बागमतीका एमाले जिल्ला अध्यक्षहरूको स्वर- संविधानको रक्षादेखि पार्टी सुधारसम्म

जेनजी आन्दोलनपछि विकसित परिस्थितिबीच अब नेकपा (एमाले) कसरी अगाडि बढ्छ ? अहिले यो जिज्ञासा सर्वत्र छाएको छ । यसै सन्दर्भमा बागमती प्रदेशका १३ जिल्लाका एमाले अध्यक्षहरू देश, पार्टी र परिस्थितिका बारे के भन्छन्, यहाँ उल्लेख गरिएको छ ।

सिन्धुपाल्चोकका अध्यक्ष होमनाराण श्रेष्ठले एमालेको पहलमा घोषण भएको संविधानको रक्षा गर्न गाउँदेखि शहरसम्मका समुदाय लाग्नुपर्ने बताए । प्रेस चौतारी नेपाल सिन्धुपाल्चोकको आयोजनामा सम्पन्न ‘नेपालको संविधान, वर्तमान राजनीति र अबको गन्तव्य’ विषयक अन्तरसंवादमा उनले सो कुरा बताएका हुन् ।

संविधान घोषणा नगर्न विदेशीले गरेको चलखेललाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले रोकेको भन्दै उनले यो संविधान जनताको रगत र पसिनाको दस्तावेज भएकोले जनताको संविधान जनताले नै रक्षा गर्नुपर्ने बेला आएको बताए ।

सिन्धुलीका अध्यक्ष महेन्द्रदेव श्रेष्ठ पनि संविधानको रक्षा मूल शर्त हुने बताउँछन् । त्यहाँ पार्टी जिल्ला कमिटीले संविधान दिवसका अवसरमा आयोजना गरेको विस्तारित बैठक, र्‍याली, कोण सभा र दीपावलीका क्रममा उनले त्यस्तो धारणा राखेका हुन् । त्यहाँ एमालेको पार्टी कार्यालयसहित धेरै सरकारी कार्यालयमा जेनजी प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका छन् । आगजनीबाट एमालेको दुई करोड बराबरको क्षति पुगेको अध्यक्ष श्रेष्ठले बताए ।

दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठले हाल निर्माण भएको अन्तरिम सरकारप्रति पार्टीको असहमति रहेको बताए । संविधान दिवसका अवसरमा चरिकोटमा आयोजित कोण सभालाई सम्बोधन गर्दै उनले नेपालको संविधानअनुसार सरकार नबनेका कारण एमालेले अन्तरिम सरकारलाई अस्वीकार गर्ने धारणा राखे ।

श्रेष्ठले संविधानअनुसार बनेको सरकारलाई मात्रै पार्टीले मान्यता दिने बताउँदै नेपाली जनताको बलिदान र योगदानबाट २०७२ सालमा जारी भएको संविधानविपरीत बनेको सरकारलाई स्वीकार गर्न नसकिने बताए । उनले आन्दोलनमा घुसपैठको निष्पक्ष छानबिनको माग गरे ।

संविधानको रक्षा र देशको सार्वभौमसत्तामाथि भइरहेको आक्रमणविरुद्ध सबै एकजुट हुनुपर्ने बताउँदै अध्यक्ष श्रेष्ठले नेकपा एमाले राष्ट्रियता र संघीयताको विरुद्ध कुनै पनि गतिविधिमा हस्तक्षेप भए प्रतिवाद गर्न सदैव तयार रहेको बताए ।

रामेछापका अध्यक्ष पुरुषोत्तम कडरियाले २०७२ सालमा जारी भएको संविधानको पक्षमा एमाले दृढतापूर्वक उभिने बताए ।

‘हामी तीन लालका मान्छे हौँ, गंगालाल श्रेष्ठको सन्तती हौँ, जस्तोसुकै हावाहुरी आएपनि सतिसालझैँ उभिने छौँ’, उनले भने । भदौ २३ र २४ को घटनाको निष्पक्ष छानबिन तत्कालीन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट शुरू गर्नुपर्ने उनको धारणा थियो ।

कडरियाले जिल्लाको विभिन्न स्थानीय तहबाट उपस्थित नेता, कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै प्रधानसेनापती अशोक सिग्देल, गृहमन्त्री रमेश लेखक र प्रहरी प्रमुखलाई घटनाको छानबिनको दायरमा ल्याउनुपर्ने बताए ।

‘छानबिनबाट आएको रिर्पोट हामी स्वीकार्छौं, चाहे हाम्रो अध्यक्ष नै दोषी किन नहुनुहोस्, सबै दोषीमाथि कारबाही हुनुपर्छ’, उनले भने ।

