आन्दोलनमा गोली खाएका मनोजको दोहोरो पीर : परिवार कसरी पाल्ने, लोकसेवा कसरी पढ्ने ?

कैलाली । मनका विश्वास र आशामा सपना बोकेर दश वर्षअघि बझाङबाट काठमाडौं छिरेका मनोजले होस खुलेपछि आफूलाई फ्रन्टलाइन अस्पतालको सैय्यामा पाए ।

जयपृथ्वी नगरपालिका-७ धउनाउका २८ वर्षीय मनोज देशमै केही गर्ने हुटहुटी बोकेर राजधानी आएका थिए । तर २४ भदौमा जेनजी आन्दोलनमा सहभागी हुन गौशाला पुगेका बेला उनलाई गोली लाग्यो ।

गौशालामा दुई गोली लागेपछि अचेत अवस्थामा नै उनलाई अस्पताल पुर्‍याइयो । दुई दिनपछि मात्र उनको होस आयो । अहिले स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । ज्यान जोगिएको खुसीसँगै शरीरमा लागेको गोलीले मजदुरी कसरी गर्ने, लोकसेवा कसरी पढ्ने भन्ने चिन्ताले उनलाई पिरोलेको छ ।

‘दाजु, शरीरमा गोली लाग्यो, अब पहिले जस्तो त हुँदिन होला,’ स्वास्थ्य अवस्था बुझ्न आइतबार डेरामै पुगेका एमाले नेता ऐन महरसामु विरह पोख्दै उनले भने, ‘अब कसरी परिवार पाल्ने रु कसरी काम गर्ने रु’ मनोजको अवस्था देखेर महरले तत्काल पाँच हजार सहयोग गरे र अरूलाई पनि सहयोग गर्न आग्रह गरे ।

मनोज आर।आर। क्याम्पसबाट पत्रकारिता स्नातक गर्दै थिए । दैनिक ज्यालादारीबाट आउने रकमले पढाइसँगै लोकसेवाको तयारी गरिरहेका थिए । तर आन्दोलनमा गोली लागेपछि पढाइ रोकिएको छ, आर्थिक अभाव सुरु भएको छ ।

अस्पतालमै केही समय अझै बिताउनुपर्ने भएकाले समस्या अझ बढेको छ । बझाङबाट श्रीमती काठमाडौं पुगेकी छन् । उनी मनोजलाई पकाएर खुवाइरहेकी छन्, तर के पकाउने रु भन्ने चिन्ता उनलाई पनि सताइरहेको छ । त्यसै बीच कोठा भाडा माग्दा मौन बस्नुपर्ने बाध्यता छ ।

‘अहिले उपचारको क्रममा छु, आफैँ काम गर्न सक्दिनँ । श्रीमतीलाई बोलाएको छु तर काठमाडौंमा बस्ने आधार छैन । कोठा भाडा र दैनिक खर्च टार्न सकिरहेको छैन,’ मलिन अनुहार बनाउँदै मनोजले भने ।

मनोजका घरमा आमा, बुबा र ३ वर्षीय छोरा छन् । सबैको सहारा बनेका उनी अहिले आफैँ अरूको सहारामा हिँडिरहेका छन् ।

‘२३ गते नै आन्दोलनमा जाऊँजाऊ लागेको थियो तर घरबाट नजानु भन्ने निर्देशन थियो । पहिलो दिनकै घटनामा १९ जनाको मृत्यु भएपछि म रोक्किन सकिनँ,’ उनले त्यो दिन सम्झिँदै भने, ‘२४ गते बिहान खाना खाएर गएँ अनि आन्दोलनमा लागेँ । कसले गोली हान्यो थाहा भएन । दुई दिनपछि होस आउँदा अस्पतालको बेडमा थिएँ । मोबाइल अझै भेटिएको छैन ।’

अस्पतालबाटै मनोजको परिवारलाई उनको अवस्थाबारे जानकारी गराइएको थियो । त्यसपछि श्रीमती काठमाडौं आएर उनको हेरचाह गरिरहेकी छन् । हाल अस्पतालले डिस्चार्ज गरे पनि पटक–पटक अस्पताल धाइरहनु पर्छ, महँगो औषधि खाइरहनु पर्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *