अब ‘ईफ’ र ‘बट’ हैन, धमाधम पुस्तान्तरण र पुनर्गठन

जेनजी आन्दोलन निश्चित विचार, दल वा समूहको थिएन, सिंगो पुस्ता एकाकार भएर चलेको विद्रोह थियो । त्यसले एक, दुईवटामात्रै माग, सन्देश र सचेतना दिएन, सयौँ र हजारौँ ज्ञानका साथ यसले तत्काललाई विश्रम लिएको छ । यसलाई ‘सकियो’ भनेर बुझ्नु सबभन्दा ठूलो मूर्खता हुनेछ । हामी नसच्चिँदासम्म यो सकिँदैन ।

आन्दोलनका क्रममा हालसम्म ७२ जनाले ज्यान गुमाएको समाचार छ । त्यसभित्र अधिकांश जेन जेड उमेरसमूहका कलिाला भाइबहिनी छन् । जीवन सबैलाई प्यारो लाग्छ । त्यसमा पनि भर्खरै ‘जीवन’ बुझ्दै गरेका भाइबहिनीलाई बाँच्ने रहर कति धेरै हुन्छ, हामी हाम्रो यो उमेरमा पुगेर एकपटक सोचौँ त । तर, तिनै भाइबहिनीलाई अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रअगाडि जसरी गोली ताकियो, त्यसले केवल उनीहरुको बाँच्ने अधिकारमात्र खोसिएन ।

नेपालको राजनीतिमा लामो समयदेखि जकडिएर बसेको ‘हजुरबा’ पुस्ताले आफ्नो हैकम बचाउने अन्तिम अस्त्र प्रहार गरेको थियो । त्यो अस्त्रले कलिला बालबालिकाको ज्यान लिएसँगै अबको राष्ट्रिय राजनीतिमा त्यो पुस्ताको उपस्थिति र उपादेयतालाई अन्त्य गरिदिएको छ ।

त्यो मामुली दमन वा हिंसामात्रै थिएन, जघन्य अपराध थियो । भन्नैपर्छ, हामीले लामो समयदेखि श्रृंगारपटार गरेर जोगाउँदै, पाल्दै, पोस्दै आएको ‘बूढो पुस्ता’ हो त्यो । त्यसैले त्यो अपराधको भागिदारी हामीसम्म आइपुग्छ । त्यसैले अब सच्चिनुभन्दा अर्को ठाउँ छैन ।

पार्टीभित्र नेतृत्वको देवत्वकरण कति महंगो पर्छ ? यसको उत्तर हो, जेन जेड आन्दोलन । भातृ संगठनका अधिवेशन गराउने, उद्घाटन अगाडि नै पार्टीको मूल नेतृत्वले फलानो र चिलानोका नाममा टीको दलेर नेता बनाउने चलनले त्यो दललाई मात्रै हैन, सिंगो मुलुकलाई कहाँ पुर्याएछ ? यसको उत्तर खोज्न जेन जेड आन्दोलन सम्झिए पुग्छ ।

देश, जनता र पार्टीका नाममा जीवन चढाएका नेता, कार्यकर्ताभन्दा बिचौलिया प्यारो हुँदा के हुँदोरहेछ ? त्यसको पनि उत्तर हो यो । ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादको नियमभित्रको अभ्यास गरौँ, विचार राखौँ, आलोचनात्मक बनौँ र सिंगो आन्दोलनको विकासका निम्ति निरन्तर गतिशील र क्रियाशील बनौँ भन्नेहरुको हविगत के भयो ?

उहिल्यै राणाकालमा ल्याइतेका सन्तानलाई अमलेखगञ्जको जंगलतिर औलो रोगले मारोस् भनी फ्याँकेजस्तो बनाइयो । फलतः जेन जेड आन्दोलनले एकमुष्ट भन्यो, ‘इनअफ इज इनअफ ।’

तसर्थ, अब लम्बेचौडे कुरा छैन । विशेषतः नेकपा एमाले, नेपाली कांग्रेसजस्ता देशका जिम्मेवार र निर्णायक राजनीतिक शक्तिलाई जनताको बीचमा जीवित राख्ने हो, गणतन्त्र, लोकतन्त्र र जनअधिकारको रक्षा गर्ने हो भने ती दलमा बिनाशर्त पुस्तान्तरण हुनुपर्छ ।