एमालेले संविधान दिवसको अवसरमा सदरमुकाम मन्थलीका विभिन्न चोकमा दीप प्रज्वलन गरेको थियो ।

काभ्रेका एमाले अध्यक्ष राजन भुर्तेलले नेपालको संविधान ठूलो बलिदान र संघर्षबाट प्राप्त भएको बताए । लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको बताउँदै उनले यो संविधानको रक्षा गर्नु आफूहरुको पहिलो कतव्र्य भएको उल्लेख गरे । भुर्तेलले अहिले प्रतिक्रियावादी र अराजकतावादी शक्ति देश र संविधानलाई समाप्त गर्न चलखेल गरेकाले यसको सशक्त प्रतिवाद गर्न आम कार्यकतालाई निर्देशन दिए ।

बनेपाको चारदोबाटोमा आयोजित कोण सभालाई सम्बोधन गर्दै उनले पार्टीले आजको आवश्यकता र युगको मागअनुसार पार्टी संगठन परिचालन गर्नुपर्ने बताए । एमाले काभ्रेले पनि संविधान दिवसको अवसरमा जिल्लाका विभिन्न चोकमा दीप प्रज्वलन गरेको थियो ।

धादिङका अध्यक्ष भूमि त्रिपाठीले २०७२ सालमा जारी भएको संविधानको पक्षमा उभिन आम नागरीकलाई अनुरोध गरे । उनले यो संविधानको रक्षा भयो भने जेनजीको भविष्य उज्वल हुने बताए । आन्दोलनमा घुसपैठ गरी आफ्नो कब्जामा लिई तोडफोड र आगजनी गरेको अरोप उनले लगाए ।

आन्दोलनको क्रममा विदेशी शक्तिको चलखेल र प्रयोग गरी सुनियोचित ढंगबाट जेन-जी पुस्ताको हत्या भएको बताउँदै त्रिपाठीले भने, ‘आन्दोलनमा नागरिकको ज्यान जाने गरी भएको घटना, तोडफोड र आगजनीको छानवीन गरी कानूनी कठघरामा ल्याएर कारबाही गर्नुपर्छ ।’

जेनजी पुस्ताले गरेको आन्दोलन अपहरणमा परेकाले फर्काएर लयमा ल्याउन र एमाले जेनजीसँगै रहेको उनले बताए । भ्रष्टाचाररहीत समाज निर्माण गरी समृद्ध मुलुक बनाउने सपना पूरा गर्ने शक्ति एमालेमात्रै भएकोले नयाँ पुस्तालाई एमालेसँग सहकार्य गर्न अनुरोध गरे ।

भक्तपुरका अध्यक्ष वचन देउजाले जनताको रगतले लेखेको संविधान बचाउँदै संविधानलाई कार्यन्वयन गर्नतर्फ लाग्नु् पर्ने बताए । पछिल्लो घटनाक्रमलाई वस्तुवादी ढंगले विश्लेषण गरी पार्टीलाई बलियो बनाउनुपर्ने उनको धारणा थियो ।

जिल्लामा भएको भेलालाई सम्बोधन गर्दै देउजाले जेनजी पुस्ताले उठाएका शुसाननका मागप्रति गम्भीर हुँदै आजको परिवेशमा संघ, प्रदेश र स्थानीय सरकारले सुशासन स्थापित गर्नुपर्ने बताए । भक्तपुरमा पनि एमालेले विभिन्न चोकमा दीप प्रज्वलन गरेको थियो ।

मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले ०६२-६३ सालको जनआन्दोलनपछि जनता र शहीदले बगाएको रगतको परिणामस्वरूप २०७२ मा नेपालले वर्तमान संविधान पाएको भन्दै यही खुशीयालीमा असोज ३ गतेलाई एउटा उत्सव रुपमा मनाउँदै आएको बताए ।

‘अहिले संविधानको सवालमा केही टीकाटिप्पणी होलान्, कुनै पनि वस्तु आफैँमा परिपक्व हुँदैन, त्यसलाई परिचालन गर्ने व्यक्तिमा पनि भरपर्छ’, उनले भने, ‘यो संविधान अत्यन्तै राम्रो हुँदाहुँदै पनि कार्यान्वयन पक्षमा केही त्रुटि छन् ।’

उनले त्रुटि भएकै कारण असन्तोष पैदा भएको र त्यो असन्तुष्टि जेनजीको नाममा प्रकट भएको उल्लेख गरे ।

