काठमाडाैं । गत भदौ २३ र २४ गते जेनजीहरुले गरेको आन्दोलनको क्रममा सुपरमार्केट चेन भाटभटेनीको २८ मध्ये २१ वटा शाखामा क्षति भयो । १२ वटा शाखामा लुटपाटपछि आगजनी गरियो । धरानको भाटभटेनीमा पनि लुटपाटपछि आगजनी गरियो । त्यहाँ चारजनाको जलेको अवस्थामा शव नै फेला परिसकेको छ ।
धरानको भाटभटेनीमा भएको आगजनी र तोडफोडप्रति धरान उपमहानगरका मेयर हर्क साम्पाङले दुःख व्यक्त गरेका छन् । २३ गतेको जेनजीको आन्दोलनमा भएको हिंसाप्रति आफूले उपमहानगरकै लेटरप्याडमा दुःख समेत व्यक्त गरेको बताएका छन् ।
आफूले भानुचोकमा पुगेर जेनजीको आन्दोलनमा सम्बोधन समेत गरेको भन्दै उनले पत्रकारसँगको भेटघाटमा भने, ‘त्यस दिन धरानमा लाठी प्रहारसमेत भएन । यसको मतलव नगरप्रमुखले गरेको काम युवापुस्तालई मन परेको पनि हो । मैले भानुचोकमा गएर सम्बोधन समेत गरेँ ।’
आफूले भानुचोकमा सम्बोधन गरेर आएपछि भने जेनजीको आन्दोलनमा अराजक तत्वहरु घुसेर घुसपैठ गरेको हर्कको भनाइ छ । आफूूले छाडेर आएपछि अराजक तत्वहरुले व्यक्तिको घरमा गएर तोडफोड गरेको उनले बताए ।
आन्दोलनकारीले धरान उपमहानगरका पूर्व नगरप्रमुख मनोज मेन्याङ्बो, पूर्व नगर उपप्रमुख मञ्जु भण्डारी लगायतको घरमा लुटपाट समेत गरेका थिए । त्यस्तै भाटभटेनी सुपरमार्केटमा गएर आगजनी तथा लुटपाट गरेका थिए ।
हर्कले भने, ‘साढे पाँच बजे बन्द गरिएको भाटभटेनीमा गएर आगजनी भएको छ । खासमा देशैभरको भाटभटेनीलाई स्वाहा बनाउनुपर्छ भन्ने रैछ । विस्तारै यसको आन्तर्य पनि आउला । त्यहाँ मान्छे जलेर मरेको छ । यस घटनाप्रति दुःख व्यक्त गर्न चाहन्छु ।’
Leave a Reply