युलेन्स स्कुलमा भएको विध्वंस- ८३ वटा बस जलाइए, ९ वटा भवनमा लुटपाट र आगजनी

काठमाडौं । जुनसुकै आन्दोलन वा विद्रोहमा पनि शैक्षिक संस्थाहरूलाई ‘शान्ति क्षेत्र’ को व्यवहार गर्नुपर्ने अन्तर्राष्ट्रिय मान्यता रहँदै आएको छ । त्यसको विपरीत गत भदौ २४ गते जेनजीका नाममा भएको आन्दोलनमा केही शैक्षिक संस्थाहरूमा पनि आक्रमण भयो । त्यसमध्ये सबैभन्दा ठूलो विध्वंस युलेन्स एजुकेसन फाउन्डेसनद्वारा सञ्चालित विद्यालय र कलेजमा गरिएको छ ।

युलेस फाउन्डेसनका अनुसार खुमलटारस्थित युलेन्स विद्यालयका ५ वटा भवनमा तोडफोड, लुटपाट र आगजनी गरिएको थियो । यस्तै बाँसबारीस्थिति विद्यालयका ३ वटा भवन र काभ्रेको नालास्थित विद्यालयको आउटडोर लर्निङ सेन्टर पनि ध्वस्त पारिएको फाउन्डेसनद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

वक्तव्यमा भनिएको छ, ‘किन्डरगार्टेनदेखि आईबी डिप्लोमा र कलेज तहसम्मका सबै विद्यार्थीहरूका लकरमा रहेका पुस्तक तथा स्टेसनरीहरु समेत जलाइएका छन् । विद्यालय जोकोहीको मुटु काँप्ने गरी खण्डहर बनेको छ ।’

आन्दोलनबाट विद्यालयमा १ अर्ब २५ करोड रुपैयाँ बराबरको भौतिक क्षति भएको फाउन्डेसनले जनाएको छ । युलेन्समा १ हजार ४ सय ६१ जना विद्यार्थीहरू अध्ययनरत छन् भने ५ सयभन्दा बढी शिक्षक कर्मचारी कार्यरत थिए । विध्वंसका कारण विद्यार्थी र अभिभावक अन्योलमा परेका छन् भने शिक्षक कर्मचारीहरूको रोजगारी संकटमा परेको छ ।

आगजनीमा युलेन्सका ८३ वटा बसहरू जलाइएका थिए । विद्यालयका एसी, कम्प्युटर, फ्रिज, स्मार्ट बोर्ड, फर्निचरहरू लुटिए वा जलाइए ।

फाउन्डेसनले विज्ञप्तिमा भनेको छ, ‘यो आगोबाट बीभत्स रूपमा खरानी बनाइएको युलेन्सको विस्तारित समुदायको संवेग, अनुभव र जीवन कसरी बौराउने भन्ने संगीन र कारुणिक मोडमा हामी उभिएका छौँ ।’

युलेन्समाथि आक्रमणको प्रमुख कारण हो, तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणाको नाम जोडिनु । आरजु यस विद्यालयको व्यवस्थापन समिति अध्यक्ष हुन् । फाउन्डेसनले भने आरजुको विद्यालयमा कुनै पनि लगानी नरहेको र सार्वजनिक भएको हिसाबले मानार्थरुपमा अध्यक्ष पद दिइएको स्पष्ट पारेको छ ।

‘विद्यालय युलेन्स एजुकेसन फाउन्डेसनले सञ्चालन गर्छ । युलेन्स एजुकेसन फाउन्डेसनमा डा। आरजु राणा देउवाको स्वामित्व कहिल्यै थिएन, न त यो केही व्यक्तिविशेषको नाफा कमाउने निजी कम्पनी नै हो । यो त मुनाफा वितरण नगर्ने कम्पनी हो । कम्पनी ऐनमै मुनाफा वितरण नगर्ने कम्पनी बन्द हुँदाको बखत त्यसका सारा सम्पत्ति राज्यको हुने प्रष्ट व्यवस्था गरिएको छ ।’

फेरि खरानीबाट उठेपछि फेरि ढल्नुपर्दैन भन्ने सुनिश्चितता नरहेको भन्दै विद्यालयले चिन्ता व्यक्त गरेको छ ।

‘पुननिर्माणपछि फेरि ध्वंसको सामना गर्नुपर्ने छैन भनेर कसरी ढुक्क हुने ? कक्षाकोठाामा हाम्रा बालबालिका र शिक्षक, कर्मचारीको जीवको सुरक्षामा कसरी विश्वस्त हुने ? सडकमा बालबालिका लिए ? गुड्ने हाम्रा सवारीसाधन निर्वाध र सुरक्षित रूपमा गन्तव्यमा पुग्ने प्रत्याभूति हामीले कसबाट कसरी प्राप्त गर्ने ?’ युलेन्सले भनेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *