
शेरबहादुर देउवा, जसले पञ्चायत, माओवादी र निरंकूश राजतन्त्रविरुद्ध निरन्तर लडिरहनुभयो । ती लडाइँ प्रजातन्त्र प्राप्ति, मानवअधिकारको सुनिश्चितताहुँदै जनजीविका, विकास, समृद्धिदेखि गणतन्त्र र संघीयताका लागि थिए । र, उहाँ नै नाति पुस्ता Gen-Z को आन्दोलनसम्म सामना गर्ने एकमात्र नेपाली नेता हुनुहुन्छ ।
सकारात्मक विषय के हो भने, Gen-Z का प्रदर्शनकारीका नाममा हातपात भयो । त्यसरी रक्ताम्मे भइरहँदा पनि कुनै प्रतिकार नगरी उहाँले नयाँ पुस्ताका मागलाई सम्मानपूर्वक आत्मसात गरेको देखिन्छ ।
प्रतिकार गर्न खोजेको भए जस्तो पनि दुर्घटना हुने थियो होला । तर, कुनै समय आफू पनि त्यही वयबाट आन्दोलनमा होमिएको र त्यो क्रान्तिको यादगारले पनि अब नाति पुस्ता जागेको हो भन्ने अनुभूति गरेको देखिन्छ ।
घाइते सभापति देउवा र कांग्रेस नेता डाक्टर आरजु राणा देउवा अस्पताल भर्ना हुनुभएको र उपचार चलिरहेको छ । घाइते देउवा दम्पतिले आन्दोलनमा सहादत प्राप्त गर्नुभएका प्रति श्रद्धाञ्जली र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नु भएको समाचार आइरहेको छ ।
Gen-Z को आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा र उनीहरूले चाहेको युगानुसारको विकास र प्रगति हुनुपर्छ भन्ने नै देखिन्छ सभापति देउवामा ।
प्रधानमन्त्री केपी ओली, गोली ठोक्ने सुरक्षाकर्मी अनि पिटाई खाने देउवा दम्पती । नयाँ पुस्ताको आन्दोल अनि को हुन ती, जसले मास्क, हेल्मेट लगाएर रड र खुकुरी नचाइरहेका थिए ? हाम्रो वर्तमानले सोधेको सबैभन्दा पेचिलो प्रश्न हो यो ।
उमेर जति भएपनि जहिल्यै युवा जोशमा हिँड्नु भएको छ, सभापति देउवा ।
‘केटाकेटीलाई राम्रो शिक्षा, नि:शुल्क स्वास्थ्य, समृद्धि र विकास दिनुपर्ने थियो । सकिएन । तर, स्थिरता भए सकिएला, लौ न के गर्ने होला ?’ सदैव यहि हुटहुटी देखिन्थ्यो उहाँमा ।
कर्णाली पारीका २२ वटा पुल बनाएर सुदूरपश्चिममा मन मनमा बसेका देउवाले हली प्रथा, कमैया आन्दोलनमा सक्रिय सहभागिता अनि कर्णाली, दलित, जनजाति, महिला र मधेसीका हितमा पार्टी अनि संविधानमा ऐन कानून लागु गराएका विषय बिर्सन मिल्दैन ।
ब्रिटिश गोर्खाले पाउने पेन्सन र सुविधा समान गराउन उहाँको भूमिका के कस्तो रह्यो ? त्यो त गोरखा सैनिकलाई सोधे पुग्छ ।
संवैधानिक राजा र प्रजातन्त्र सँगसँगै लान खोजेको कांग्रेसले बुझेको हुनुपर्छ । बीपी कोइरालापछि उनै देउवालाई अपदस्थ गरेर जेलमा हालिएको धेरै भएको छैन ।
Gen-Z लाई यथार्थ कुरा नबुझाएर युवा पुस्ताका कांग्रेसले पुस्तान्तरणको मात्र नारा लगाएको देखिन्छ ।
घाइते सभापति देउवालाई विकृतिको जामा पहिराएर पानीमाथिको ओभानो बनेको पनि Gen-Z ले बुझ्न थाल्नेछन् ।
नयाँ बानेश्वरमा ‘देउवा वृद्ध भयौ, राजीनामा देऊ’ भनेर नाराबाजी भएजस्तो लाग्दैन । अनि, कांग्रेसको विधि विधानले तय गर्ने आन्तरिक विषयमा Gen-Z को चासोको विषय हो र ?
महाधिवेशन बाट दुई दुई पटक सभापतिमा निर्वाचित शेरबहादुर देउवालाई अपदस्त गर्न यो बेल यस्तो अपराधको सहारा लिइएको पनि Gen-Z ले बुझ्दैछन् ।
विश्वभरि सरकार पार्टी चलाउने नेताहरू कतिकति वर्ष र उमेरका छन् सायद Chat Gpt हेर्न पनि सकिन्छ ।
अहिले सभापति देउवालाई हटाउन विशेष महाधिवेशन वा साविक महाधिवेशन गर्नुपर्ने आवाज पनि उठाइएको छ ।
‘पार्टी एकता, बलियो कांग्रेस र बहुमतको सरकार बनाउने मेरो लक्ष्य हो, अब म सभापति बन्न मिल्दैन’ भनेर अस्ति भर्खरै देउवाले बोल्नुभएको सम्झना छ कि बिर्सनु भयो कांग्रेसजनले ?
महाधिवेशन गरेर युवालाई नेतृत्व सुम्पिने उद्घोष गरेको केही दिनमै रक्तमुछेल हुनेगरी कुटिएर थिलोथिलो भएका देउवालाई हटाउन खोज्नेहरुलाई Gen-Z र आम कांग्रेसले चिनिरहेका छन् । अस्तिसम्म पद र नेतृत्वका लागि देउवा निवास धाउने युवा नेताले काचुली फेरेको पनि Gen-Z ले हेरिरहेका छन् ।
समाज बदल्न बाल्यकालमै बीपी कोइरालालो पदचाप पछ्याउँदै सुदूरपश्चिमको डडेल्धुराबाट काठमाडौं आउनुभएका देउवालाई गरिएको अपमान पनि Gen-Z नजिरमा रहने निश्चित छ ।
अन्त्यमा, सभापति शेरबहादुर देउवा र कांग्रेस नेता डाक्टर आरजु राणा देउवा दुवैको शीघ्र स्वास्थ्यलाभको कामना ।
पुनः जनताको सेवामा समर्पित हुने अपेक्षा गरिएको छ ।
(सिग्देल प्रेस युनियनका पूर्वअध्यक्ष र आईएफजे एसिया प्रशान्तका कार्यकारी सदस्य हुन् ।)

Leave a Reply