
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारसँग गरिएको छलफलले निजी क्षेत्रको मनोबल उकास्ने सन्देश दिएको बताएका छन् ।
आइतबार प्रधानमन्त्रीसँग निजी क्षेत्रका पदाधिकारीको भेटवार्तापछि बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । उनले उद्योग व्यवसायहरूमा भएको आगजनी तथा लुटपाटपछि सरकारले सकारात्मक सन्देश दिन खोजेको बताएका छन् ।
अध्यक्ष ढकालले भने, ‘उद्योग तथा व्यवसायमा भएको तोडफोड तथा आगजनीबाट भएको क्षतिमा सरकारले साथ सहयोग गर्ने भनेको छ । यसले निजी क्षेत्रका लागि सकारात्मक सन्देश दिएको छ ।’
आन्दोलनका क्रममा निजी क्षेत्रमा भएको तोडफोड, आगजनी भएको थियो । सरकारले तोडफोड तथा आगजनी भएको सबैजसो उद्योगी तथा व्यवसायीहरूलाई बोलाएर छलफल गरेको छ । यसबारे सरकारले सम्बोधन गर्ने भनेकोले सरकारको भनाइबाट निजी क्षेत्र आशावादी रहेको उनले जानकारी दिए ।
जेन जी आन्दोलनका क्रममा उद्योगी तथा व्यवसायीहरुमाथी भएको आक्रमणबारे प्रधानमन्त्री सुशीला कार्कीले निजी क्षेत्रका प्रतिनिधिहरुसंग छलफल गरेको थिइन् । छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, उर्जामन्त्री कुलमान घिसिङ लगायत निजी क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति थियो ।

Leave a Reply