
काठमाडौं। जेनजी आन्दोलनका क्रममा साइबर हिंसामा परेकी पूर्व मिस नेपाल श्रृंखला खतिवडाले केही दिनअघि सामाजिक सञ्जालमा आएर आलोचकहरूलाई जवाफ दिइन्। तर अझै पनि उनीमाथि आक्रमण रोकिएको छैन ।
श्रृंखलामाथि प्रश्न उठाउनेमा उनका पूर्व प्रेमीका रूपमा प्रचारित सिसन बानियाँ पनि थिए । श्रृखंलाले ‘मिस वल्र्ड‘ मा जाँदा ‘ब्युटी विथ द प्रपोज’ मा जितेको रकमबारे भ्लगर बानियाँले प्रश्न उठाएपछि यो विषय सतहमा आयो । भ्रष्टाचार र नेपो किड्सविरुद्ध आवाज उठिरहँदा श्रृखंलाले जितेको ५० हजार डलर केमा खर्च भयो भन्ने सिसनको प्रश्न थियो । त्यसपछि श्रृंखलाविरूद्ध माहौल झन् चर्कियो । शृङ्खलाले भिडियोमा यसबारे पनि स्पष्टीकरण दिएकी छन् ।
आफूले ५० हजार डलर नभई २० हजार डलर पाएको उनको भनाइ छ। त्यो रकम कहाँ र कति खर्च भयो भन्नेबारे पनि उनले भिडियोमै बताएकी थिइन् ।
अहिले फेरि सिसनको प्रस्टीकरण आएको छ । श्रृखलाको भिडियोपछि सिसनले सामाजिक सञ्जालमा लामो स्टोरी लेख्दै आत्मालोचना गरेका छन् ।
विवादास्पद समयमा आलोचनात्मक प्रश्न राखेकोमा उनले माफी मागेका हुन्। आफूलाई त्यो कुराको यस्तो भयानक परिणाम हुन्छ भन्ने थाहा नभएको उनको भनाइ छ। उनले स्टोरीबाटै अबदेखि त्यस्तो व्यवहार कहिल्यै नदोहोर्याउने प्रतिज्ञा गरेका छन् ।
अर्को स्टोरीमा उनले श्रृखंलालाई ‘बहिनी’ भनेर सम्बोधन गरेका छन्। उनले लेखेका छन्,‘जे भयो, त्यसबाट म पनि गहिरो दुःखमा छु। त्यो समयमा, ममा इमोसन्सहरु हाबी भएको थियो। त्यति बेला मेरो उद्देश्य भनेको, भएको खर्चमाथि प्रश्न उठाउनु थियो। अहिले मलाई लाग्यो, यो देश तपाईँ र तपाईंकाे कलेजको डिग्री पछाडि छ। सबै कुरा त्यहीँ लगेर जोडिने रहेछ।’
विगतमा श्रृखंलाको प्रतिभाको आफू पनि शुभचिन्तक भएको बताउँदै उनले भनेका छन्,‘पहिला तपाइँकाे प्रतिभाको म आफैँ ठूलो चियरलिडर भएको छु। तर, पनि अहिले म निराश भएँ। मैले सबैभन्दा महान् दिमागहरू भएका मध्ये एकलाई साथी बनाएको थिएँ। त्यसलाई साथी बनाएको थिएँ, जो लड्थ्यो र गलतमाथि प्रश्न गर्थ्यो। तर अहिले, इमानदारीपूर्वक भन्नुपर्दा सबैलाई जस्तै मलाई पनि थाहा छैन कि हामीसँग त्यही व्यक्ति छ ? तपाईँले सुरुमा जुन बाटो रोज्नुभएको थियौ, अहिले त्यही बाटो हिँडिरहनुभएको छ?’
‘एक चोटि सम्झनुस्। त्यो प्रधानमन्त्रीको पदमा आज तपाईँलाई हामी सबैले पुर्याएरै छोडथ्यौं। त्यसको लागि, म आफै सक्दो प्रयास गर्थेँ। म अझै पनि गर्थेँ, किनकि त्यो हाम्रो मित्रताको आधार थियो। नेपाललाई राम्रो बनाउन, सबैका लागि,’ उनले थपेका छन्।
‘ब्युटी विथ द प्रपोज’ मा जितेको पैसाबारे आफ्नो तथ्यगत गल्ती भएको सिसनले स्वीकारेका छन् । आफ्नो गल्ती भएको बताउँदै उनले प्रश्न गरेका छन्,‘विश्वास गर्नुहोस् वा नगर्नुहोस्, म अझै पनि जान्न चाहन्छु कि त्यो कोषको उचित प्रयोग भयो कि भएन? म जस्तो मान्छेको दिमागमा यस्तो प्रश्न आउन थालिसक्यो।’
उनले भनेका छन्, ‘यो क्षणमा म माफी माग्न वा माग्नुपर्छ भन्दिन। न त थप जस्टिफाइ नै गर्न सक्छु। म केवल आफूलाई धेरै प्रतिक्रियाशील नहुन र राम्रो व्यक्ति बन्न वाचा गर्छु। यो भन्दा धेरै म बोल्दिन। देशमा अझै धेरै महत्त्वपूर्ण कुराहरू गर्ने बेला छ। भ्रष्टाचार र राजनीति मूल मुद्दा भएको छ। थप छलफल गर्नु छ भने लाइभ पोडकास्ट नै गर्न तयार छु। बरु शक्तिशाली पोजिसनमै हुनहुन्छ, तपाईँलाई हामी भन्दा धेरै खेल थाहा छ।’
उनले आफ्नो स्टोरी मार्फत श्रृखंलालाई चलिरहेको प्रणालीसँग लड्न मद्दत गर्न पनि आह्वान गरेका छन्।
सँगसँगै आफूँमा अब विष मात्रै रहेकाले घृणित भए पनि साँचो बोल्ने सिसनको भनाई छ।


Leave a Reply