फेरि सर्यो ‘अभिमन्यु’ को प्रदर्शन मिति, असोज २४ मा रिलिज

काठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ को प्रदर्शन मिति पुनः सरेको छ । यही असोज १३ गते अर्थात् दशैंको फूलपातीबाट रिलिज हुने भनिएको चलचित्र, अब असोज २४ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।

निर्माण पक्षले आइतबार एक विज्ञप्ति जारी गर्दै चलचित्रको रिलिज मिति पछाडि सारिएको जानकारी दिएको हो । १३ गतेकै दिन चारवटा नेपाली चलचित्र एकैसाथ प्रदर्शनमा आउने भएपछि, शो संख्या कम हुने चिन्ता बढेको र प्रदर्शक तथा वितरकहरूको आग्रहलाई मध्यनजर गर्दै ‘अभिमन्यु’ को नयाँ मिति तोकिएको विज्ञप्तिमा उल्लेख छ ।

यस दिन चलचित्रलाई नेपाली र हिन्दी दुवै भाषामा नेपालका साथै भारत र विश्वव्यापी रूपमा प्रदर्शन गरिने निर्माण पक्षले स्पष्ट पारेको छ ।

खासमा यो चलचित्र भदौ २७ गते नै प्रदर्शनमा आउने तय भएको थियो । तर, जेनजी आन्दोलनका कारण चलचित्रको प्रदर्शन मिति अनिश्चितकालको लागि स्थगित भयो। आन्दोलनको माहोल केहि सेलाएपछी निर्माण टिमले असोज १३ गतेलाई अर्को प्रदर्शन मिति फाइनल गर्यो। अहिले पुन चलचित्रको प्रदर्शन मिति सारी असोज २४ लाई प्रदर्शन मिति तोकिएको छ।

प्रदर्शन मिति सारिएसंगै असोज २४ मा रिलिज हुने यो सोलो चलचित्र बनेको छ, जसलाई निर्माण पक्षले फाइदाजनक अवसरका रूपमा लिएको छ।

सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको ‘अभिमन्यु : च्याप्टर १’मा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देल मुख्य भूमिकामा छन् । सुशान्त गौतमले निर्देशन र मुकेश खनालको लेखन रहेको ‘अभिमन्यु : च्याप्टर १’का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *