
काठमाडौं । नेपालको तर्फबाट सन् २०१६ को ९८ औँ ओस्कर अवार्डको अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा ‘अन्जिला’ सिफारिस भयो । चिरञ्जीवी गुरागाईँ, जीवन पराजुली, कपिल पराजुली र विमल पौडेलको टिमले मिलन चाम्स निर्देशित ‘अन्जिला’लाई ओस्कर अवार्डमा सिफारिस गरेको हो ।
चलचित्र विकास बोर्डले आवेदन खुलाउँदा दुई चलचित्रको मात्र आवेदन परेको थियो, ‘अन्जिला’ र ‘गुन्यु चोलो’ । राष्ट्रिय महिला फुटबल खेलाडी अन्जिला तुम्बापोको जीवनीमा आधारित बायोपिक ‘अन्जिला’ ले बक्स अफिसमा पनि राम्रो कमाइ गरेको थियो । समुन्द्र भट्ट निर्देशित ‘गुन्यु चोलो’ ले राम्रो समीक्षा पाए पनि दर्शक तान्न सकेन ।
निर्देशक भट्टका अनुसार उनले तीन वर्ष समय लगाएर ‘गुन्यु चोलो’ भट्टले तीन वर्ष लगाएर निर्माण गरेकी थिइन् । आफ्नो चलचित्र ओस्करका लागि सिफारिस नभएपछि विकास बोर्ड र सिफारिस समितिसँग रुष्ट बनेकी छन् । आफ्नो असन्तुष्टिबारे नेपाल प्रेससँग भट्टको भनाइ, उनकै शब्दमा:
ओस्करमा नेपाली चलचित्र पठाउने सिफारिस कमिटीमा लायक मान्छे नै छैनन् । म आफैँले हार्ड ड्राइभ बोकेर, ल्यापटप बोकेर मेरो श्रीमानसँग विकास बोर्डमा गएँ । त्यहाँ टिभीमा फिल्म देखायौँ ।
त्यहाँ कलरिस्ट दाइ कपिल पराजुली हुनुहुन्थ्यो । अब कलरिस्टले कसरी साउण्डको काम हेर्नुहुन्छ ? साउण्डको मूल्यंकन कसरी गर्नुहुन्छ ? अर्को सदस्यमा पत्रकार जीवन पराजुली हुनुहुन्थ्यो । उहाँ फिल्म क्रिटिक्स होइन । उहाँले कसरी फिल्म एनलाइसिस गर्नुहुन्छ ?
विमल पौडेल संयोजक रे । उहाँले कुन मापदण्डको आधारमा फिल्मको मूल्यंकन गर्नुहुन्छ ? अर्को आश्चर्यजनक कुरा त चिरन्जिवी गुरागाईँ भन्ने पनि सदस्य हुनुहुन्छ । बोर्डको पूर्वस्टाफ उहाँ त भिजिट भिसामा अमेरिका जानुभएको छ । ग्रीन कार्ड नपाएर लुकेर बस्नुभएको छ । उहाँले मेरो फिल्म नहेरी कसरी भोट गर्नुभयो ?
जीवन पराजुली आफैँ ‘अन्जिला’को मिडिया कोअर्डिनेटर हुनुभएको रहेछ । मलाई त आज मात्रै थाहा भयो । हिजो नै थाहा भएको भए यस्तो निर्णय हुँदैन थियो सायद । आफैँ ‘अन्जिला’ को मिडियाकोअर्डिनेटर भएको मान्छे जुरीमा बस्न मिल्छ ? यो जायज छ त ?
फिल्मलाई के आधारमा जज गरे, त्यो खुलाइएको छैन । मेरो असन्तुष्टि यहीँ हो । मेरो फिल्मलाई विकास बोर्डले सिफारिस नगरे पनि ओस्करमा जाने वैकल्पिक उपायहरू टन्नै छन् । यति मात्रै हो, मेरो फिल्मले नेपालको प्रतिनिधित्व नगर्ने भयो ।
मैले मेरो फिल्मलाई समृद्ध बनाउनका लागि स्कोरमा पहिल्यै ओस्कर जितिसकेको मार्सेलो डी फ्रान्सिसीलाई राखेकी थिएँ । ‘ग्लाडियटर २’ मा काम गरिसक्नुभएको लिजा जेरार्डलाई राखेकी थिएँ । रिथी पान्हजस्ता पाँचपटक ओस्करमा नोमिनेसनमा परिसक्नुभएको व्यक्ति मेरो फिल्मको कार्यकारी निर्माता हो । तीन चार वर्ष लगाएर मैले फिल्ममा मिहेनत गरेकी छु ।
अस्ति भर्खर पनि त्यत्रो युवाहरू भ्रष्टाचार नहोस् भनेर शहीद बन्नुभयो । अहिले त्यही चिज रिपिट भयो । ‘अन्जिला’ आफैँमा कमर्सियल हिट फिल्म हो । यो फिल्म भन्दा पनि बायोपिक हो । मैले ‘गुन्यु चोलो’ ओस्करकै लागि बनाएको फिल्म हो । नत्र नेपालमा दश लाखमा हुने साउण्ड बाहिर एक लाख डलर किन तिर्नु ? नाजिरले गरेको कामको प्रशंसा पाइरहेको छ । तर मेरो चलचित्रलाई रोकियो, यो अपमानजनक भयो । ‘अन्जिला’ राम्रो छ, तर प्राविधिक पाटोमा मेरो फिल्म धेरै राम्रो छ । यो यथार्थ सबैले स्वीकारेका छन् ।

Leave a Reply