काठमाडौं । जेन जी आन्दोलनकाक्रममा काठमाडौंको लैनचौरमा रहेको एनसेलको मुख्य कार्यालयमा तोडफोड, आगजनी र लुटपाटको घटनामा कम्पनीको सम्पत्तिमा ठूलो क्षति पुगेको भन्दै उजुरी गरेको छ । सोमबार एनसेलले जिल्ला प्रहरी कार्यालय काठमाडौंमा उजुरी दर्ता गराएको हो ।
उजुरीमा यी घटनाहरूसँग संलग्न अपराधीहरूलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरी कानूनको दायरामा ल्याई हदैसम्मको सजायको भागिदार बनाई निजहरूबाट डकैती गरी लगिएको सामान फिर्ता दिलाउनु पर्ने एनसेलले माग गरेको छ । आगजनीबाट क्षति भएको सम्पत्तिको क्षतिपूर्ति समेत दिलाई भराई पाऊँ भन्दै एनसेलले उजुरी गरेको छ ।
आन्दोलनमा कम्पनीको सुरक्षाको लागि खटिएका सुरक्षाकर्मीहरूलाई एक ठाउँमा राखेर जलाउने डर धाक धम्की दिई उनीहरूलाई कोठामा थुनी भवनमा तोडफोड तथा आगजनी गर्ने कार्य गरेको, भवनको अगाडि भागको सिसाहरू फुटाई कार्यालय भित्र प्रवेश गरि ग्राउन्ड फ्लोरमा रहेको कम्पनीको ग्राहक सेवा केन्द्र र रिसेप्सनमा रहेका कार्यालय प्रयोजनमा प्रयोग भएको उपकरणहरू तोडफोड तथा आगजनी गरेको, भवनको प्रत्येक तलामा प्रवेश गरी कार्यालयमा प्रयोग भएका प्रत्येक समानहरू तोडफोड गरेका, कम्पनीका सक्कल प्रमाणपत्र, अनुमति पत्र, जग्गाधनी प्रमाण पुर्जा एवं कार्यालयका महत्त्वपूर्ण अन्य कागजात आगजनी वा डकैतीका साथै नगद र कम्पनीका सेफहरू समेत लुटेर लगेको उजुरीमा उल्लेख गरिएको छ ।
एनसेलले आफ्नो कार्यालयको दश वटै तलामा रहेका बहुमूल्य विद्युतीय समानहरू, कम्प्युटर, टेलिभिजन, प्रिन्टर, फ्रिज, ओभन, कफी भेन्डर मेसिन लगायतका सम्पूर्ण कार्यालयको काममा प्रयोग हुने सामानहरू डकैती गरी लगेको जनाएको छ । कर्मचारीहरूलाई वितरण गरेको प्रत्येक लकर फोडी ल्यापटप तथा अन्य व्यक्तिगत सामान तथा गहनाहरू डकैती गरेको, मिटिङ हलमा रहेको टिभी, मोनिटरहरु तथा भवनको दोस्रो तलामा रहेको फिटनेशका सामानहरू बाहिर फालि केही उपकरण आगजनी गरी र अधिकांश उपकरणहरू झिकेर लगेको एनसेलको भनाई छ ।
कम्पनीका आफ्नै र तेश्रोपक्षबाट भाडामा लिएका महँगा मोटर गाडीहरू भेहिकल रूपबाट गाडीका साँचो नियन्त्रणमा लिई पालै पालो गरि भवनको आँगनमा ल्याई जलाएको र केही सवारी साधन भवनको कम्पाउन्ड बाहिर बाटोमा ल्याई आगो लगाई पूर्ण रूपमा ध्वस्त गरेको र कम्पनीका कर्मचारीका गाडीहरू समेत तोडफोडका साथै आगजनी गरी ठुलो आर्थिक तथा भौतिक नोक्सानी गरेको उजुरीमा खुलाएको छ ।
घटनामा पुगेको क्षतिको विवरण तथा लुटिएका सम्पत्तिको सूची प्रहरीलाई उपलब्ध गराएको छ । साथै, घटनाको क्रममा कैद भएका सम्पूर्ण सिसिटिभी फुटेज पनि अनुसन्धानलाई सहयोग पुर्याउने उद्देश्यले प्रहरीलाई हस्तान्तरण गरिएको एनसेलले जनाएको छ ।
Leave a Reply