पदभार ग्रहणपछि सञ्चारमन्त्री खरेलले भने- २५ वर्ष प्रश्न सोधेर बिताएँ, आज जवाफ दिने ठाउँमा छु

काठमाडौं । नवनियुक्त सञ्चारमन्त्री जगदीश खरेलले आफूले विगत २५ वर्षमा प्रश्न सोधेको भएपनि अहिले जवाफ दिने ठाउँमा पुगेको बताएका छन्।

पदभार ग्रहण गरेपछि पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘मेरो जिन्दगीको २५ वर्ष सधैँ प्रश्न सोधेर बिताएँ, आज जवाफ दिने ठाउँमा छु। यो जवाफ दिने ठाउँमा रहँदा २५ वर्ष आफूले हेरिरहनुभएको मेरो काम सत्य त्यही नै हो। त्यो भन्दा नयाँ सत्य पनि छैन, त्यो भन्दा लुकेको सत्य पनि छैन। तपाईँले जगदीश खरेललाई हेर्दा धेरैले आफ्नो अनुहार पाउनुहुन्छ। तपाईँका सङ्घर्ष, सफलता र सन्तुष्टि पाउनुहुन्छ।’

उनले सरकार एक्लैले देश बनाउन नसक्दै भन्दै एकजुट भएर लाग्न आग्रह गरे।

उनले थपे, ‘अहिले हामीले देश बनाउने बेला आएको छ। देश सरकार एक्लैले बनाउन सक्दैन। राज्यका निकायहरूले मात्रै बनाउन सक्दैन, हाम्रा संयन्त्रबाट मात्रै होइन। त्यसैले विगतमा जस्तै तपाईँहरू सबैको भूमिका महत्त्वपूर्ण हुन्छ भन्ने अपेक्षा राखेको छु।’

उनले आफूले ६ महिना मन्त्रालयको नेतृत्व गर्दा मन्त्रालयका कर्मचारीहरूलाई कुनै हस्तक्षेप नगर्ने बताए।  उनले भने, ‘सचिवज्यू तपाईँको मन्त्रालयका सबै कर्मचारी अनुभवी हुनुहुन्छ काम अघि बढाउनुस् मन्त्रीको तर्फबाट एक ठाउँमा पनि हस्तक्षेप हुँदैन म तपाईँबाट सिक्छु म मेरो देशको ब्युरोक्रेसीलाई विश्वास गर्न चाहन्छु।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *