
धनगढी । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले लोकसेवा आयोगप्रति आम नेपालीहरूको विश्वसनीयता कायम गरिरहेको उल्लेख गर्दै यसलाई निरन्तरता दिन आवश्यक रहेको बताएका छन् ।
सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगको पाँचौँ वार्षिक प्रतिवेदन ग्रहण गर्दै उनले आयोगप्रति नागरिकहरूको आस्था अझैसम्म पनि बलियो रहेको उल्लेख गरेका थिए ।
‘अहिलेसम्म पनि लोकसेवा आयोगप्रति नागरिकहरूको विश्वास धेरै छ यसलाई कायम राख्नु पर्छ’ उनले भने, ‘नागरिकहरूको विश्वसनीयता घट्न दिनु हुँदैन । त्यसमा सबै लाग्नुपर्छ ।’
कार्यक्रममा आयोगका अध्यक्ष यज्ञराज बोहराले आयोगको वार्षिक प्रतिवेदनबारे जानकारी गराएका थिए । उनले आयोगका उपलब्धि, समस्या र चुनौतीबारे संक्षिप्त विवरण समेत प्रस्तुत गरे ।

प्रदेश निजामती सेवा तथा स्थानीय सेवाको पदपूर्ति सम्बन्धी तालिका सार्वजनिक गरेको, ७१ पदका पाठ्यक्रम स्वीकृत गरी सार्वजनिक गरिएको र हालसम्म १६२ पदको पाठ्यक्रम निर्माण गरी सार्वजनिक गरिएको आयोग अध्यक्ष बोहराले बताएका थिए ।
६२० पदको विज्ञापन प्रकाशन गरेको, झन्डै ३० हजार दरखास्त स्वीकृत भएको, २०८१ ०८२ मा लिखित परीक्षामा ३७२ उम्मेदवार सहभागी भएको र अहिलेसम्म १ हजार ९९ जनालाई नियुक्तिको लागि सिफारिस गरेको विवरण पनि अध्यक्ष बोहराले प्रस्तुत गरेका थिए ।
अध्यक्ष बोहराले उपलब्धि र चुनौती प्रस्तुत गरेपछि प्रदेश प्रमुख मियाँले यस विषयमा मुख्यमन्त्रीमार्फत प्रदेश सभामा पनि छलफल हुने बताएका थिए । साथै उनले प्रतिवेदनमा उठाइएका समस्या समाधानका लागि आफूसमेत पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रतिवेदन बुझाउने कार्यक्रममा आयोगका अध्यक्ष बोहरासहित सदस्यहरू लक्ष्मणबहादुर खड्का, भागरथी राना तथा सचिव ओमबहादुर खड्का उपस्थित थिए । त्यस्तै, प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शेखरकुमार रोकाया, प्रमुख स्वकीय सचिव साबिर अलीलगायत कर्मचारीहरूको पनि सहभागिता रहेका थिए।

Leave a Reply