यसमा कुनै ‘ईफ’ र ‘बट’ हुँदैन । भयो भने हामी सक्कियौँ, हाम्रो राजनीति सक्कियो । त्यसैले पुस्तान्तरणसहितको पुनर्गठनमार्फत नेतृत्वको हस्तान्तरणतर्फ अग्रसर हुनु प्रत्येक राजनीतिक दलका दोस्रो, तेस्रो र चौथो तहसम्मका नेता र कार्यकर्ताका साझा दायित्व बनेको छ ।

त्यहाँ केपी ओलीलाई कहाँ राख्ने ? शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, माधवकुमार नेपाल, बाबुराम भट्टराईहरुलाई कुन कुन खोपीमा सजाउनुपर्छ, ठाउँ बनाउँदै गरौँ । तर, आज जसरी उनीहरुलाई श्रृंगारेर पदासिन गराइएको छ, अबका राजनीतिक दल त्यसरी चल्नेवाला छैनन् । चल्छ भन्ने भ्रम पालिएको छ भने बुझ्दा हुन्छ, अब समय सकियो ।

जनता कति सम्म निराशा र आक्रोशित रहेछ्न भन्ने कुरा जेन जेड आन्दोलनको ४८ घण्टामा सबै देखियो । हाम्रा छोराछोरीको चेतना र हाम्रो नालायिकीपन कति रहेछ भन्ने पनि देखियो ।

हाम्रा छोरा छोराछोरी जेन जेड आन्दोलनमा होमिएका थिए भने हामी नै सरकार र पार्टीका विभिन्न जिम्मेवारीमा थियौँ । जनता को कुरा त छाडिदिऔँ, आफ्नै घरका सन्तानलाई हामीले कुरा बुझाउन सकेका रहेनछौँ ।

आन्दोलनमा विभिन्न स्वार्थ समूह हावी भए । घूसपैठ पनि चरम तहसम्म भयो । देशका मात्रै हैन, विदेशका घूपैठिया थिए । राजनीतिक दलका नेतामाथि वर्षौंदेखि निगरानी र जासूसी गर्दै पत्ता लगाइएका सबै ठाउँमाथि एकैसाथ आक्रमण भयो । जेन जेड आन्दोलनका ४८ घण्टाभित्रै छताछुल्ल पारियो ।

भलै, त्यो काम नेपालको आन्दोलनकारी जेन जेड समुदायबाट हैन, उनीहरुका नाममा आपराधिक घूसपैठिया आए, तिनीबाट त्यस्तो काम भएको थियो । फलतः व्यक्तिका कुरा छाडौँ, व्यवस्था नांगियो, ‘लेनादेना’ को राजनीति उदांगो भयो । र, आन्दोलनले भन्यो, ‘अब त्यसरी चल्दैन ।’

आन्दोलन जेन जेडले गरे । विध्वंश अरुले मच्चाए । आन्दोलन ठीक थियो भन्दै मुख मिलाएर हुँदैन । विध्वंश गलत हो, तर जुन नाम र बहानामा भए पनि त्यो त्यत्तिकै भएन । विदेशी आए, अपराध भयो भनेर दलहरु पन्छिन मिल्दैन । जे भयो, नहुनुपर्ने कुरा भयो । किनभने, हामीले जे–जे गरिरहेका थियौँ, हुने कुरा गरिरहेका थिएनौँ भनेर सम्झिनुपर्छ । पार्टीमा पद चाहिए पैसा ।

राजनीतिक नियुक्तिमा पैसा । चुनावमा टिकट चाहिए पैसा । अध्यात्मिक चेतनाले भन्छ, ‘पापको भारी जति धेरै हुन्छ, त्यसले त्यति नै पिरोल्छ ।’ ‘पाप’, अर्थात् गलत नियतका साथ थुपारिएका पैसाले कसरी पिरोल्दोरहेछ भन्ने दृश्य पनि यो आन्दोलने देखाएको छ । घर जलेर खरानी भइसक्दा पनि पैसाको बिटो जलिरहेका थिए ।

यी सबै घटना र सन्दर्भले भन्छ, जसरी चलिरहेका छौँ, त्यसरी चल्दैन । पुस्तान्तरण र नेतृत्व हस्तान्तरण अनिवार्य शर्त हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *