Gen-Z आन्दोलन: चितवन एमालेको जिल्लासहित ३ पालिकाको कार्यालय तोडफोड, २७ नेताको घरमा आजगनी

चितवन । नेकपा एमाले चितवनले जेन–जी समूहको २४ गतेको आन्दोलनमा पार्टी कार्यालय तथा जिल्ला नेताहरुका घरमा भएको तोडफोड, आगजनी तथा लुटपाटको विवरण सार्वजनिक गरेको छ ।

जिल्ला सुरक्षा समितिले चितवन जिल्लाभरमा १६ वटा मात्रै निजी घरमा आगजनीको विवरण सार्वजनिक गरेपनि नेकपा एमाले चितवनले आफ्नो जिल्ला नेता मात्रै २७ जनाको घरमा तोडफोड, आगजनी तथा लुटपाट भएको विवरण सार्वजनिक गरेको हो ।

नेकपा एमाले चितवनका जिल्ला सचिव प्रकाश ढुंगानाका अनुसार नेकपा एमाले चितवनको जिल्ला पार्टी कार्यालय, राप्ती नगरपालिकाको पार्टी कार्यालय र खैरहनी नगरपालिकाको पार्टी कार्यालयमा लुटपाट, तोडफोडपछि आगजनी गरिएको छ ।

यसैगरी जिल्लाभर २७ जना पार्टीका नेता कार्यकर्ताको घरमा तोडफोड, लुटपाट र आगजनी गरिएको नेकपा एमाले चितवनका सचिव ढुंगानाले नेपाल प्रेसलाई बताए ।

उनका अनुसार राप्ती नगरपालिकामा १८, खैरहनी नगरपालिकामा ४, भरतपुर महानगरपालिकामा ३ र कालिका नगरपालिकामा २ जना नेता कार्यकर्ताको घरमा लुटपाट, तोडफोड र आगजनी भएको छ ।

‘कतिपयको घरमा लुटपाट र तोडफोड मात्र गरिएको छ भने कतिपयको घरमा आगजनी नै गरिएको छ, उनले भने – छिमेकी र स्थानीयहरुले अरु घरमा पनि क्षति हुने भन्दै आगजनी गर्नबाट रोकेपछि अधिकांश नेता कार्यकर्ताको घर जल्नबाट भने बँचेको हो ।

नेकपा एमाले चितवनका अध्यक्ष कमल पाठकको घरमा समेत लुटपाट र तोडफोड गरिएको छ । आगजनी गर्नबाट स्थानीयहरुले जोगाएका थिए । त्यसैगरि नेकपा एमाले केन्द्रीय उपाध्यक्ष सुरेन्द्र पाण्डेको राप्ती नगरपालिकामा भएको घर, केन्द्रीय सदस्य तथा बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया, चितवन क्षेत्र नम्बर ३ का पूर्व सांसद कृष्णभक्त पोखरेल लगायतको घरमा तोडफोड, आगजनी तथा लुटपाट भएको छ ।

माडी नगरपालिका, इच्छाकामना गाउँपालिका र रत्ननगर नगरपालिकाभित्र कुनै पनि पार्टी कार्यालय र नेता कार्यकर्ताको घरमा क्षति नपुगेको सचिव ढुंगानाले जानकारी दिए ।

नेकपा एमाले चितवनले आगजनी र तोेडफोड गरिएका पार्टी कार्यालय र नेता कार्यकर्ताका घरमा जिल्ला नेतृत्वले आज स्थलगत अवलोकन पछि विवरण सार्वजनिक गरेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *