
काठमाडौं । नेपालको ओस्कर छनोट समितिको निर्णयमा आपत्ति जनाउँदै नेपालका केही चलचित्रकर्मीले अमेरिकास्थित मुख्यालयमा उजुरी दिएका छन् । छनोट समितिले ‘अन्जिला’ चलचित्रलाई ९८ औं ओस्कर अवार्डका लागि सिफारिस गरेपछि ‘गुन्यु चोलो’ टिमले विरोध जनाएको थियो ।
विमल पौडेल नेतृत्वको छनोट समितिले हचुवाको भरमा निर्णय गरेको भन्दै एकेडेमी अफ मोसन पिक्चर आर्टस् एण्ड साइन्सेसमा उजुरी गरिएको हो । चलचित्रकर्मीहरू दीपक रौनियार, समुन्द्र भट्ट, विनोद पौडेल, नाजिर हुसेन, एलन आर मिलिगन, रामकृष्ण पोखरेल, दीपेन्द्र लामा, पूर्णसिंह बराइली, नवीन, सुब्बा, मनोज पण्डित लगायतको हस्ताक्षरसहितको उजुरी लस–एन्लसस्थित मुख्यालयमा पुगेको हो । उजुरीमा ‘अन्जिला’लाई सिफारिस गर्ने निर्णयलाई खारेज गर्न माग गरिएको छ ।
नेपालको चलचित्र विकास बोर्ड र ओस्कर छनोट समितिलाई समेत उजुरी पत्रको बोधार्थ पठाइएको निर्देशक समुन्द्र भट्टले बताइन् । उनले भनिन्, ‘अब बाँकी जे गर्नुपर्ने हो, मुख्यालयले गर्छ । हामीले त यो छनोट समितिको वैधानिकता र कार्यविधिमाथि प्रश्न उठाउँदै आएकै हौँ ।’
ओस्कारका लागि सेप्टेम्बर ३० भित्रमा चलचित्र बुझाइसक्नुपर्ने हुन्छ । विवादका कारण एकेडेमी अफ मोसन पिक्चर र आर्टसले नेपालको प्रतिनिधित्व नगराउन सक्ने खतरा बढेको बताइन्छ ।

Leave a Reply