
काठमाडौं । नेपालमा लोडसेडिङ हटाएको सम्पूर्ण श्रेय पाएका नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङ अहिले ऊर्जामन्त्रीको पदमा आसिन छन् । उनी मन्त्री बनेपछि जनता ढुक्क छन्, अब लोडसेडिङ फर्केर नआउनेमा । तर पछिल्ला केही दिन किन बेलाबखत बत्ती निभिरहेको छ ?
ऊर्जामन्त्री भएपछि कुलमानले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हितेन्द्र शाक्यलाई हटाएर मनोज सिलवाललाई नियुक्त गरे । सिलवालले हिजै मात्रै पदभार ग्रहण गरेका छन् । कुलमानको ठाउँमा हितेन्द्र आउँदा फेरि लोडसेडिङ फर्किने त्रास बढेको थियो । लोडसेडिङ त फर्किएन तर, बत्ती झ्याप झ्याप गइरहने समस्याले दुख दिइरह्यो । यसको अपजस हितेन्द्रलाई दिइयो ।
हितेन्द्र प्राधिकरणबाट बाहिरिएपछि पनि झ्यापझ्यापवाला समस्या समाधान भएको छैन । नयाँ कार्यकारी निर्देशक सिलवाल कमजोर प्रणालीका कारण हिजो काठमाडौं र तराई लगायतका ठाउँमा बत्ती गएको बताउँछन् ।
उनले भने, ‘हिजो राति मोतीपुरबाट आउने लाइनमा ट्रिपिङ भएकाले काठमाडौंमा करिब १० मिनेट बत्ती गएको हो । भने, तराईको प्रसारण लाइनमा पनि समस्या देखिएकाले तराइमा पनि करिब २० मिनेट बत्ती निभ्यो । हाम्रो प्रणाली नै कमजोर भएको कारण झ्याप झ्याप बत्ती जान्छ । कुनै एक ठाउँमा समस्या हुँदा त्यसको प्रभाव धेरै ठाउँमा पर्छ । हाम्रो सिस्टम नै कमजोर छ ।’
उनले आफू प्राधिकरण आएपछि ग्राहक सेवा तथा वितरण केन्द्र निर्देशनालय कर्मचारीसँग हिजो मिटिङ गरेको बताए । झ्याप झ्याप बत्ती जाने समस्या रोक्नका लागि काम गर्न निर्देशनसमेत दिएको उनको भनाइ छ ।
०५१ सालमा प्राधिकरणमा पाँचौँ तहबाट सेवा प्रवेश गरेका सिलवाल १२ औ तहबाट २०८१ माघमा अवकाश लिएका हुन् । प्राधिकरणमा वितरण तथा ग्राहक सेवा निर्देशनालयमा बसेर काम गरेका सिलवाल पनि कुलमान र हितेन्द्र जस्तै एक दक्ष इन्जिनियरका रूपमा चिनिन्छन् ।

Leave a Reply