी गरेको छ। भोलिको बैठकले औपचारिक निर्णय लिनेछ।
एक नेताले नेपाल प्रेससँग भने, ‘अध्यक्षले भोलि एक दिनमै बैठक सक्ने कुरा राख्नुभएको थियो। त्यसमा जनार्दनले असहमति जनाउनुभयो भने वरिष्ठ उपाध्यक्ष श्रेष्ठले पनि बैठक राख्ने तर कुरा नसुन्ने गर्न हुँदैन। असहमति राख्न पाउनुपर्छ भन्नुभयो।’
पार्टीभित्रको आन्तरिक समीकरणमा श्रेष्ठ र शर्मा एकैठाउँमा आउने संकेत देखिएको ती नेताले बताए। उनले भने, ‘अहिल्यै उहाँहरू त्यसरी ठोस रूपमा प्रस्तुत हुनुभएको छैन। अब भोलिको बैठकमा हेरौँ न कसरी आउनुहुन्छ।’
प्रचण्डले समय अभाव रहेको भन्दै सबै नेताहरूलाई आफ्नो कुरा समूहगत रूपमा ल्याउन भनेका थिए। तर, अन्तिममा बैठक दुई दिनसम्म चल्ने सहमति गरिएको छ।
त्यसो त बैठकबाट बाहिरिने बेलामा प्रचण्डले आफूले नेतृत्व छाड्नेबारेमा पनि छलफल चलिरहेको र महाधिवेशनमा पुगेर सबै टुङ्गिने बताएका थिए। प्रवक्ता अग्नि सापकोटाले भने आजको बैठकले केन्द्रीय कमिटी बैठकमा पेस गर्नको लागि एजेन्डा तय गरेको बताए। उनले भने, ‘भोलिको बैठकमा प्रचण्डले प्रस्ताव राख्नुहुन्छ। अरू नेताहरूलाई पनि आफ्नो कुरा राख्न छुट दिइन्छ।’
प्रवक्ता समेत रहेका सापकोटालाई सञ्चारकर्मीहरूले प्रचण्डको राजीनामा माग भएको र कार्यवाहक तोकेर जाने गरी भएको बहसबारे पनि सोधेका थिए। उनले भने, ‘केन्द्रीय कमिटी विघटन गरेर संयोजक अध्यक्ष बनाउने भन्ने कुरा अध्यक्षले राख्नुभएको छ। आज पनि पार्टीले अघि सारेको प्रस्तावमा कसैको आफ्नो भन्नु छ भने अध्यक्षले केन्द्रीय समितिमा यो कुरा प्रस्तुत गरिसकेपछि उहाँहरूले आफ्नो कुरा राख्न पाउनुहुन्छ।’

Leave a Reply