
काठमाडौं । नेपालको तर्फबाट सन् २०२६ को ९८ औँ ओस्कर अवार्डको अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा ‘अन्जिला’ सिफारिस भएपछि ‘गुन्यु चोलो’ टिमले पत्रकार सम्मेलनगरेरै विराे जनाएकाे छ । आज रिपाेर्टर्स क्लवमा आयाेजित पत्रकार सम्मेलनमा निर्देशक र पत्रकारबीच चर्काचर्कीसमेत पर्याे ।
चलचित्र विकास बोर्डले आवेदन आह्वान गर्दा जम्मा दुई चलचित्रले आवेदन दिएका थिए, ‘अन्जिला’ र ‘गुन्युचोलो’ । यी दुई चलचित्रमध्ये चिरञ्जीवी गुरागाईँ, जीवन पराजुली, कपिल पराजुली र विमल पौडेलको छनोट समितिले मिलन चाम्स निर्देशित ‘अन्जिला’लाई ओस्कर अवार्डमा सिफारिस गर्यो ।
तर, चिरन्जीवी गुरागाईं अमेरिकामा रहेको भन्दै के आधारमा चलचित्र हेरेर ‘अन्जिला’लाई सिफारिस गरे भनेर ‘गुन्यु चोलो टिमले प्रश्न उठाएको छ । त्यस्तै छनोट समितिमा रहेका पत्रकार जीवन पराजुलीमाथि पनि नैतिक प्रश्न उठाइएको छ । पराजुली ‘अन्जिला’ चलचित्रको मिडिया कोअर्डिनेटर थिए ।
चलचित्र विकास बोर्डले ओस्कारमा नेपालबाट चलचित्र पठाउने सन्दर्भमा घुसपैठ गरेको भन्दै ‘गुन्यु चोलो’ टिमले आज प्रेसमिटको आयोजना गरेकाे हाे । प्रेसमिटमा निर्देशक समुन्द्र भट्टले विकास बोर्डले राम्रोसँग ओस्कारका लागि सूचना सम्पेषण नगरेको आरोप लगाइन् ।
निर्देशक दीपक रौनियारले पनि बोर्डले आवेदन आह्वान गरेकोबारे आफूले थाहा नपाएको भन्दै सञ्जालमा स्टाटस लेखेको सन्दर्भ समेत उप्काइन् । रौनियारको ‘राजागन्ज’ पनि गत वर्ष नै प्रदर्शन भएको थियो ।
प्रेसमिटमा ‘गुन्यु चोलो’ का अभिनेता तथा सहलेखक नाजिर हुसेनले पनि छनोट प्रक्रिया पारदर्शी हुनुपर्ने औंल्याए । उनले प्रश्न गरे, ‘एकजना छनोटकर्ता अमेरिकामा हुनुहुन्छ । उहाँले फिल्म नहेरी निर्णय गर्नु कत्तिको जायज हो ? फिल्मको मिडिया कोअर्डिनेटर भएको मान्छे समितिमा बसेर आफ्नै फिल्म छनोट गर्नु कत्तिको जायज हो ?’
साथै आफूहरुको फिल्म छनोट भएन भन्ने भन्दा पनि छनोट समितिको नियतमा आफूहरुले प्रश्न गरेको नाजिरको भनाइ छ । शक्तिको दुरुपयोगमाथि आफूहरुले प्रश्न उठाएको उनले बताए । आफूहरुलाई जति थिच्न खोजिन्छ, उत्ति चर्किने बताए ।
यसपछि पत्रकार रघुनाथ सापकोटाले नाजिरलाई प्रश्न सोधे, ‘तपाईंले आवेदन खुलाएको राजागन्जको दिपक रौनियारले पनि थाहा पाएन भन्नुभयो । मेरो विचारमा ८० प्रतिशत बढी फिल्ममेकरलाई थाहा छ, ओस्करको फर्म खुलेको । सबै मिडियाले न्युज कभरेज गरेको छ । तर तपाईहरुलाई कसरी थाहा भएन ? कि प्रत्येकलाई फोन गर्नुपथ्र्यो वा के गरी बुझाइदिनुपथ्र्यो ?’
यसपछि निर्देशक भट्ट जवाफ दिनलाई पोडियममा आइपुगिन् । भनिन्, ‘यही भएर मैले कार्यविधि मागेको हो । कार्यविधि के हो ? मलाई तपाईंले कार्यविधि उपलब्ध गराइदिन सक्नुहुन्छ ? यसको छनोट प्रक्रिया के हो ? एक वर्षमा क–कसले फिल्म बनाए, सबैलाई कल गर्ने वा मेल पठाउने हो कि सोसल मिडियाबाट थाहा पाउने हो हो ?’
सापकोटाले भने, ‘कार्यविधि मलाई थाहा छैन । समाचारले पनि थाहा पाउने भन्ने हुन्छ नि ! कहिलेकाहीँ हामीले गाली गरेर लेखेको कुरा तपाईंहरु थाहा पाइहाल्नुहुन्छ । तर, सूचना आएको थाहा पाउनुहुन्न भने कसको गल्ती हो ?’
भट्टले भनिन्, ‘यदि म चलचित्र निर्देशक समाजमा थिइनँ भने मैले पनि थाहा पाउने थिइनँ ।’
सापकोटाले भन्छन्, ‘कुनै पनि चिजको विज्ञप्ति आइसकेपछि…।’
भट्ट आक्रोशित बन्छिन्, ‘विज्ञप्ति चाहिँ कहाँ आयो त ? सोसल मिडियाबाट आउने हो ? त्यही भएर मैले कार्यविधि चाहिँ खै भनेकी हुँ ? तपाईलाई जिमेलमा आयो कि केमा आयो विज्ञप्ति ?’
‘जिमेलमा आयो,’ सापकोटाले भन्छन् ।
‘हो त्यसरी…,’ हल्लाखल्लाकै बीचमा भट्ट भन्छिन्, ‘तपाईंहरुलाई पठाउन मिल्ने, अनि निर्देशकहरुलाई पठाउन नमिल्ने हुन्छ ?’
यसपछि फेरि हल्लाखल्ला हुन्छ ।
‘अफिसियल पेजमा सूचना आयो ? आएन नि ! त्यसकारण मैले कार्यविधि के हो ओस्कर कमिटिको भनेर प्रश्न गरेकी हुँ । यो एदकमै लज्जास्पद छ,’ भट्ट कुल हुँदै भन्छिन्, ‘यो समितिले के आधारमा फिल्म छनोट गर्यो ? जुन फिल्म गए पनि हामीलाई आपत्ति छैन । तर, यसको छनोट प्रक्रिया पारदर्शी हुनुपर्यो । बायस हुनुभएन । देशको प्रतिनिधित्व गर्ने चिज हो, कुनै पनि ठेकदारले ठेक्का लिने चिज होइन ।’
ओस्करको छनोट प्रक्रिया त्रुटीपुर्ण रहेको समेत भट्टको ठहर छ । प्रेसमिटमा भट्ट, नाजिरदेखि अन्य चलचित्रका कलाकारहरु समेत उपस्थित थिए ।

Leave a Reply