संविधानवादअनुसार संविधानले निदृष्ट गरेअनुसार सरकार नबनेको भन्दै उनले भने, ‘तर, संविधान कायम छ, यो अवस्थामा संविधानको रक्षा सबैभन्दा महत्त्वपूर्ण कुरा हो, हाम्रो दायित्व हो ।’

उनले पार्टी नेतृत्व सच्चिनुपर्ने धारणा राखेका छन् । भने, ‘हाम्रो एजेण्डा अरुका भए, हाम्रो गल्ती के हो ? कुनै आग्रह पूर्वाग्रह, गुट-उपगुट छोडेर मिहिन ढंगले समीक्षा गरेर सच्चिनुको विकल्प छैन ।’ यदि त्यसो नगरे आगामी दिनमा पार्टीले अझै धेरै क्षति व्यहोर्नुपर्ने बताए ।

नुवाकोटका अध्यक्ष बद्री मैनालीले संविधान र लोकतन्त्र नेपाली जनताको प्राण भएकाले यसलाई रक्षा गर्न सबै नेपालीलाई आग्रह गरे । संविधान दिवसको उपलक्षमा विदुरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै मैनालीले भने, ‘अहिले संविधान मासियो भने नेपालका सबै जात, वर्ग र क्षेत्रका अधिकार हनन् हुन्छ, त्यस्तो हुन नदिन पार्टी कार्याकर्ता लाग्नु पर्छ ।’

जेनजीको भविष्य पनि अहिलेको संविधानबाट सुनिश्चित हुने भएकाले संविधानको विषयमा धेरै टीकाटिप्पणी नगर्न जेनजी पुस्ताका अभियान्तलाई आग्रह गरे । उनले अहिले विश्वमा भइरहेको सूचना प्रविधि र युवाको आकार्षणलाई बुझेर पार्टी नयाँ ढंगले परिचालन गर्नुपर्ने बताए ।

काठमाडौं भूगोल जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाले अहिलेको संविधान कोमामा पुगेकाले देश, जनता र समयको मागअनुसार परिमार्जन हुनुपर्ने बताए । ‘यो संविधानमा केही अपूर्ण बुँदा पनि हुनसक्छन्, ती समयानुकूल परिमार्जन हुनुपर्छ’, उनले भने ।

उनले पार्टी संगठनमा पछिल्लो घटनाले कार्यकर्तामा पुस्तान्तरणको माग आएको बताए । ‘यो पुस्तान्तरणको एजेण्डा पनि अध्यक्ष केपी शर्मा ओलीको नै भएकोले पार्टी आन्तरिक जीवनमा पुस्तान्तरण, हस्तान्तरण सामन्य कुरा हो’, उनले भने । अबको महाधिवेशमा यो विषयको प्रवेश हुनु स्वाभाविक रहेको उनले बताए ।

नेकपा एमाले चितवन जिल्ला अध्यक्ष कमलराज पाठकले आन्दोलनमा रास्वपा, राजावादी र केही दलका असन्तुष्ट समूहले जेनजी आन्दोलनमा घूसपैठ गरेको बताए । उनले केपी शर्मा ओली चीनमा गएर लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो भूमि हो भनेपछि भारत बिच्किएर यो षड्यन्त्र रचेको बताए ।

राष्ट्रियताको पक्षमा दह्रो उभिएकै कारण राष्ट्रियताविरोधी शक्ति र विदेशी शक्तिको चलखेलमा षड्यन्त्र गरेर जेनजीको व्यानरमा विध्वंशकारी आन्दोलन रचिएको उनले बताए । संविधान र राष्ट्रियताको रक्षा गर्ने सामर्थ्य राख्ने एकमात्र पार्टी एमाले भएकाले कत्ति पनि विचलित नभई एकजुट भएर पार्टीको काममा लाग्न उनले कार्यकर्ताहरूलाई निर्देशन दिए ।

ललितपुरका अध्यक्ष पुरुषोत्तम आचार्यले यो संविधान कागज थुप्रो होइन, जनताको ठूलो त्याग र बलिदानको दस्तावेज भएको बताए । उनले भने, ‘संविधान कुनै स्थिर वा अपरिवर्तनीय दस्तावेज होइन, समयअनुसार परिमार्जन र संशोधन गर्न सकिन्छ ।’

एमाले नेपाली समाजको रक्षक शक्ति रहेको भन्दै उनले जनताको माग र समाज विज्ञानका नियमअनुसार नीति, नेतृत्व र व्यक्तित्व परिवर्तन हुँदै जाने बताए । ‘यो समयको माग हो । तर, अहिले समाजमा सद्भाव कायम गर्ने बेला हो’, उनले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *